कोरोना त्रास : फिल्म ‘मनसँग मन’को रिलिज पनि स्थगित – Nepal Press

कोरोना त्रास : फिल्म ‘मनसँग मन’को रिलिज पनि स्थगित

काठमाडौं । कोरोनाभाइरसको जोखिम बढ्न थालेपछि फिल्म गतिविधि पुनः प्रभावित हुन थालेको छ । रिलिज तयारीमा रहेका फिल्मले प्रदर्शन स्थगित गर्न थालेका छन् ।

चैत २७ गते रिलिज तयारीमा रहेको ‘लप्पन छप्पन २’ ले स्थगित गरेको थियो । कोरोना त्रासको यो मेसोमा थपिएको छ फिल्म- ‘मनसँग मन’ ।

भीडभाड नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन र सरकारले ५० प्रतिशत अकुपेन्सी कायमै राखेकाले पोस्टपोन्ड गर्नुपरेको निर्माता कम्पनी सौरभ इन्टरटेनमेन्टले जनाएको छ ।

वितरकसँगको सल्लाहमा फिल्मको नयाँ मिति घोषणा गरिने जनाइएको छ । प्रदर्शन मिति सारिएपनि फस्टलुक भने सार्वजनिक गरिएको छ । फस्टलुकमा नायक पुष्प खड्का र नायिका वर्षा शिवाकोटीलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।

फिल्ममा वुद्दि तामाङ, चाँदनी प्रधान, महेन्द्र बागदास, सन्ते दाको पनि मुख्य भूमिका छ । साथमा, एक गीतमा पल शाह र पूजा शर्माले नृत्य गरेका छन् ।

चैत २७ गते रिलिज हुने फिल्म ‘कृष्णलीला’को प्रदर्शन पनि अन्यौल छ । निर्देशक दीपक ओलीले केही दिनमा रिलिजबारे टुंगो लगाउने जानकारी दिए । नेपाली नयाँवर्षमा फिल्मको लाइनअप रित्तो हुने सम्भावना बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर