मालपोतमा बम विस्फोट गराउने दुई जना पेस्तोलसहित पक्राउ – Nepal Press

मालपोतमा बम विस्फोट गराउने दुई जना पेस्तोलसहित पक्राउ

जनकपुरधाम । सिराहाको लहान नगरपालिका आठस्थित मालपोत कार्यालयमा बम विस्फोट गराउने दुइ जना पक्राउ परेका छन् । घटनामा संलग्न सिराहाको सुखीपुर नगरपालिका पाँचका २५ वर्षका रामरिझन यादव र लक्ष्मीपुर पतारी गाउँपालिका तीनका २६ वर्षका अभिमन्यू गिरीलाई प्रहरीले हतियारसहित पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ परेका यादव र गिरीको साथबाट एक–एक थान कटुवा पेस्तोल र २–२ राउण्ड गोली बरामद भएको छ । दुवै जनालाई चैत १६ गते सिरहाकै सुखिपुर नगरपालिका पाँचबाट पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)का अध्यक्ष जयकृष्ण गोइतको निर्देशनमा बम विस्फोट गराएको भनेर दुवैजनाले स्वीकारेका प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) नवरत्न पौडेलले जानकारी दिए । उनका अनुसार उनिहरु दुवैजना यस अघि पनि बम विस्फोट गराएको घटनामा पक्राउ परेपछि अदालतबाट धरौटीमा छुटेका थिए ।

पक्राउ परेका दुवैजनाले मालपोत कार्यालयले भू–माफियालाई सहयोग गरीरहेको र पटक–पटक चेतावनी दिँदा पनि सुधार नआएको वयान दिएको पनि डीएसपी पौडेलको भनाइ छ । ‘विगत पाँच वर्षदेखि मोर्चामा संलग्न रही बलपूर्वक चन्दा असुली काम गर्दै आएका थिए ।’ डिएसपी पौडेलद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

मालपोत कार्यालयमा गत चैत एक गते बम विस्फोट हुँदा कर्मचारी र सेवाग्राही गरी आठ जना घाइते भएका थिए । उक्त घटनाको जिम्मेवारी मोर्चाले लिएको अध्यक्ष गोइतले विज्ञप्तीमार्फत जानकारी गराएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर