नवनियुक्त १ सय १३ प्रहरी निरीक्षकलाई दर्ज्यानी चिन्ह प्रदान – Nepal Press

नवनियुक्त १ सय १३ प्रहरी निरीक्षकलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौ । खुला प्रतियोगिताबाट जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा नवनियुक्त भएकामध्ये विभागीयतर्फका १ सय १३ जना प्रहरी निरीक्षकलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा र प्रहरी अतिरिक्त महानिरीक्षकले प्रहरी प्रधान कार्यालयमा शुक्रबार एक कार्यक्रमका विच उनिहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

साथै प्रहरी महानिरीक्षक थापाले प्रतियोगिताबाट नवनियुक्त भएका खुलातर्फका ३६ जना प्रहरी निरीक्षकलाई नियुक्तिपत्र समेत प्रदान गरेका छन् । २०७६ माघ १ गते प्रकाशित विज्ञापन अनुसार खुला प्रतियोगिताको २०७७ चैत ८ गते प्रकाशित अन्तिम नतिजामा विभागीयतर्फ १ सय १३ जना र खुलातर्फ ३६ जना गरी कुल १ सय ४९ जना प्रहरी निरीक्षक उत्तीर्ण भएका थिए । जसमा १४ जना महिला रहेका छन् ।

नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०७७ चैत १७ गतेको निर्णयले चैत १८ गतेदेखि लागू हुने गरी उनिहरु प्रहरी निरीक्षक पदमा नियुक्त भएका हुन् । दर्ज्यानी चिन्ह प्रदान कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले प्रहरी पेसा सामाजिक पेसा भएकोले गर्व गर्न अनुरोध गर्दै संगठनको चरित्र र त्यस अनुरुप बहन गर्नुपर्ने जिम्मेवारीप्रति सजग भई मानवोचित व्यवहार र कर्मका साथ संगठनमा प्रवेश गर्न निर्देशन दिए ।

संगठनको साखलाई अझै बढोत्तरी गर्न अनुसाशित, मिहेनत, उत्कृष्ट व्यवहारका साथ संगठनको सकारात्मक परिवर्तनको लागि योगदान पुर्‍याउन नवनियुक्त प्रहरी कर्मचारीलाई प्रहरी महानिरीक्षक थापाले आग्रह पनि गरेका छन् ।

नागरिक जिवनबाट प्रहरी पेसामा आउने नवनियुक्त प्रहरी निरीक्षकप्रति संगठनको ठूलो आशा रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक थापाले गलत अभ्यासलाई आत्मसाथ नगर्न तथा आफूमा भएका सद्‍गुणलाई जगेर्ना गर्दै सफल ढंगले तालिम सम्पन्न गर्न निर्देशन दिए । साथै नवनियुक्त भएका विभागीय प्रहरी निरीक्षकले प्राप्त गर्ने जिम्मेवारी अनुसारको काम लगनशील भएर सम्पन्न गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृत तथा प्रहरी अधिकृत समेतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *