प्रदेश २ कोरोनाको उच्च जोखिममा, सीमामा छैन सतर्कता – Nepal Press

प्रदेश २ कोरोनाको उच्च जोखिममा, सीमामा छैन सतर्कता

जनकपुरधाम । छिमेकी देश भारतका कोरोना भाइरसको संक्रमण तीब्र गतिमा फैलिएसँगै सीमा जोडिएका प्रदेश २ का जिल्ला उच्च जोखिममा छन् ।

भारतमा मजदुरी गर्न गएकाहरू होली मनाउन घर फर्किन थालेपछि संक्रमणको जोखिम बढेको हो । सीमामा आवतजावत गर्नेहरूको भीड हुँदासम्म स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको छैन । विगतमा संचालित हेल्प डेस्कहरू पनि बन्द अवस्थामा छ । नयाँ हेल्प डेस्कको तयारी पनि कसैले गरेका छैनन् ।

खुल्ला सीमाका कारण जति कडाइ भारतबाट फर्किने सबैको परीक्षण सम्भव नहुने सुरक्षा अधिकारी बताउँछन् । सीमा क्षेत्रका बासिन्दा भारतीय बजारमा निर्भर छन् । सस्तो हुने भएकोले खाद्यान्नदेखि अधिकांश सामान लिन सीमा क्षेत्रका भारतीय बजारमा पुग्छन् । जसले जोखिम बढाएको छ ।

प्रदेश प्रहरी प्रमुख डिआईजी धीरजप्रताप सिंहले भारतबाट फर्किने नागरिकको मुख्य नाकाहरुमा परीक्षण भइरहेको दाबी गर्छन् । तर, कुन-कुन नाकाबाट परीक्षण भइरहेको भन्ने चाहिँ बताउँन सकेनन् । होली नजिकिएसँगै भारतबाट फर्किनेहरूको संख्या बढ्न थालेपछि कोरोनो जोखिम बढेकाले सतर्कता बढाउन सीमा क्षेत्रमा खटेका सुरक्षाकर्मीलाई निर्देशन दिएको उनले जानकारी दिए । डीआईजी सिंहका अनुसार भारतबाट फर्किनेहरूमा कोभिड-१९ को लक्षण देखिए अस्पताल पठाउन भनिएको छ ।

नेपालमा पुनः कोरोना संक्रमण फैलिन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले सतर्कता अपनाउन अनुरोध गरेपनि यस प्रदेशमा त्यसको कुनै प्रभाव परेको देखिँदैन ।

सप्तरी, बारा, रौतहट र पर्सा प्रशासनले पनि भीडभाड नगर्न, मास्क लगाउन जस्ता सतर्कता अपना सूचना जारी गरेको छ । प्रशासनको अनुरोध भने सूचनामै सीमित बनेको छ । सिरहा, धनुषा, महोत्तरी र सर्लाही जिल्ला प्रशासन कार्यालयले भने सूचना जारी निकालेका छैनन् ।

धनुषाको कचुरीबाट निस्केको १५ दिने मिथिला माध्यमिकी परिक्रमा यात्रा चलिरहेको छ । परिक्रममा नेपाल र भारतका हजारौं साधुसन्त तथा श्रद्धालु सहभागी छन् । भारत र महोत्तरीको विभिन्न क्षेत्रमा भएको परिक्रमामा स्वास्थ्य मापदण्ड पालना गराउनेतर्फ प्रशासनले चासो देखाउन सकेन ।

परिक्रमामा सहभागीहरू बिरामी पर्न थालेका छन् । बुधवार औरहीमा परिक्रमा टोलीले विश्राम गरे । त्यहाँ सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा औषधी लिनेहरूको भीड नै लागेको थियो । अधिकांशलाई ज्वरो र रुखाघोकीको समस्या देखिएको चिकित्सकले बताएका छन् ।

धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले परिक्रमाकै कारण केही पूर्वतयारी गर्न नसकेको स्वीकारे । उनले परिक्रममा धेरै भीडभाड जम्मा हुने र बीचैमा बन्द गर्न लगाउँदा गलत सन्देश जाने भन्दै दुई दिनमात्र परिक्रमा चल्ने र त्यसपछि पूर्वतयारीमा जानकारी दिए ।

प्रजिअ बास्तोलाका अनुसार संक्रमण नियन्त्रणका लागि प्रदेश २ का आठै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायको पूर्वतयारी बैठक बसेर आवश्यक रणनीति र कार्ययोजना बनाउने तयारी भइरहेको छ ।

कोरोना नियन्त्रणमा आइसकेको प्रदेश २ मा अहिले ३६ जना सक्रिय संक्रमित फेला परिसकेका छन् । सामाजिक विकास मन्त्रालयका अन्सार हालसम्म यस प्रदेशमा कोरोना संक्रमितमध्ये २०९ जनाको मृत्यु भएको छ । १६ हजार ९८४ जना संक्रमणमुक्त भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *