राष्ट्रपतिसँगको भेटबारे झलनाथ : हार्दिक स्वागत गरेँ, पार्टी एकताका कुरा भए (भिडियो) – Nepal Press

राष्ट्रपतिसँगको भेटबारे झलनाथ : हार्दिक स्वागत गरेँ, पार्टी एकताका कुरा भए (भिडियो)

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो निवासमा आउँदा खुशी लागेको बताएका छन् । राष्ट्रपतिसँगको भेटवार्तामा पार्टीलाई एकतावद्ध बनाएर लैजाने विषयमा कुरा भएको उनले बताए ।

भेटवार्तापछि पत्रकारसँग कुरा गर्दै खनालले भने, ‘उहाँ देशको अभिभावक र संविधानको परिपालक हो । पहिले म नेता हुँदा कार्यकर्ता भएर काम गर्नुभएको थियो । अहिले सम्मानित स्थानमा पुग्नुभएको छ । राष्ट्रको परिपालक भएको हिसाबले पहिलेका नेताहरुलाई सम्झिनु खुशीको कुरा हो । मलाई खुशी लागेको छ ।’

उनले राष्ट्रपतिलाई परिवार र सेक्यूरिटीको तर्फबाट हार्दिक स्वागत गरेको बताए । खनालले भने, ‘हामी यहाँ सेक्युरिटीसमेत १९–२० जना बस्छौं । सबैले स्वागत गर्‍यौं । विगतका कुराहरु र वर्तमान स्थितिका बारेमा भलाकुसारी भए । पार्टी र आन्दोलन एकतावद्ध हुनुपर्छ भन्ने उहाँका कुरा थिए । लोकतन्त्र राम्रो र सुदृढ भएर जावस भन्ने चाहना उहाँबाट व्यक्त भए ।

उहाँले मेरो स्वास्थ्यप्रति पनि चिन्ता व्यक्त गर्नुभयो ।मैले आफ्नो स्वास्थ्य अहिले सामान्य रहेको जानकारी गराएँ । अहिले मेरो स्वास्थ्यभन्दा पार्टीको र कम्युनिष्ट आन्दोलनको स्वास्थ्यको चिन्ता रहेको बताए ।’

‘हामी त आन्दोलनका लागि जीवन बलिदान गर्न तयार भएर हिँडेका हौं । यो नाफाको जीवनभन्दा कम्युनिष्ट आन्दोलनको चिन्ता छ । पार्टीमा कतिपय समस्या उत्पन्न भएको बेला तपाईं आउनुभएको छ । सबै पार्टी बलिया भए र एकतावद्ध भए मात्रै लोकतन्त्र बलियो हुन्छ ।भन्ने कुराहरु मैले राखेँ । राष्ट्रपतिज्यूले पनि त्यसमा सहमति जनाउँदै नेकपा एमाले नफुटाेस र एकतावद्ध भएर जावस भन्ने सदिच्छा व्यक्त गर्नुभयो । ’

स्रोतका अनुसार भेटवार्ताका क्रममा खनालले फागुन २८ गतेको निर्णयबाट केपी ओली पछि नहटेसम्म पार्टीमा पुनर्मिलन हुन नसक्ने बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर