राष्ट्रपतिको सम्बोधन- किसुनजीको सम्झना, केपी ओलीको सफलता (पूर्णपाठ) – Nepal Press

राष्ट्रपतिको सम्बोधन- किसुनजीको सम्झना, केपी ओलीको सफलता (पूर्णपाठ)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्चीको पानी वितरणको औपचारिक उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई सम्झेकी छन् । यद्यपि, मेलम्ची आयोजनाको परिकल्पना पाँच दशक अगाडि नै भएको उनले बताइन् ।

भृकुटीमण्डपमा नवनिर्मित ढुंगेधाराका टुटी खोल्दै राष्ट्रपति भण्डारीले आयोजनाको उद्घाटन गरेकी थिइन् ।

धारा उद्घाटनपछि राष्ट्रपतिले गरेको सम्बोधन यस्तो छ :

सम्माननीय प्रधानमन्त्री,
माननीय मन्त्रीहरू,
माननीय सदस्यहरू,
राष्ट्रसेवकहरू,
भद्रमहिला तथा सज्जनवृन्द ।

  • हाम्रो देशको राष्ट्रिय गौरवको बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको प्रथमचरणको निर्माण कार्य सम्पन्नप्रायः भई घरघरमा पानी वितरणको शुभारम्भ भएकोमा खुशी व्यक्त गर्दछु ।
  • यसको सफल कार्यान्वयनसहित दिगो संरक्षणको शुभकामना प्रकट गर्दछु ।
  • आजको यस अवसरमा आयोजनालाई सफलतापूर्वक सम्पन्न गर्न सुरुवातदेखि नै संलग्न हुने राजनीतिज्ञ, योजनाविद, प्राविधिक, दातृ निकाय तथा राष्ट्रसेवकहरूको योगदानको स्मरण गर्दै आभार व्यक्त गर्दछु ।
  • बढ्दो जनसंख्यासँगै काठमाडौँ उपत्यकामा खानेपानीको आपूर्तिमा देखिएको समस्यालाई दिगो रूपमा समाधान गर्नका लागि पानीको स्रोत खोजी गर्ने सन्दर्भमा सिन्धुपाल्चोक जिल्लामा अवस्थित मेलम्ची नदीको पानी आर्थिक, सामाजिक तथा प्राविधिक दृष्टिकोणबाट उपयुक्त देखिएपछि दुई दशकअघि नै मेलम्ची खानेपानी आयोजनाको निर्माण सुरु गरिएको थियो ।
  • मेलम्ची खानेपानी आयोजनाको परिकल्पना पाँच दशक पहिले नै गरिएको भएता पनि करीब तीन दशकअघि तत्कालिन सरकारले विस्तृत सम्भाव्यता अध्ययनपछि यस आयोजनाको प्रारुप तयार गरेको थियो ।
  • यस अवसरमा मेलम्ची आयोजनाका परिकल्पनाकारलाई धन्यवाद दिन चाहन्छु ।
  • मुलुकमा प्रजातन्त्रको पुनस्र्थापनापछि तत्कालीन प्रधानमन्त्री श्री कृष्णप्रसाद भट्टराईले सार्वजनिक रूपमा मेलम्चीको पानी काठमाडौँ उपत्यकामा ल्याई वितरण गर्ने सर्वजनिक प्रतिबद्धता जाहेर गरेपछि यस आयोजनाले थप महत्व र प्रचार पायो ।
  • यसबाट मुलुकको नेतृत्व तहलाई यो आयोजना कार्यान्वयन गर्नका लागि प्रेरणा मिल्यो ।
  • परियोजनाको निर्माण कार्य ठोस रूपमा कार्यान्वयन हुन त्यसपछि पनि झण्डै एक दशक प्रतीक्षा गर्नु परेको थियो ।
  • त्यसपछिका सरकारहरूले विभिन्न चरणमा निर्माण कार्य अघि बढाए ।

  • श्री केपी शर्मा ओलीको प्रधानमन्त्रीत्वमा रहेको वर्तमान सरकारको दृढ इच्छा शक्ति र तत्परताका कारण यो आयोजना सम्पन्न भएको छ ।
  • नयाँ वर्ष २०७८ को पूर्वसन्ध्यामा नेपालको प्राचीन सांस्कृतिक शहर र राजधानी काठमाडौँका लागि यो आयोजना एक उपहार बन्न पुगेको छ ।
  • यसबाट यहाँका जनताको खुसी बढेको छ ।
  • पानी र जीवन बिच अभिन्न सम्बन्ध रहेको छ ।
  • पानीविना जीवनको अस्तित्व असम्भव भएकाले पानीका स्रोतहरूको संरक्षण तथा सम्वद्र्धन गर्नु हामी सबैको साझा दायित्व हो ।
  • जलवायु परिवर्तन, जनसंख्या वृद्धि, पानी वितरण व्यवस्थापनमा कमजोरी, जमिनमुनिको पानीको अत्यधिक दोहन जस्ता कारणले पानीका स्रोतहरू प्रदुषित र संकटग्रस्त बनेको परिवेशमा मेलम्चीको शुद्ध पानी ल्याउन नेपाल सफल भएको छ ।
  • यसबाट काठमाडौँ उपत्यकाका जलाधार क्षेत्रको प्रदुषण न्यूनीकरणका साथै जमीनमुनिको पानीको अत्यधिक दोहनलाई कम गर्न समेत मद्दत पुग्ने अपेक्षा लिएको छु ।
  • यस प्रसंगमा, खुल्ला आकाशमुनि हामीले प्राणवायु लिनु पर्ने शास्वत सत्यलाई ध्यानमा राखी वायु प्रदुषण न्यूनीकरण गर्नु पनि हामी सबैको दायित्व भएको कुरा पुनः स्मरण गराउन चाहन्छु ।
  • पानीका स्रोतहरूको संरक्षण एवं सम्बद्र्धन गर्ने सन्दर्भमा नै वातावरण प्रदुषण समेत नियन्त्रण गर्न सकिन्छ ।
  • नेपालका ठूला विकास आयोजनामध्ये चर्चित मेलम्ची खानेपानी आयोजना कार्यान्वयनका सन्दर्भमा हासिल भएका सकारात्मक र नकारात्मक दुवै किसिमका सिकाईबाट शिक्षा लिदै आगामी दिनमा यस प्रकारका ठूला पूर्वाधार आयोजनाको तर्जुमा तथा कार्यान्वयन गर्न सम्बन्धित सबै पक्ष सचेत बन्नुपर्ने आवश्यकता महसुस गरेको छु ।
  • मुलुक समृद्धिको यात्रामा अघि बढिरहेको छ ।

  • यस अभियानलाई सार्थक तुल्याउन निर्बाह भएका भूमिकाको प्रशंसा गर्दछु ।
  • विकास निर्माण कार्यमा यदाकदा अवरोध सिर्जना गर्ने कार्य हुनु चिन्ताको विषय हो ।
  • मेलम्ची खानेपानी आयोजनाबाट उपलब्ध हुने पानीले काठमाडौँ उपत्यकामा खानेपानीको आपूर्ति व्यवस्थापन गर्न धेरैहदसम्म सहज हुने नै छ ।
  • यस प्रकारका आयोजना विस्तार र सुदृढीकरण गर्न समयमै सम्बन्धित निकायले ध्यान पुर्‍याउने विश्वास लिएको छु ।
  • एकातिर, हजारौँ नदी, तालतलैया, पोखरी, लाखौँ हेक्टर भूभागमा फैलिएको सिमसार क्षेत्रका साथै ठूलो मात्रामा भूमिगत पानीका स्रोतहरू विद्यमान रहेको भएता पनि केहि जनसंख्या अझै पनि स्वच्छ खानेपानीको पहुँचभन्दा बाहिर रहेकोछ ।
  • अर्कोतिर, प्राकृतिक प्रकोप, डढेलो, बाढी पहिरोले पानीका स्रोत र मुहानहरूमा प्रतिकूल प्रभाव पारिरहेको छ ।
  • यसका लागि हरियाली प्रवद्र्धन तथा पानीको दिगो उपयोग गर्दै जमिनको पानी पुनर्भरण गर्नुपर्ने आवश्यकता समेत महसुस गरेको छु ।
  • पानीको स्रोत संरक्षण तथा संवद्र्धनमा त्रिभुवन विश्व विद्यालयसहित अन्य प्राज्ञिक संस्थाहरुले समेत अध्ययन अनुसन्धानमा अग्रसरता लिनु पर्दछ ।
  • अन्तमा, मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्नका लागि सिन्धुपाल्चोकका स्थानीय समुदायको योगदानको सराहना गर्दछु ।
  • त्यस क्षेत्रको सामाजिक आर्थिक उत्थान गर्न सम्बद्ध सबै पक्षको ध्यान पुग्ने विश्वास लिएको छु ।

धन्यवाद ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर