एमालेमा माधव पक्षले बनायो विद्यार्थीको समानान्तर कमिटी – Nepal Press

एमालेमा माधव पक्षले बनायो विद्यार्थीको समानान्तर कमिटी

काठमाडौं । नेकपा एमालेमा समानान्तर कमिटीको अभ्यास शुरू गरेको माधवकुमार नेपाल पक्षले विद्यार्थीको अलग्गै नेतृत्व चयन गरेको छ ।

काठमाडौंमा आयोजित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) को राष्ट्रिय भेलाले मंगलबार राति ५०१ सदस्यीय केन्द्रीय कमिटी बनाएको हो ।

माधवपक्षीय अखिलमा सुदेश पराजुली अध्यक्ष छन् । सह-अध्यक्षमा ओसिम आलम र महासचिवमा आरती लामा छन् । उनीहरू तीनैजना अनेरास्ववियुका सचिव थिए ।

माधव नेपाल पक्षीय अनेरास्ववियुको उपाध्यक्षमा यशु लामा, रेनु शाही, माधव पन्त, कल्पना थापा, सुदीप शर्मा, लोकेश निरौंला र केशरी रेग्मी छन् । कोषाध्यक्षमा दिपेश प्रसाईंलाई चयन गरिएको छ । त्यस्तै, सातै प्रदेशको नेतृत्व पनि बनाइएको छ भने १३ जनाको स्थायी कमिटी गठन गरिएको छ ।

माधव नेपाल पक्षले यसअघि जयन्ती राईको नेतृत्वमा महिला संघ र नरेश शाही अध्यक्ष रहेको युवा संघको समानान्तर कमिटी बनाइसकेको छ ।

गुटको भेला गरेको भन्दै एमालेको संस्थापन पक्षले माधव नेपाललगायतका चार नेतासँग स्पष्टीकरण सोधिसकेको छ । समानान्तर भेला र कमिटीहरु गठन गर्नेमाथि कारवाही गरिने चेतावनी एमालेले दिइसकेको छ ।

अनेरास्ववियुका अध्यक्ष ऐन महरले संगठनको नाममा भेला गर्नेहरुमाथि अनुशासनको कारवाही गर्ने चेतावनी वक्तव्यमार्फत दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर