वडाध्यक्षसहित १० जना विरुद्ध हात हतियार र ज्यान मार्ने उद्योगको मुद्धा दर्ता – Nepal Press

वडाध्यक्षसहित १० जना विरुद्ध हात हतियार र ज्यान मार्ने उद्योगको मुद्धा दर्ता

दाङ । दाङको घोराहीमा शिकार खेल्न गएका दुई जनामध्ये एक जनाको गोली लागेर मृत्यु भएको घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका वडाध्यक्षसहित १० जना विरुद्ध प्रहरीमा मुद्धा दर्ता भएको छ । घटनामा सलग्न भएको आशंकामा प्रहरीले घोराही उपमहानगरपालिका १३ का वडा अध्यक्ष रबिलाल घर्तीसहित १० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय दाङमा मुद्धा दर्ता भएको हो ।

शिकार खेल्ने क्रममा वडा नम्बर १३ का ५० वर्षका टेकबहादुर गुरुङको गोली लागेर घटनास्थलमै मृत्यु भएको थियो । स्थानीयका अनुसार सिकार खेल्न मृतक गुरुङसहित वडाध्यक्ष रविलाल घर्ती पनि पुगेको खुलेपछि उनिसहित पक्राउ परेका १० जना विरुद्ध मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता समेत रहेको प्रहरी नायव उपरीक्षक (डीएसपी) मुकुन्द रिजालले जानकारी दिए ।

रिजालका अनुसार पक्राउ परेका वडा अध्यक्षसहितका अभियुक्तलाई अबैध हातहतियार खर खजनासहित ज्यान मार्ने उद्योग मुद्धा दर्ता गरेर घटनाको थप अनुसन्धान भइरहेको छ । वडाध्यक्षहित १० जना शिकार खेल्न गएको स्थानीयले प्रहरी समक्ष दावी गरेपछि प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको हो ।

सिकार खेल्न प्रयोग भएको हतियार अवैध रहेको र वडाध्यक्ष घर्तीकै रहेको आशंका स्थानीयले गरे अनुसार उनलाई प्रहरीले केही दिनदेखि हिरासतमा राखेर घटनाको अनुसन्धान गरेको थियो । मृत्यु भएका पीडित पक्षले वडाध्यक्ष घर्तीले ढिलो जानकारी दिएको भन्दै दुई दिन यता विरोध गर्दै प्रहरी अनुसन्धान त्यतातर्फ गर्न आग्रह गरेर प्रहरी कार्यालयमा धर्ना समेत दिएका थिए ।

मृत्यु हुने व्यक्ति वडाध्यक्ष घर्तीका छिमेकी हुन् । आफ्नै घर नजिकैका छिमेकीको मृत्यु हुँदासम्म अध्यक्षले जानकारी नदिइ प्रहरीलाई बोलाएर लगेपछि मात्रै मृत्युको घटना बाहिर आएको हो ।

उक्त घटना वडा नम्बर १२ को चम्पाखेल भलानेरी सृजना सामुदायिक वनस्थित जंगल क्षेत्रमा गत शुक्रबार राति भएको थियो । प्रहरीले गोली चलाउने व्यक्तिलाई पनि पहिचान गरी नियन्त्रणमा लिइसकेको थियो ।

मृत्यु भएको घटनामा संलग्न दुई जनालाई एक थान भरुवा बन्दुकसहित प्रहरीले सुरुमा पक्राउ गरेको थियो । सुरुमा प्रहरीले वडा नम्बर १३ का ३५ वर्षका मधु शर्मा, २७ वर्षका भिम घर्ती र ओम रानाबाट घटनाको अनुसन्धान गरेको थियो । उनीहरुको साथबाट ४ फिट ८ इन्च लम्बाई भएको एक थान भरुवा बन्दुक बरामद भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *