‘प्रधानमन्त्रीको चासो बुझेर काम गर्दा सफलता पाइयो’ – Nepal Press
खानेपानीमन्त्रीसँग नेपाल टक

‘प्रधानमन्त्रीको चासो बुझेर काम गर्दा सफलता पाइयो’

काठमाडौं । करिब तीन दशकअघि शुरू भएको बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाले अहिले पूर्णता पाएको छ । काठमाडौंवासीले आजैदेखि आ-आफ्नो धाराबाट मेलम्चीको पानी थाप्न पाउने भएका छन् ।

आयोजनाको चर्चासँगै मेलम्चीमा धेरै पानी बग्यो । सरकारमा जान र टिकाउन धेरै नेताले यसलाई प्राथमिकताको एजेण्डामा समेत राखे ।

तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले शुरू गरेको यो आयोजना प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा पूरा भएको छ । र, तालुकदार मन्त्रालयका ‘भाग्यमानी’मन्त्री बन्न पुगेका छन् मणि थापा ।

खानेपानी तथा सरसफाइ मन्त्री थापा यो आयोजना सफल हुनुमा प्रधानमन्त्री ओलीको विशेष चासो र आफ्नो मन्त्रालयको अथक मेहनत रहेको बताउँछन् ।

‘यो काठमाडौं उपत्यकावासीको मात्रै नभएर सम्पूर्ण नेपालीहरूको ठूलो सपना थियो,’ मन्त्री थापा भन्छन्, ‘हामी सबैको प्रयत्नले यो सफल भयो । विशेष गरेर पछिल्लो चरणमा राष्ट्रिय गौरवका आयोजनाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको अलिकति बढी लगाव नै थियो । त्यो पनि एउटा कारण हो । र, हाम्रो मन्त्रालयले पछिल्लो चरणमा मेहनताकासाथ यसलाई निष्कर्षमा पुर्‍याउने तरिकाले काम गर्‍यो ।’

यसमा प्रधामन्त्रीको चासो धेरै नै रहेको र आफूले त्यही चासोलाई बुझेर काम गर्दा चाँडो परिणाम हात लागेको उनको भनाइ छ । ‘यसमा प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष चासो थियो, मैले उहाँको चासो बुझ्ने कोसिस गरेँ,’ थापा भन्छन्, ‘उहाँले यो काम सफल भयो कि भएन भनेर लगातार नै प्रश्न उठाइराख्ने र प्रधानमन्त्री कार्यालयको पनि यसमा राम्रो संलग्नता छ यसमा । त्यो कारणले यो सम्पन्न भयो ।’

आयोजनासँगै जोडिएर खानेपानीमन्त्री मणिचन्द्र थापासँग नेपाल प्रेसकर्मी रामकुमार डिसीले गरेको कुराकानी नेपाल टकमा :-

तपाईं मन्त्री भएर गएपछि मेलम्चीका लागि कति काम गर्नुभयो ?

यो बीचमा काम नभएका होइनन् । काम राम्रैसँग अगाडि बढेकै थिए । तर, त्यसलाई ‘फाइनल कोर्ष’ मा पुर्‍याउने काम चाहिँ पछिल्लो चरणमा भयो । यसको निम्ति मन्त्रालयले अथक मेहनत गरेको छ । प्रधानमन्त्री कार्यालयको त्यसमा पूर्ण सहयोग छ । यी दुईवटा कारणले चाहिँ यो सम्पन्न भयो ।

लामो समयपछिमात्रै यो आयोजना पूरा भयो । यसको ‘क्रेडिट’आफूले कति लिन चाहनुहुन्छ, अरुलाई कति दिनुहुन्छ ?

सबैले आफ्नो ढंगले मेहनत गर्नु नै भएको थियो । मेहनत गरेनन् भन्ने कुरा होइन । सबैको मेहनतको प्रतिफल हो भन्न चाहान्छु म चाहिँ ।

राष्ट्रिय आयोजनाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष चासो थियो । मैले उहाँको चासो बुझ्ने कोसिस गरेँ । उहाँले मेलम्चीबारे झक्झक्याइरहनुहुन्थ्यो । प्रधानमन्त्री कार्यालयको पनि यसमा राम्रो संलग्नता छ यसमा । प्रधानमन्त्रीकै बढी चासो भएर योजना यतिखेर सम्पन्न भयो ।

यो आयोजनालाई अल्झाइराखिएको छ भन्ने कुरा पनि आइरहेको थियो । तपाईं गएपछि पनि त्यो पाउनुभयो ? कसले अल्झाएको रहेछ ?

विभिन्न कम्पनीहरूको बीचमा ठेक्का सम्झौता हुने र रद्ध हुने प्रक्रिया निरन्तर नै थियो क्यारे । र, त्यति धेरै अल्झाउने भन्दा पनि परिणाम दिने तरिकाले काम गर्ने सोचको आवश्यकता थियो जस्तो मैले पाएँ ।

मेलम्चीकै सहायक आयोजना पनि छ । त्यसलाई कसरी अगाडि बढाउनुहुन्छ ?

त्यसको बारेमा छलफल भइरहेको छ। दोस्रो आयोजना शुरू हुने याङ्ग्री र लार्के जुन छ, त्यसको पनि प्रक्रिया अगाडि बढ्छ ।

लामो पर्खाइपछि काठमाडौंवासीले मेलम्चीको पानी पिउँन पाउने भएका छन् । काठमाडौंवासीलाई के भन्नुहुन्छ ?

काठमाडौंवासीले लामो समय धैर्यधारण गर्नुभयो, त्यो नै महान काम थियो । त्यो धैर्यको बाँध चाहिँ कहिले पनि टुटेन । त्यो, धैर्यतालाई चाहिँ मैले सम्मान गर्न चाहान्छु ।

मेलम्चीले मात्रै काठमाडौंवासीको तिर्खा मेटिएला ?

२२ वर्षअघि यसको निर्माण शुरू भएको थियो । त्यो बेलाको एउटा सोच र अहिले काठमाडौंमा जो खालको बसाइँसराइ छ, यो सबै हिसाबले यो नै पूर्ण हो भन्ने कुरा त होइन । तर, आधारभूतरूपले चाहिँ मेलम्चीको पानीले जनताको समस्या समाधान गर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर