प्रचण्डको दाबी- नेपालीको आत्मनिर्णयको अधिकार फेरि धरापमा छ (भिडियो) – Nepal Press

प्रचण्डको दाबी- नेपालीको आत्मनिर्णयको अधिकार फेरि धरापमा छ (भिडियो)

हामी हेपिन थालेका छौं, मलाई छटपटी भएको छ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालीको आत्मनिर्णयको अधिकार फेरि खतरामा परेको बताएका छन् ।

बुधबार नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको राष्ट्रिय भेला तथा प्रशिक्षणलाई धुलिखेलमा सम्बोधन गर्दै प्रचण्डले यस्तो दाबी गरेका हुन् ।

‘तपाईं हामी सबैको भाग्य भविष्य, हाम्रा भावी सन्ततिको भाग्य भविष्य अहिले एकचोटी फेरि जोखिममा परेको छ,’ उनको भनाइ छ, ‘धरापमा पारिएको छ । नेपालीहरूको आत्म निर्णयको अधिकार फेरि एकचोटी जोखिममा छ । धरापमा छ ।’

प्रचण्डले त्यस्तो जोखिम कोबाट भएको हो भन्ने चाहिं खुलाएनन् । ‘केही समयदेखि हामी आफ्नोबारे आफैं निर्णय गर्ने भइयो भन्ने आत्म गौरवको महसुस गर्ने गर्थें मैलेँ, उनले भने, ‘शान्ति सम्झौतामा हस्ताक्षर गर्दै गर्दा, संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्दै गर्दा, संविधानसभाबाट संविधानको घोषणा हामीले गर्दै गर्दा, कम्युनिष्ट पार्टीको एकताको प्रस्ताव लिएर एकता गर्दै गर्दा र चुनावको नेतृत्व गर्दै गर्दा आत्मगौरव हुन्थ्यो कि अब नेपालीहरू हाम्रो बारेमा कसैको दबाब, कसैको डरधाक, हस्तक्षेप होइन हामी आफैंले निर्णय गरेका छौं ।’

नेपालीलाई आदेश पालक बनाउन बनाउनमात्रै खोजिएको महसुस आफूले गरेको भन्दै त्यसबाट छटपटी भएको प्रचण्डले बताएका छन्। ‘हामी आफैंले निर्णय गर्न सक्नु, निर्णय गरेर परिणाम पनि निकाल्न सक्नु तपाईं हामी सबैका लागि राष्ट्रिय आत्म गौरवको विषय हो,’ उनी भन्छन्, ‘तर, अहिले फेरि एकचोटी हामी निरीह हुन थालेका हौं कि, हामी नेपालीहरु फेरि एकचोटी नराम्रोसँग हेपिन थालेका हौं कि ? नेपालीहरुको निर्णयको अधिकार छैन् । तिमीहरू निरीह हौ, निरीह नै रहिराख्ने छौं भन्न पो खोजिएको हो कि ? तिमीहरु बढी गर्‍यौं भने परिणाम भोग्न तयार हौं भनेर हामीलाई धम्की पो आउन थालेको हो कि ? हामी गरिदिन्छौं तिमीहरूको निर्णय भनेर आदेश पालक बनाउन खोजिएको हो कि भन्या जस्तो लाग्छ । तपाईंहरूलाई कत्तिको लाग्छ मलाई थाहा छैन । म नेतृत्वमा हुनुको नाताले मलाई अलि बढी छटपटी, पीडा बोध भएको स्थिति छ ।’

संविधानलाई खोस्टो मात्रै बनाउन खोजिएको आरोप लगाउँदै प्रचण्डले भने, ‘जसरी संसद भंग भएको थियो, त्यो संसद मात्रै भंग भएको थिएन । त्यो संविधानलाई खोस्टो बनाएर च्यात्ने दुस्साहास थियो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर