किन भयो ट्याक्सी चालक र पठाओ राइडरबीच सडकमै लफडा ? – Nepal Press

किन भयो ट्याक्सी चालक र पठाओ राइडरबीच सडकमै लफडा ?

काठमाडौं । मोटरसाइकलमार्फत सेयर राइडिङ सेवा दिँदै आएको पठाओ र ट्याक्सी चालकबीच बारम्बार विवाद आइरहन्छ । आफ्नो पेशालाई धरापमा पारिदिएको भन्दै ट्याक्सी चालक पठाओ राइडरलाई देखिसहँदैनन् ।

ट्याक्सी चालकको यस्तो क्रोधको शिकार भए सोमबार एक पठाओ राइडर । सोमबार साँझ ७ बजे नयाँ बसपार्कमा यात्रु कुरेर बसिरहेका पठाओ राइडरमाथि ट्याक्सी चालक आइलागेका थिए ।

नेपाल प्रेसको सम्पर्कमा आएका एक प्रत्यक्षदर्शी पठाओ चालकका अनुसार ४ जनाको समूहमा रहेका राइडर यात्रु कुरेर बसिरहेका बेला ट्याक्सीचालकको समूह आएर उनीहरुसँग निहु खोज्न थाल्यो । ‘तिमीहरु यहाँ नबस, तिमीहरुले गर्दा हामीले यात्रु पाएनौ, तिमीहरुले हाम्रो रोजगारी खोस्यो भन्दै निहुँ खोजे,’ प्रत्यक्षदर्शी राइडरले भने ।

तत्कालै १०-१२ जनाको समूहमा रहेका ट्याक्सी चालक मिलेर राइडरलाई घेरे । राइडरमध्येकै एक अगाडि सरेर ती ट्याक्सी चालकसँग प्रतिवादमा उत्रिए । दुबै पक्षका चालकबीच भनाभन भएपछि हात हालाहालको स्थिति भयो । त्यसपछि पठाओ राइडरलाई ‘तँ जान्ने भएको ?’ भन्दै सबै मिलेर उनीमाथि कुटपिट गर्न थाले ।

सबै ट्याक्सीचालक मिलेर उनलाई लेखेटिलेखेटी कुटे । त्यतिन्जेलसम्म भीड बढिसकेको थियो । प्रत्यक्षदर्शी राइडरले नेपाल प्रेससँग भने, ‘अनाहकमा निहु खोज्न आएपछि हाम्रो साथी त्यसको प्रतिकारमा उत्रिदाँ कुटाइ खानुपर्यो ।’

उनको भनाइ अनुसार कुटाइ खाएका राइडरले ‘जसले सक्छ उसले काम गरेर खाने हो, हामीले काम गरेर खान नपाउने हुन्छ ?’ भन्दै जवाफ फर्काएका थिए । ती कुटिएका चालक कहाँका हुन् भन्नेसमेत जानकारी नभएको उनले बताए । लफडा भएपछि ट्राफिक प्रहरी आएर छुट्याएका थिए ।

सम्झाएर पठाएका छौ: प्रहरी

महानगरीय प्रहरी वृत्तको टोलीले कुनै कानूनी कारवाही बिना दुवै पक्षलाई सम्झाएर पठाएको छ । वृत्तका प्रहरी नायव निरिक्षक (सइ) नारायण कार्कीले उनीहरुलाई सम्झाएर हिजै पठाइसकेको बताए ।

उनले भने, ‘पठाओ र ट्याक्सी चालकबीच पहिलेदेखि नै विवाद रहेछ । हिजो पनि त्यही विवाद बल्झिएको हो । दुबै पक्षलाई ल्याइएको थियो । सम्झाएर पठाएका छौं ।’ उनका अनुसार आज दुबै पक्षको कम्पनीबीच वार्ता हुदैँछ । कुटिएका चालकले प्रहरीमा उजुरी नगरेको समेत बताए ।

पठाओ भन्छः अनुसन्धान गरिरहेका छौं

पठाओ कम्पनीले आफ्ना राइडरमाथि कुटपिट भएको जानकारी भए पनि कसलाई कुटिएको हो भन्ने पत्ता नलागेको जनाएको छ । यस सम्वन्धमा अनुसन्धान भइरहेको कम्पनीका एक कर्मचारीले जानकारी दिए ।

उनले नेपाल प्रेससँग भने, ‘हामीलाई कुटिए भन्ने जानकारी आएको छ । तर कसलाई र के कारणले कुटिएको हो भन्ने खुलेको छैन । कुटिएका राइडर पनि हाम्रो सम्पर्कमा आएका छैनन् । हाम्रो टोलीले घटनाको अध्ययन गर्दैछ ।’

हाल पठाओ कम्पनीमा ७० हजार राइडर आवद्ध छन् । यसअघि पनि पठाओ राइडरले यात्रु बोकेको भन्दै ट्याक्सी चालकले दुव्र्यवहार गर्ने गरेका थिए ।

ट्याक्सी व्यवसायी संघ भन्छः ट्याक्सी ड्राइभर कुटिएका हुन्

ट्याक्सी व्यवसायी संघले भने पठाओ चालकबाट ट्याक्सी चालक कुटिएको दावी गरेको छ । पठाओ राइडरले यात्रु ओसारेर गैरकानूनी काम गरिरहेको पनि संघको गुनासो छ ।

यातायात व्यवसायी राष्ट्रिय महासंघ अन्तरगतको ट्याक्सी व्यवसायी संघका केन्द्रिय सदस्य अर्जुन गौतम भन्छन्, ‘हामीले कहाँ कुटेका छौ ? उनीहरुले बरु हामीलाई कुटेको हो । दोहोरो भिडन्तमा को–को कुटिन्छ–कुटिन्छ ।’

ज्याकेट लगाउन रोक

बुधबारदेखि पठाओले आफ्ना राइडरलाई ज्याकेट लगाउन रोक लगाएको छ । राइडर असुरक्षित भएकोले कम्पनीले यस्तो निर्णय लिएको हो ।

आफ्ना राइडरमाथि कुटपिट भएपछि ज्याकेट लगाउन रोक लगाइएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । पठाओको लोगो वा ब्राण्ड झल्काउने कुनै पनि कपडा अर्को सूचना नआएसम्म प्रयोग नगर्न सम्पूर्ण राइडरलाई कम्पनीले विज्ञप्तिमार्फत आग्रह गरेको छ ।

राइड भने निर्वाध सञ्चालन हुने कम्पनीका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले बताएका छन् । ज्याकेट लगाएको खण्डमा प्रशासनबाट कारबाही भएमा त्यसमा कम्पनी जिम्मेवार नहुने विज्ञप्तिमा उल्लेख छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले पठाओ राइडरलाई ज्याकेट लगाएर सवारी चलाए कारबाही गर्ने तयारी गरेको छ । महाशाखाका प्रवक्ता प्रहरी उपरिक्षक (एसपी) श्याम कृष्ण अधिकारीले पठाओलाई रोक लगाउन नभइ व्यवस्थित गर्न छलफल भइरहेको बताए ।

उनले नेपाल प्रेससँग भने, ‘हामीले बन्द गर्न लागेको भन्ने हल्ला गलत हो । मैले अहिलेसम्म कसैलाई त्यस्तो भनेको छैन । मात्र पठाओलाई व्यवस्थित गर्न खोजेको मात्र हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर