बहराइनका राजकुमारले ल्याएको खोपबारे परराष्ट्रद्वारा राजदूतसँग सोधपुछ – Nepal Press

बहराइनका राजकुमारले ल्याएको खोपबारे परराष्ट्रद्वारा राजदूतसँग सोधपुछ

काठमाडौं । सगरमाथा चढ्न नेपाल आएका बहराइनका राजकुमारसहितको टोलीले ल्याएको कोरोनाविरुद्धको खोपलाई लिएर विवाद भएको छ । राजकुमारले उपहारस्वरुप दुइ लाख डोज खोप आफूसँगै ल्याएका थिए । बहराइनस्थित नेपाली दूतावासले राजकुमारले आफूसँग अस्ट्राजेनेकाको कोभिसिल्ड खोप ल्याएको चैत दुइ गते विज्ञप्तीमार्फत जनाएको थियो । तर, औषधी व्यवस्था विभागले गरेको परिक्षणमा चाहिँ उक्त खोप चीनको सिनोफार्म भएको खुलेको छ ।

दूतावासले विज्ञप्तीमा तोकेबमोजिम खोप नपाइएपछि अहिले परराष्ट्र मन्त्रालयले राजदूत पदम सुन्दासमाथि छानविन सुरु गरेको छ । नेपाल प्रेससँग कुरा गर्दै परराष्ट्र प्रवक्ता सेवा लम्सालले यसबारे बुझ्ने काम भैरहेको बताइन् । ‘स्वास्थ्य मन्त्रालयसँग समन्वय हुनुपर्ने हो तर, एम्बेसीले त्यस्तो गरेको पाइएन । उहाँहरुले पनि सिफारिसको आधारमा उल्लेख गर्नुभयो होला । हामीले यसबारे बुझ्ने काम गरिरहेका छौं,’ लम्सालले भनिन् ।

थाहै नभएको विषयमा हतार–हतार विज्ञप्ती निकालेको भन्दै राजदूत सुन्दासलाई परराष्ट्रले प्रश्न सोधेको हो । प्रवक्ता लम्सालले राजदूतावासले राजकुमारकै सिफारिसमा विज्ञप्तीमा अस्ट्राजेनेका खोप उल्लेख गरेको हुनसक्ने बताइन् । राजदूत सुन्दासको कार्यकाल सकिन जम्मा ४ महिना बाँकी छ र उनी कार्यकालको अन्त्यमा खोप विवादमा तानिएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर