डीडीसीले सेनालाई बेच्दै आएको पाउडर दुध आजबाट बजारमा – Nepal Press

डीडीसीले सेनालाई बेच्दै आएको पाउडर दुध आजबाट बजारमा

काठमाडौं । नेपाल दुग्ध विकास संस्थानले ‘डेरी ह्वाइटनर’ पाउडर दूध आजबाट बजारमा ल्याएको छ । यसअघि संस्थानले आन्तरिक रुपमा दूध पाउडर उत्पादन गरेर सेनालाई मात्र आपूर्ति गर्ने गरेको थियो ।

संस्थानका सूचना अधिकारी राजेन्द्र प्रसाद अधिकारीले डेरी ह्वाइटनर पहिलोपटक बजारमा पठाइएको जानकारी दिए । संस्थानले धेरै दूध उत्पादन नहुने क्षेत्र तथा घरमा गाई–भैसी नभएका परिवारलाई लक्षित गरी दूध पाउडर बजारमा ल्याएको उनको भनाइ छ ।

‘अहिले नेपाल दूधजन्य पदार्थमा करीब आत्मनिर्भर भएकाले पाउडर बजारमा ल्याउन सहज भएको छ,’ अधिकारीले भने, ‘पाउडरको कच्चा पदार्थ नेपालमा नै उत्पादित दूध रहेको हो ।’ संस्थानले अहिले कति परिमाणमा उत्पादन सुरु गरेको भन्ने उनले खुलाएनन् । बजारको माग अनुरुप दूध पाउडर उत्पादन गर्ने उनले बताए ।

संस्थानले विराटनगरको कारखानाबाट धुलो दुध उत्पादन गर्न थालेको हो । आज एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले धुलो दुधबारे चर्चा गरेका थिए । उनले डीडीसीबाट बजारमा ल्याइएको धुलो दुधलाई ‘डेरी ह्वाइटनर’ भनिएकोमा असन्तुष्टि जनाएका छन् । यसलाई पाउडर दुध वा मिल्क पाउडर भन्नुपर्ने उनको सुझाव थियो ।

संस्थानले भने अन्तराष्ट्रियस्तरमा नै पाउडर दुधलाई मिल्क ह्वाइटनर भन्ने गरिएको तर्क गरेको छ । अधिकारीले तत्काल नाम फेर्ने अवस्था नरहेको बताए । उनले भने, ‘पछि कुनै कालखण्डमा प्याकेजिङ फेर्नु पर्यो भने नाम फेरिन सक्छ, तर तत्कालका लागि नाम यही नै हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर