महानगरप्रमुख शाक्यको प्रस्तावमा ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रका वासिन्दा सकारात्मक – Nepal Press

महानगरप्रमुख शाक्यको प्रस्तावमा ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रका वासिन्दा सकारात्मक

काठमाडौं । काठमाडौं महानगरपालिकाले ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रका वासिन्दाको शिक्षा र स्वास्थ क्षेत्रका लागि केही प्रस्ताव अघि सारेपछि प्रभावितहरु सकारात्मक देखिएका छन् । काठमाडौं महानगरपालिका र सिसडोल ल्याण्डफिल्ड साइटका प्रभावित स्थानीयसहित जनप्रतिनिधि बीचको आजको छलफल सकारात्मक भएको हो । फोहोरमैला प्रभावित क्षेत्र व्यवस्थापन संघर्ष समिति र स्थानीय बासिन्दाले विभिन्न माग राख्दै चैत १३ गतेदेखि सडकमा विरोध प्रदर्शन गरी फोहोर फाल्न अवरोध गर्दै आएका थिए। फोहोर फाल्न अवरोध भएपछि महानगरपालिकाले राष्ट्रिय सभागृहमा महानगर प्रमुख विद्या सुन्दर शाक्यको उपस्थितिमा छलफल गरेको हो । आजको छलफल नटुंगीएपछि भोलि फेरी छलफल गर्ने र निर्णयमा पुग्ने महानगरपालिकाले जनाएको हो ।

छलफलका क्रममा प्रमुख शाक्यले प्रभावित जिल्ला नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेँसी गाउँपालिकाको पूर्वाधार विकासका लागि आगामी आर्थिक वर्षको बजेटमा तीन–तीन करोड व्यवस्था गर्ने, प्रभावित क्षेत्रमा १५ बेडको अस्पताल सञ्चालनका लागि पुर्वाधार निर्माण, १५ वटा बेड र चार जना चिकित्सकका लागि आवश्यक रकम सहयोग गर्ने प्रस्ताव राखेका छन् ।

प्रमुख शाक्यले यसअघि नै प्रभावित क्षेत्रकै लागि एउटा एम्बुलेन्स खरिद गरिदिएको र बाँकी थप एउटा एम्बुलेन्स पुनः खरिद गरिदिने प्रतिवद्धता व्यक्त गरेका छन् । यसअघि एउटा एम्बुलेन्स ललितपुर महानगरपालिकाले खरिद गरिदिने प्रतिवद्धता व्यक्त गरे पनि अहिलेसम्म नगरेको भन्दै प्रभावित क्षेत्रका स्थानीयले असन्तुष्टि व्यक्त गरेपछि उनले यस्तो प्रस्ताव गरेका हुन् ।

छलफलमा सहभागी नुवाकोट जिल्लाका प्रदेश सांसद बद्री मैनाली, ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामा, उपाध्यक्ष सिता लामा, प्रभावित क्षेत्रका वडाका वडाध्यक्ष, धुनिवेँसी नगरपालिकाका प्रभावित क्षेत्रका वडाध्यक्ष, विभिन्न सरकोकार समितिका प्रतिनिधिले छलफलका क्रममा विभिन्न माग राखेको थिए।

उनीहरुले आफूहरु फोहोर विसर्जनका लागि अवरोध गर्ने पक्षमा नभएको भन्दै माग सम्वोधनमा सकारात्मक बन्न दबाब दिएका छन् । । वैज्ञानिक ढंगले फोहोर व्यवस्थापन गर्ने कुरालाई राज्य र महानगरपालिकाले पनि योजनावद्ध ढंगले नसोच्ने हो भने समस्या समाधान नहुने सांसद मैनालीको भनाइ थियो । उनले प्रभावित क्षेत्रका जनताको शिक्षा, स्वास्थ्य र रोजगारीको लागि राज्यले कन्जुस्याई गर्नु नहुने बताए । अध्यक्ष लामाले फोहोर विसर्जनमा अवरोध गर्नु आफूहरुको बाध्यता भएको बताए ।

ककनी गाउँपालिकाका उपाध्यक्ष सिता लामाले पनि फोहोर व्यवस्थापनको विकल्प खोज्नुपर्नेमा जोड दिदैँ राज्यले दमन गरेर फोहोर विसर्जन गर्नेमा भन्दा पनि स्थानीयका माग पूरा गरेर सहमतिमा अघि बढ्नु पर्नेमा जोड दिइन्। छलफलका क्रममा अधिकार सम्पन्न समिति गठन हुनुपर्नेलगायतका माग अघि सारिएको थियो । उनीहरुले विगतमा पनि पटक–पटक सम्झौता कार्यान्वयनमा ढिलासुस्ती हुने गरेको भन्दै नुवाकोटका सबै दलका शीर्ष नेतासहितको उपस्थितिमा भोलि १ बजे छलफल गरी निष्कर्षमा पुग्ने बताएका छन् ।

भोलिको बैठकमा पुर्वमन्त्री डाक्टर रामशरण महत, डाक्टर प्रकाशचन्द्र लोहनीलगायतका नेतालाई पनि सहभागी गराउने र अन्तिम निष्कर्षमा पुग्ने सहमतिसहित बैठक समापन भएको  महानगरपालिकाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर