माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै, सरकारलाई दिएको समर्थन फिर्ता लिने – Nepal Press

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै, सरकारलाई दिएको समर्थन फिर्ता लिने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज बस्दैछ । बैठक ११ बजेदेखि कोटेश्वरस्थित पार्टी कार्यालयमा हुनेछ ।

बिहीबार बसेको बैठकले एकर दुई दिनमै औपचारिक बैठक बोलाउने निर्णय गरेको थियो । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आफ्नो नेतृत्वमा सरकार बनाउन अग्रसर हुने निर्णय गरेको परिवेशमा बस्न लागेको माओवादी केन्द्रकाे बैठकलाई महत्त्वका साथ हेरिएको छ ।

लगत्तै स्थगित केन्द्रीय कमिटी बैठक पनि बस्ने भएकोले उक्त बैठकका एजेन्डा तय गर्न स्थायी कमिटी बैठक बस्न लागेको हो ।

बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको निर्णय गरेर त्यसलाई केन्द्रीय कमिटीमा अनुमोदनमा लैजाने सक्ने एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

२३ फागुनमा सर्वोच्चको फैसलापछि एमाले र माओवादी केन्द्र ब्यूँतिए पनि अहिलेसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । यस अघि नै समर्थन फिर्ता लिने सहमति भैसकेकोले आज औपचारिक निर्णय हुने उनको भनाइ छ।

पुनर्स्थापित माओवादी केन्द्रले पार्टीको नयाँ संगठनका संरचना समेत बनाइ नसकेकोले यसपटकको केन्द्रीय कमिटी बैठकले ती विषयमा निर्णय लिनेछ। संगठन पुनः संरचनाबारे माओवादी केन्द्रले कार्यदल समेत बनाएको थियो ।

पार्टीको नाम फेर्ने एजेन्डा पनि माओवादी केन्द्रको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर