मेलम्चीको पानी ऐतिहासिक बाइसधारामा, स्थानीयले मनाए खुशीयाली – Nepal Press

मेलम्चीको पानी ऐतिहासिक बाइसधारामा, स्थानीयले मनाए खुशीयाली

काठमाडौं । मेलम्ची आयोजनाको खानेपानी आज बिहान ऐतिहासिक बालाजु बाइसधारामा खसालीएको छ । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले बाइसधारास्थित खानेपानी केन्द्रमा पुगेको मेलम्चीको पानी खोलेर बाइसधारामा खसालेका हुन् ।

योसँगै बालाजु-सोह्रखुट्टे-नयाँबजार लगायतका क्षेत्रमा पनि मेलम्चीको पानी वितरण शुरु भएको छ । बिहान पाँच बजे मेलम्चीको पानि बाइसधाराबाट झारिएको हो ।

शुभारम्भ कार्यक्रममा मन्त्री मानन्धरले सरकारले ऐतिहासिक काम गरेको बताउँदै जनताको समृद्धिको सपना वर्तमान सरकारले पुरा गरेरै छाड्ने बताए ।

मन्त्री मानन्धरले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा वर्तमान सरकारले जनपक्षिय कामलाई तिब्रता दिएको बताए । खानेपानी मन्त्री मणिचन्द्र थापासहितको टिमलाई विशेष धन्यवाद दिँदै मन्त्री मानन्धरले अब राजधानी उपत्यकालाई सफा र सुन्दर बनाउने बताए ।

मेलम्चीको पानी राजधानीमा आएसँगै अव राजधानीमा खानेपानीको कुनै समस्या नहुने बताउँदै मन्त्री मानन्धरले जनताका पक्षमा गरिएका काम सधैं स्मरणीय हुने बताए। नेपाल सरकारले मेलम्चीको पानी घर घरमा खसालेपछि आफुहरु अत्यन्तै हर्षित भएको बताउँदै बालाजुका स्थानीयले मन्त्री मानन्धरसँगै खुशी साटासाट गरे ।

पानी धारामा पठाएसँगै सोह्रखुट्टे लगायतका स्थानमा मन्त्री मानन्धरसहितको टोलीले स्थलगत अनुगमन समेत गरेको छ । आजै राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानीको औपचारिक उद्घाटन गर्दैछिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर