१६ सय नेपालीको ज्यान गएको प्रसंगमा एमनेस्टी इन्टरनेसनलले लेख्यो फिफालाई पत्र – Nepal Press

१६ सय नेपालीको ज्यान गएको प्रसंगमा एमनेस्टी इन्टरनेसनलले लेख्यो फिफालाई पत्र

काठमाडौं । १६ सयभन्दा बढी नेपाली कामदारको ज्यान जाने गरि निर्माण भैरहेको कतारको विश्वकप रंगशालाबारे अन्तर्राष्ट्रिय मानव अधिकारवादी संगठन एमनेष्टी इन्टरनेसनलले चासो व्यक्त गरेको छ ।

उक्त संगठनले विश्व फुटबलको सर्वोच्च निकाय फिफालाई पत्र लेख्दै रंगशाला निर्माणमा भैरहेको विदेशी कामदारको श्रम शोषण अन्त्य गर्न आग्रह गरेको छ ।

फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई पत्र लेख्दै एमनेस्टी इन्टरनेसनलले कामदारमाथिको शोषणलाई रोक्नको लागि श्रम नीतिको पुनर्संरचना गर्न सार्वजनिक वा नीजिरुपमै कतारलाई दबाब दिनुपर्ने पहल फिफाले लिनुपर्ने आग्रह गरेको हो ।

सन् २०२२ को नोभेम्बरमा विश्वकप फुटबल आयोजना गर्ने तालिका छ । गत महिना बेलायती अखबार द गार्जियनले एक प्रतिवेदन प्रस्तुत गर्दै १,६४१ नेपालीसहित ६५ सय विदेशी कामदारले रंगशाला बनाउने क्रममा ज्यान गुमाएको उल्लेख गर्दै श्रम शोषण भैरहेको खुलासा गरेको थियो ।

रंगशाला निर्माण पुरा हुञ्जेलसम्म अझै हजारौंको ज्यान जान सक्ने डरलाग्दो चित्र पनि गार्जियनले प्रस्तुत गरेको थियो । साथै, उक्त प्रतिवेदनमा दक्षिण एसियाली मुलुकका १२ कामदारले प्रत्येक साता ज्यान गुमाउने गरेको पनि उल्लेख थियो ।

एमनेष्टी इन्टरनेसनलका आर्थिक तथा सामाजिक विभागका प्रमुख स्टिभ ककबनले फुटबल टुर्नामेन्ट आयोजनालाई लिएर हुनसक्ने मानवअधिकार उल्लंघनका मुद्दालाई फिफाले अन्तर्राष्ट्रिय नियमको परिधिमा ल्याउनुपर्ने बताए । ‘यो समस्या प्रतियोगितालाई लिएर हुने आतिथ्य र यातायात क्षेत्रका कामदारमा पनि लागु हुनसक्छ’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर