झलनाथसहित माधव पक्षका नेताहरू बालुवाटारमा – Nepal Press
एमाले संसदीय दल बैठक

झलनाथसहित माधव पक्षका नेताहरू बालुवाटारमा

माधव नेपाल र भीम रावल गएनन्

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक बालुवाटारमा शुरू भएको छ ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा वरिष्ठ नेता झलनाथ खनालसहितका माधव पक्षका नेताहरू सहभागी भएका छन् । बैठकमा मञ्चपट्टी प्रधानमन्त्रीको दायाँतर्फ वामदेव गौतम र झलनाथ खनाल बसेका छन् भने बायाँतर्फ ईश्वर पोखरेल र सुवास नेम्वाङ छन् । माधवकुमार नेपाल र भीम रावल भने उपस्थित छैनन् । सुरेन्द्र पाण्डे भने बैठकस्थल पुगेर एकछिनमै निस्किएका छन् ।

माधव पक्षधरका केन्द्रीय सदस्यहरूको आजै भएको छलफलले संसदीय दलको बैठकमा भाग लिने निष्कर्ष निकालेको थियो । नेकपा एमालेभित्र बसेर पार्टीलाई बलियो र गतिशील बनाउनका लागि तथा विधि र पद्दतिमा चलाउनका लागि संघर्ष गर्ने निर्णय भएको नेता रघुजी पन्तले जानकारी दिएका छन् ।

एमाले पुनःस्थापनापछि तीनपटक दलको बैठक बस्दा पनि माधव नेपाल पक्ष सहभागी भएको थिएन । पछिल्लो पटक चैत ७ गतेको बैठक चलिरहेका बेला माधव नेपाल पक्षले बैठकमा आउन नसक्नुको लिखित कारण पठाएको थियो ।

प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठक चलिरहेका बेला पार्टीका सांसदहरूको भूमिकाका बारेमा छलफल गर्न दलको बैठक बोलाएको प्रमुख सचेतक विशाल भट्टराईले बताए ।

प्रतिनिधिसभामा १२० एमाले सांसदमध्ये माधव नेपाल पक्षमा हाल ३५ जना छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *