शोभराजको अन्तर्वार्ताबारे प्रारम्भिक छानविन पूरा, यस्तो छ निष्कर्ष – Nepal Press

शोभराजको अन्तर्वार्ताबारे प्रारम्भिक छानविन पूरा, यस्तो छ निष्कर्ष

कारागार अधिकारी भन्छन् : फ्रेन्च भाषा नबुझ्दा समस्यामा पर्‍यौं

काठमाडौं । अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराजले अनुमतिबिना विदेशी मिडियालाई अन्तर्वार्ता दिएको विषयमा केन्द्रीय कारागार सुन्धाराले अनुसन्धान पूरा गरेको छ । गतसाता दुई बेलायती अखबारहरु सन्डे मिरर र डेलीमेलले शोभराजको अन्तर्वार्तासहितको सामग्री प्रकाशन गरेका थिए ।

अन्तर्वार्ता प्रकाशित भएलगत्तै विभागले सुन्धारास्थित केन्द्रीय कारागारलाई यसबारे छानविन गर्न सात दिनको समय दिएको थियो । कारागारका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले प्रारम्भिक अनुसन्धान पूरा भएको बताए । बास्कोटाका अनुसार शोभराजले फोनमा गरेको कुरालाई रेकर्ड गरेर त्यहाँका मिडियाले अन्तर्वार्ता प्रकाशन गरेको अनुसन्धानमा खुलेको छ ।

उनले नेपाल प्रेससँग भने, ‘अहिलेसम्म शोभराजलाई भेट्न कुनै पनि मिडिया आएका छैनन् र हामीले कसैलाई अनुमति पनि दिएका छैनौं । उनीसँग सोधपुछ गर्दा पनि आफूले परिवारसँग फोनमा कुरा गरेको बताए । उसको टेलिफोन रेकर्ड हेर्दा पनि मिडियासँग कुरा गरेको देखिएन ।’

सन्डे मिररमा प्रकााशित समाचार ।

सोधपुछमा शोभराजले मिडियालाई आफूले अन्तर्वार्ता नदिएको बताएका छन् । जेल प्रशासनले आवश्यकताअनुसार कैदी–बन्दीलाई परिवार र कानून व्यवसायीसँग कुरा गर्न अनुमति दिने गरेको छ । शोभराजले परिवारसँग फ्रेन्च भाषामा कुरा गर्ने गरेका छन् । फ्रान्सेली बुझ्ने दोभाषे नहुँदा आफूहरुलाई समस्या परेको बाँस्कोटाले जनाए ।

‘हामी अंग्रेजी बुझ्छौं तर फ्रेन्च नबुझ्दा उनले के कुरा गरिरहेका छन् भन्ने बुझ्न समस्या भएको छ’ बाँस्कोटाले भने । शोभराजले बेलायत, अमेरिका र फ्रान्समा रहेका आफन्तसँग कुरा गर्ने गरेको उनले जानकारी दिए ।

डेलीमेलमा प्रकाशित समाचार ।

कारागारको नियमअनुसार कैदीले फोन गर्नुअघि प्रशासनलाई फोन गर्न चाहेका तीनवटा नम्बर उपलब्ध गराउनुपर्ने हुन्छ । तीनैमध्ये कुनै एक नम्बरमा गरिएको कुराकानी रेकर्ड गरेर समाचार बनाइएको निस्कर्ष निकालिएको छ ।

जेल प्रशासनका अनुसार लकडाउनयता शोभराजलाई परिवारका सदस्यहरु भेट्न आएका छैनन् । लकडाउनअघि शोभराजकी कानून व्यवसायी एवं सासु शकुन्तला थापा उनलाई भेट्न केन्द्रीय कारागार पुगेकी थिइन् । शोभराजकी पत्नी भनिने निहिता विश्वास चाहिँ त्यहाँ नपुगेको लामै समय भएको छ ।

अनुसन्धानमा खुलेका विषयलाई समेटेर कारागार व्यवस्थापन महाशाखालाई पत्रको जवाफ लेख्ने तयारी भैरहेको बाँस्कोटाले जानकारी दिए ।

निगरानीमा राखेका छौं : महाशाखा

शोभराजले अन्तर्वार्ता दिएको विषयलाई कारागार व्यवस्थापन विभागले चासोका साथ हेरिरहेको छ । नेपाल प्रेससँग कुरा गर्दै महाशाखाका सूचना अधिकारी देवर्षी सापकोटाले शोभराजमाथि निगरानी बढाउन कारागार प्रशासनलाई निर्देशन दिइएको बताए ।

डेली मिररमा प्रकाशित अन्तर्वार्तामा शोभराजले आफू चाँडै रिहा हुन लागेको र रिहा भैसकेपछि एउटा हलिउड फिल्म निर्माण गर्ने बताएको उल्लेख छ ।

विदेशी मिडियालाई अन्तर्वार्ता दिएलगत्तै आफूहरुले छानविन र अनुसन्धानका लागि एक साताको समय दिएर कारागारलाई पत्राचार गरेको उनको भनाई छ । बिनाअनुमति शोभराजले कसरी अन्तर्वार्ता दिए भनेर आश्चर्यमा परेको उनी बताउँछन् ।

‘जेलभित्र आवश्यकताअनुसार परिवार र कानून व्यवसायीसँग कुरा गर्न र भेट्न दिने गरिन्छ तर, अन्तर्वार्ता नै आउँदा हामी छक्क छौं’ सापकोटाले भने, ‘उनी आक्रामक स्वभावका मान्छे भएकाले यो प्रकरणपछि अझ निगरानी बढाएका छौं ।’ केही विदेशी मिडियाले अन्तर्वार्ताका लागि अनुमति मागे पनि नदिएको सापकोटाको भनाइ छ ।

शोभराजले के भनेका थिए ?

डेली मिररमा प्रकाशित अन्तर्वार्तामा शोभराजले आफू चाँडै रिहा हुन लागेको र रिहा भैसकेपछि एउटा हलिउड फिल्म निर्माण गर्ने बताएको उल्लेख छ । उनले एकजना अविवाहित धनाढ्य रिचर्ड ब्रान्सन र अमेजन संस्थापक जेफ बेजोसकी पूर्वपत्नीबारे उक्त अन्तर्वार्तामा फिल्म बनाउने इच्छा व्यक्त गरेका छन् ।

सन् २००४ मा आफूविरुद्ध भएको सुनुवाइ गलत भएको र उक्त सुनुवाइ राष्ट्रसंघको मानवअधिकार उच्चायोगको नीतिविरुद्ध भएको आरोप पनि शोभराजले लगाएका छन् ।

आफू निर्दोष रहेको र गैरन्यायीक हिरासतमा रहेबापत प्रस्ताव गरिएको ७ मिलियन युरो रकमलाई पनि अस्वीकार गरेको शोभराजले बताएका छन् । शोभराजलाई उद्वृत गर्दै सन्डे मिरर लेख्छ, ‘म यो मुद्दामा पूर्णतयाः निर्दोष छु । म अब तीनदेखि चारसातामा रिहा हुनेछु । यदि तिमी चाहन्छौ भने आऊ र अन्तर्वार्ता लेऊ अनि त्यही जहाजमा फर्कौंला’ ।

केही महिना पहिले आफू रिचर्ड ब्रान्सनसँग सम्पर्कमा रहेको र वासिङ्टनमा रहेका जेफ बेजोसकी पूर्वपत्नीका नीजि सहायकसँग कुरा गर्न चाहेको शोभराजले भनेको उल्लेख छ ।

‘म फिल्मका लागि डील गर्न चाहन्छु । मेरोबारेको पुस्तक पनि एक महिनामा प्रकाशित हुँदैछ’ उनलाई उद्वृत गर्दै लेखिएको छ ।

सन् २००४ मा आफूविरुद्ध भएको सुनुवाइ गलत भएको र उक्त सुनुवाइ राष्ट्रसंघको मानवअधिकार उच्चायोगको नीतिविरुद्ध भएको आरोप पनि शोभराजले लगाएका छन् ।

‘म निर्दोष छु । सन् २०१० जुलाइ २७ मा आयोगको १२ सदस्यीय कमिटीले गरेको निर्णयले म निर्दोष छु भन्ने पुष्टि गरेको छ । म दोषी छैन’ सन्डे मिरर लेख्छ ।

शोभराजले भनेअनुसार कुनै पनि विदेशी नागरिकलाई कैद मिनाहाको प्रावधान नभएको विभागले जनाएको छ । विभागका सूचना अधिकारी सापकोटाले शोभराजको अभिव्यक्तिलाई मिडिया स्टन्ट भएको प्रतिक्रिया दिएका थिए ।

१७ वर्षदेखि जेलमा

चार दशकअघि नेपालमा नेपालमा अमेरिकी र क्यानेडेली महिलाको हत्या गरेको अभियोगमा झन्डै १७ वर्षदेखि शोभराज केन्द्रीय कारागारको गोलघरमा छन् ।

शोभराजबारे बनेको सिरिज ‘द सर्पेन्ट’मा अभिनय गर्दै तहर रहिम ।

कोभिड जोखिम कम गर्न नेपालका कारागारबाट यसअघि सरकारले ३८५ कैदीबन्दी रिहा गरेको छ ।

सर्वस्वसहित जन्मकैद सजाय पाएका शोभराजले पनि आफू रिहा हुन पाऊँ भनेर निवेदन दिएका थिए । तर, उनी जघन्य अपराधमा सजाय भोगिरहेको र अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको खोजी सूचीमा रहेकाले पनि नछुटेको त्यतिबेला विभागले जनाएको थियो ।

बिकिनी किलर र सिरियल किलरको उपनामले समेत चिनिएका शोभराजविरुद्ध थाइल्यान्ड, भारत, टर्की, इरान लगायतका मुलुकमा गरी झन्डै २० जनाभन्दा बढीको हत्या गरेको आरोप छ । सन् २००४ सम्म ती आरोपहरु पुष्टि हुन नसकेको र नेपालमा नै पहिलोपटक उनीविरुद्धको हत्या आरोप पुष्टि भएको बताइएको छ ।

मुटुका रोगी शोभराजको केही वर्षपहिले ओपन हार्ट सर्जरी गरिएको थियो । शल्यक्रिया सफल भएपछि खुशि देखिएका शोभराजले हिजोआज अन्य कैदीबन्दीलाई समेत अन्यायविरुद्ध कानूनी लडाइ लड्न, योग र स्वास्थ्यका बारेमा सचेत गराउँछन् ।

शोभराजकोे जीवनमाथि नेटफिल्क्स सिरिज ‘द सर्पेन्ट’ निर्माण भएको छ ।

चार्ल्स शोभराजसँग डेटिङ जान चाहन्छु : जेन्ना कोलम्यान

बेलायती मिडियामा शोभराजको अन्तर्वार्ता आएपछि कारागार व्यवस्थापन विभाग अचम्मित

यो सिरिजमा सन् १९७० ताका अन्तर्राष्ट्रिय अपराधमा शोभराजको भूमिकालाई चित्रण गरिएको छ । सिरिजमा चित्रण गरिएको आधारमा हलिउड रिपोर्टरसहितका केही अन्तर्राष्ट्रिय मिडियाले उनको भावी जीवनबारे चर्चा गर्ने गरेका छन् ।

शोभराजको भूमिकामा अभिनय गरेका हलिउड अभिनेता तहर रहिम यसअघि गोल्डेन ग्लोब्स र बाफ्टामा अभिनेताको रुपमा मनोनित भैसकेका छन् । उक्त सिरिजकी अभिनेत्री जेन्ना कोलम्यान त आफू शोभराजको वास्तविक जीवनबाट प्रभावित भएकाले उनी जेलबाट छुटेपछि डेटिङ जान चाहेको कुरा बताएकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *