बेलायती मिडियामा शोभराजको अन्तर्वार्ता आएपछि कारागार व्यवस्थापन विभाग अचम्मित – Nepal Press

बेलायती मिडियामा शोभराजको अन्तर्वार्ता आएपछि कारागार व्यवस्थापन विभाग अचम्मित

शोभराज भन्छन् : तीन-चार हप्तामा रिहा हुन्छु

काठमाडौं । अनुमतिबिना विदेशी मिडियालाई अन्तर्वार्ता दिएपछि कारागार व्यवस्थापन विभागले कुख्यात अपराधी चार्ल्स शोभराजमाथि छानविन गर्ने भएको छ । सुन्धारास्थित केन्द्रिय कारागारमा २० वर्षको जेल सजाय भुक्तानी गरिरहेका शोभराजको अन्तरवार्ता बेलायती अखबारहरु डेलीमेलसन्डे मिररमा प्रकाशित भएपछि विभागले छानविन गर्न लागेको हो ।

नेपाल प्रेससँग कुरा गर्दै विभागका सूचना अधिकारी देवर्षी सापकोटाले विभागले शोभराजसँग अन्तर्वार्ताको अनुमति नदिएको बताए । ‘हामीसँग अन्तर्वार्ताका लागि अनुमति मागिएको थियो तर, हामीले दिएका छैनौं,’ उनले भने, ‘अन्तर्वार्ता आउँदा हामी छक्क छौं । छानविन गर्छौं ।’

डेली मिररमा प्रकाशित अन्तरवार्तामा शोभराजले चाँडै आफू जेलबाट रिहा हुन लागेको बताएका छन् । रिहा भएपछि हलिउड फिल्म खेल्ने र निर्माण गर्ने समेत उनको दावी छ ।

शोभराजले अविवाहित धनाढ्य रिचर्ड ब्रान्सन र अमेजनका संस्थापक जेफ बेजोसकी पूर्व पत्नीमाथि फिल्म बनाउन इच्छा व्यक्त गरेको समाचारमा उल्लेख गरिएको छ । शोभराजले आफू निर्दोष रहेको र गैरन्यायिक हिरासतमा रहेबापत प्रस्ताव गरिएको ७ मिलियन युरो रकमलाई पनि अस्वीकार गरेको दावी गरेका छन् ।

शोभराजलाई उध्दृत गर्दै सन्डे मिरर लेख्छ- ‘म यो मुद्दामा पूर्णतया निर्दोष छु । म अब तीनदेखि चार सातामा रिहा हुनेछु । यदि तिमी चाहन्छौं भने आऊ र अन्तर्वार्ता लेऊ अनि सोही जहाजमा फर्कलौं ।’

केही महिना पहिले आफू धनाढ्य रिचर्ड ब्रान्सनसँग सम्पर्कमा रहेको र वासिङ्टनस्थित जेफ बेजोसकी पूर्वपत्नीका नीजि सचिवसँग कुरा गर्न चाहेको शोभराजले भनेको समाचारमा उल्लेख छ ।

‘म फिल्मको लागि डिल गर्न चाहन्छु । मेरोबारेको पुस्तक एक महिनामा प्रकाशित हुँदैछ,’ मिररले शोभराजलाई उद्वृत गर्दै लेखेको छ ।

सन् २०२४ मा आफू रिहा हुनसक्ने भनिए पनि दुई सातामै रिहा हुने दाबी गरेको पनि समाचारमा उल्लेख छ । सन् २००४ मा आफूविरुद्ध भएको सुनुवाइ गलत भएको र राष्ट्रसंघीय मानव अधिकार कमिटीको नीतिविपरित भएको समेत उनले बताएका छन् ।

‘म निर्दोष छु । सन् २०१० को जुलाई २७ मा आयोगको १२ सदस्यीय कमिटीले गरेको निर्णयले म निर्दोष छु भन्ने पुष्टि भएको छ । म दोषी छैन,’ सन्डे मिरर लेख्छ ।

कारागार व्यवस्थापन विभागका सूचना अधिकारी सापकोटाले शोभराजले दिएको यो अन्तर्वार्ता मिडिया स्टन्ट भएको बताए ।

‘हामीले अन्तर्वार्ताको अनुमति दिएका छैनौं र कुनै पनि विदेशी नागरिकलाई बाँकी कैद मिनाहाको प्रावधान पनि छैन’ उनले भने, ‘रिहा भएपनि हामीले डिपोर्ट गरेर पठाउने हो । तत्काल रिलिज हुने कुरा पनि गलत हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर