किन धमाधम एमाले पस्दैछन् उद्योगी ? – Nepal Press

किन धमाधम एमाले पस्दैछन् उद्योगी ?

काठमाडौं । गत शुक्रबार देशका करिब दुइ सय ३५ जना उद्योगीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले खादा ओढाएर एमालेमा प्रवेश गराए । त्योभन्दा अघि पनि उद्योगी धमाधम एमालेमा प्रवेश गर्दै थिए भने अझै केही लाइनमा छन् ।

अर्घाखाँची सिमेन्टका सञ्चालक उद्योगपति राजेशकुमार अग्रवाल मंगलबार नेकपा एमालेमा भित्रिएका थिए । प्रधानमन्त्री निवास बालुवाटारमै एक कार्यक्रमका बीच प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अग्रवाललाई खादा र टिको लगाएर पार्टीमा स्वागत गरेका थिए ।

प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतिलाल दुगड केही दिनमा नै एक सय ५० जना उद्योगी–व्यवसायी नेकपा एमाले प्रवेश गर्न तयारीमा रहेको बताउँछन् । उनले भने, ‘प्रधानमन्त्रीले निजी क्षेत्रको कुरा बुझ्नुभएकाले उद्योग र व्यावसायी एमालेमा आकर्षित भएका हुन् ।’

ओली प्रधानमन्त्री भएर आएपछि देशका उद्योगी र व्यापारीमाथि चन्दा आतंक बन्द भएको, बन्द–हड्ताल अन्त्य भएकाले व्यवसायी सकारात्मक बनेको उनको दावी छ । विश्वको राजनीतिमा पनि ठूला व्यापारी र उद्योगपतिले गरेको भन्दै दुगडले नेपालमा पनि त्यही ट्रेन्ड सुरु भएको उल्लेख गरे ।

‘नेपालमा उद्योगी र व्यापारीले राजनीति गर्न हुँदैन भन्ने मान्यता छ । तर देशको अर्थतन्त्रमा ठूलो योगदान गरेका उद्योगी–व्यवसायी पनि आर्थिक परिवर्तनका लागि राजनीतिक पाटीसँग जोडिनु स्वभाविक हो,’ उनले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा आएर आफुले उद्योग राज्यमन्त्रीको भूमिका निर्वाह गर्दा निजीक्षेत्रका समस्या समाधान गरिदिएको दुगडले दावी गरे । आफूले व्यवसायीका कुनै पनि सरकारी काम तीन दिनभित्र सकिने वातावरण निर्माण गरेकाले पनि निजी क्षेत्रका उद्योगी र व्यवसायी एमालेमा आकर्षित भएको उनले बताए ।

अहिले उद्योगीलाई पार्टी प्रवेश गराउने कामको संयोजन दुगडले नै गरिरहेका छन् । उनले १३ महिना उद्योग बाणिज्य राज्य मन्त्रीको जिम्मेवारी निर्वाह गरेका थिए ।

प्रधान भन्छन्ः सरकारको कामबाट प्रभावित भयौं

केही दिनअघि नेकपा एमालेमा प्रवेश गरेका व्यवसायी किशोर प्रधानले एमालेको सरकारले निजी क्षेत्रका समस्या समाधानको अग्रसरता देखाएकाले आफूहरु प्रभावित बनेको बताए । उनले भने ‘सरकार निजीक्षेत्र मैत्री भएकाले नै व्यापारी र उद्योगी एमालेतर्फ आकर्षित भएका हुन् । सरकारले निजी क्षेत्रका धेरै समस्या समाधान गरेको छ र बाँकी केही समस्या समाधानतर्फ प्रयास भइरहेको छ ।’

नेपाल चम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल उद्योगी र व्यवसायीले पार्टी प्रवेश गर्नु व्यक्तिगत स्वतन्त्रताको कुरा भएको बताउँछन् । ‘यसमा हामीले खासै टिप्पणी गर्न आवश्यक छैन, यो नितान्त उहाँहरुको वैयक्तिक विषय हो,’ मल्लले भने ।

राजनीतिक-आर्थिक विश्लेषक अच्चुत वाग्ले भने सत्तारुढ दलमा प्रवेश गरेर उद्योगीहरुले राजनीतिक संरक्षण खोजेको टिप्पणी गर्छन् । ‘राजनीतिक संक्षणविना स्वतन्त्र रुपमा उद्योगधन्दा सञ्चालन गर्न नसकिने अवस्था छ,’ उनले भने, ‘आफ्नो उद्योगधन्दा सहजरुपमा सञ्चालन गर्न र सरकारको प्रिय बन्न यसरी पार्टी प्रवेश भएको हुनुपर्छ ।’

निजी क्षेत्रका उद्योगी र व्यवसायी  सत्तासँग जोडिन खोज्नु अन्तर्राष्ट्रिय प्रवृत्ति नै भएको वाग्ले बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर