राष्ट्रपतिले आज मेलम्ची खानेपानीको औपचारिक उद्घाटन गर्दै – Nepal Press

राष्ट्रपतिले आज मेलम्ची खानेपानीको औपचारिक उद्घाटन गर्दै

चैत १५ गतेदेखि उपत्यकामा वितरण सुरु गरिएको मेलम्ची खानेपानीको औपचारिक उद्घाटन आज हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो २ बजे भृकुटीमण्डपमा नवनिर्मित धाराको टुटी खोलेर बहुप्रतीक्षित मेलम्चीको उद्घाटन गर्नेछिन् ।

भृकुटीमण्डपमा नवनिर्मित ढुंगेधारामा साना ठूला गरी तीनवटा धारा छन् । ती धारामा मेलम्चीको पानी निरन्तर आउने व्यवस्था मिलाएको छ । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि सहभागिता रहनेछ ।

मेलम्ची खानेपानी आयोजना निर्देशनालयले भृकुटीमण्डपमा बनाएका ढुंगेधारामा रहेको ३ वटा धारा खोलेर उद्घाटन गर्ने तयारी रहेको आयोजनाका प्रमुख कमलराज श्रेष्ठले नेपालप्रेसलाई बताए ।

उनले भने, ‘ढुंगेधारामा ठूलो र सानो गरी ३ वटा धारा बनाइएको छ । उद्घाटन कार्यक्रमको तयारी पुरा हुदैछ । भोलिबाट सर्वसाधारणले सार्वजनिक धाराबाट पानी खान पाउनेछन् ।’

सर्वसाधारणलाई साक्षी राखेर मेलम्ची उद्घाटन गर्न लागिएको उनले बताए । यसअघि आयोजनाले २३ गते उद्घाटन गर्ने तयारी गरेको थियो । तर पानी वितरण भइसकेपछि ढिला गर्न नहुने भन्दै उद्घाटन कार्यक्रम अगाडि सारिएको हो ।

काठमाडौं उपत्यकाका सर्वसाधरणले आइतबारदेखि नै मेलम्चीको पानी खान थालिसकेका छन् । हालसम्म महांकाल, मीनभवन र खुमलटारको ट्याङ्कीबाट एक दिन विराएर पानी पठाइएको छ भने अनामनगरको ८ सय घरमा भने २४ सै घण्टा पानी वितरण भइरहेको छ । हाल पुरानो पाइपलाइनबाट पानी वितरण भइरहेको आयोजनाले जनाएको छ ।

त्यस्तै आजदेखि बालाजु ट्यांकीबाट त्यस क्षेत्रमा मेलम्चीको पानी वितरण सुरु गरिएको छ । ऐतिहासिक बाइसधारामा पनि मेलम्चीको पानी जोडिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *