लिसेस्टरलाई हराएपछि म्यानचेस्टर सिटी प्रिमियर लिगको उपाधि नजिक


एजेन्सी । तेस्रो स्थानको लिसेन्टर सिटीलाई पराजित गरी इंग्लिस प्रिमियर लिगको उपाधि नजिक पुगेको म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले यो सिजन ‘कहिल्यै नबिर्सिने’ बताएका छन् ।
दोस्रो हाफमा बेन्जामिन मेण्डी र गाव्रियल जेससले गोल गरी जित दिलाएपछि सिटीलाई लगातार चौथो सिजनमा तेस्रोपल्ट प्रिमियर लिग उपाधि जित्न ७ खेलमा ११ अंक आवश्यक पर्नेछ ।
अहिले सिटीको ३१ खेलबाट ७४ अंक भएको छ भने २९ खेलबाट दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ५७ अंक छ । युनाइटेडले बाँकी सबै खेल जितेको अवस्थामा मात्र सिटीलाई ११ अंक आवश्यक हुने हो ।
‘मलाई अन्य प्र्रतियोगिताभन्दा इंग्लिस प्रिमियर लिग नै मन पर्छ । किनभने यहाँ सबै समान छन् । उनीहरु निकै समान स्तरका छन्,’ १७ अंकको अग्रता लिएपछि सिटीका प्रशिक्षक ग्वार्डिओलाले भने, ‘अहिले लिभरपुल च्याम्पियन छ । ट्रफी उनीहरुसँग छ । तर त्यो हामीले लिने दिन नजिकिँदैछ ।’