सर्जियो एग्युराेले सिजनको अन्त्यदेखि म्यानचेस्टर सिटी छाड्ने – Nepal Press

सर्जियो एग्युराेले सिजनको अन्त्यदेखि म्यानचेस्टर सिटी छाड्ने

एजेन्सी । इंग्लिस टोली म्यानचेस्टर सिटीले क्लबका कीर्तिमानी गोलकर्ता सर्जियो एग्युरोले यसै सिजनको अन्तिमदेखि क्लब छाड्ने सार्वजनिक गरेको छ ।

३२ वर्षीय स्ट्राइकरको सम्झौता यसै सिजनको अन्त्यदेखि सकिनेछ र नवीकरण नहुने क्लबले जानकारी दिएको हो । एट्लेटिको मड्रिडबाट सन् २०११ मा सिटी आएका एग्युरोले क्लबका लागि ३ सय ८४ खेलमा कीर्तिमानी २ सय ५७ गोल गरेका छन् ।

‘टिम मालिकको मार्गदर्शन र थुप्रै खेलाडीहरुको योगदानकाम साथ हामी विश्वकै उत्कृष्ट क्लबमा समय विताउन पायौं,’ एग्युरोले भनेका छन् ।

उनको सम्मानमा पूर्व कप्तान भिन्सेन्ट कोम्प्यानी र प्लेमेकर डेभिड सिल्भाको जस्तै इथिहाड रंगशाला परिषरमा एउटा प्रतिमा स्थापना गरिनेछ । कोम्प्यानीले सन् २०१९ र सिल्भाले २०२० मा सिटी छाडेका थिए ।

म्यानचेस्टर सिटीको पुनर्जागरणका लागि यी तीन खेलाडीको सबैभन्दा महत्वपूर्ण योगदान रह्यो । एग्युरोलाई सन् २०१२ को सिजनको निर्णायक खेलमा क्वीन पार्क रेन्जर्स (क्यूपीआर)बिरुद्ध अतिरिक्त समयमा गोल गरी ४४ वर्षपछि सिटीलाई प्रिमियर लिगको उपाधि दिलाएकोमा धेरै पछिसम्म सम्झिइनेछ । त्यसयता यी स्ट्राइकरले सिटीलाई थप तीन प्रिमियर लिग, एक एफए कप र पाँच लिग कपको उपाधि दिलाउन सहयोग गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर