कोरोना पीडितका लागि आएको राहत सामाग्री कुहिएपछि… – Nepal Press

कोरोना पीडितका लागि आएको राहत सामाग्री कुहिएपछि…

जनकपुरधाम । कोरोना महामारीको असर कम गर्न भन्दै सरकारले देशव्यापी लागू गरेको लकडाउनको असर विपन्न वर्गमा ज्यादा पर्‍यो । मजदूरी गरेर जीविका चलाउनेहरु घरबाट बाहिर निस्कन पाएनन् । गरिब जनतालाई भोकले मर्न नदिन प्रदेश सरकारले उपलब्ध गराएको राहत सामाग्री धनुसाको विदेह गाउँपालिकाले कुहाएर नालामा फालेको पाइएकको छ ।

तीनकोरिया चोकमा रहेको नगरपालिका कार्यालय नजिकै नालामा राहत सामग्री फालिएको अवस्थामा स्थानीयले देखेका हुन् । उक्त सामग्री लामो समयसम्म नबाँडेर थन्काएपछि बिग्रेर गन्हाउन लाग्दा फालिएको बताइएको छ ।

नगरपालिका प्रमुख बेचन दासले वितरण नभएको राहत सामग्री बिग्रेपछि फालेको स्वीकार गरे । ‘प्रदेश सरकारले पठाएको सबै सामान फालेको हैन । बाँड्ने बेलामा बोरा च्यातिएकाले ५/६ बोरा वितरण हुन सकेको थिएन् । त्यो राहत सामग्री मात्र फालेका हौं,’ उनले थोरै मात्र फलिएको दावी गरे पनि नालामा कम्तिमा ५०/६० बोरा चामल र त्यत्तिकै मात्रामा आलू, दाल लगायतका खाद्य सामाग्री फालिएका छन् ।

प्रदेश सरकारले प्रति परिवार २५ किलो चामल, ५ किलो दाल, २ लिटर तेल, चिनी, नुन, सावुन लगायतका सामग्रीको प्याकेज बनाएर गरिब विपन्नलाई बाँड्न नगरपालिकालाई उपलब्ध गराएको थियो । कति पोका राहत सामग्री नगरपालिकामा आएको थियो भन्ने बारेमा प्रमुख दासले बताउन चाहेनन् ।

गरिब विपन्नलाई वितरण नगरी राहत सामग्रीको दुरुपयोग गरेको भन्दै जानताले जनप्रतिनिधिलाई कारबाही गर्न माग गरेका छन् । स्थानीयवासी रामकुमार मण्डलल राहतको दुरुपयोग गर्नेमाथि छानविन गरी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरे ।

यता, राहत सामग्री फालेको विषयमा वडाअध्यक्षहरु भने अनभिज्ञ छन् । नगरपालिकाको कार्यालय रहेको वडा ७ का अध्यक्ष श्यामकुमार यादवले राहत सामग्री फालेको विषयमा प्रमुखले कुनै जानकारी नगराएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर