विभेदको पराकाष्ठा : जातकै आधारमा सांसद र विद्यार्थीलाई दिइँदैन कोठा – Nepal Press

विभेदको पराकाष्ठा : जातकै आधारमा सांसद र विद्यार्थीलाई दिइँदैन कोठा

कैलाली । आइतबार दिउँसो १ बजे बस्ने सुदूरपश्चिम प्रदेशसभाको बैठकमा सहभागी हुन प्रदेशसभा सदस्य उमा बादी ९ बजे घरबाट हिँडिन् ।

उनको घरबाट प्रदेशसभासम्मको दूरी करिब १ सय किलोमिटर छ । उमाको घर बादीको बसोबास कैलालीको पूर्वी क्षेत्र टीकापुर हो ।

धनगढीमा कोठा नपाएपछि उनी प्रत्येक पटक बैठकमा सहभागी हुन ३ घण्टा बढी सार्वजनिक यातायातमा यात्रा तय गर्न बाध्य छिन् ।

प्रदेशसभा सदस्य भइसकेपछि उनले धनगढीमै कोठा नखोजेकी भने होइनन् । तर, बादी समुदायको भन्दै उनलाई कसैले कोठा दिएनन् ।

प्रदेश सांसद उमा बादी ।

‘शुरूमा कोठाको पक्का-पक्की हुन्छ पछि थर थाहा पाएपछि अनेकौँ बहाना गर्छन्’ उनले नेपाल प्रेससँग भनिन् ‘धनगढीमा कोठा खोज्दा-खोज्दै हैरान भइसकेँ ।’

कोठाका लागि तत्काल स्वीकार गरे पनि घरभेटीले पछि फोन गरेर २/४ महिनाको लागि दिन नसकिने भन्दै टार्ने गरेको उमाले बताइन् ।

‘प्रदेशसभा सदस्य भन्ने थाहा पाउँदा घरमा बस्न आग्रह गर्नेहरूले पनि पछि दलित भन्ने थाहा पाउँदा बहाना बनाएर कोठा नभएको बताउन्’ उनले भनिन्, ‘कयौँ ठाउँमा कोठा नपाएपछि अहिले म घरबाटै गइरहेको छु ।’

उमा बादीलाई मात्रै होइन प्रदेशसभा सदस्य अर्चना गहतराजले पनि यस्तै समस्या सुनाइन् । डोटीबाट धनगढी पुगेकी सांसद गहतराजले पनि सजिलै कोठा पाइनन् । अहिले उनी आफन्तको घरमा बसिरहेकी छन् ।

‘शुरूमा हुन्छ भन्थे । पछि जात थाहा पाउँदा अरु नै बहाना बनाएर दिएनन् । त्यसपछि रानाको घरमा बसे अहिले आफन्तको घरमा बसिरहेको छु ’, अर्चनाले भनिन् ।

नेपालमा छुवाछुत र जातीय विभेद कानूनीरूमै दण्डनीय छ । तर, दिनदिनै समाजमा भइरहेका जातीय विभेदका घटनाले व्यवहारमा यसको ग्राफ उक्लँदो क्रममा छ ।

शैक्षिक तथा व्यापारिक हव धनगढीमा अध्ययन, पेशा व्यवसायका लागि भाडामा बस्नुपर्दा धेरैले यस्तै पीर खेप्छन् ।

३ वर्ष पहिलो काठमाडौँबाट धनगढी फर्किएका मिलन परियारले १ वर्ष सम्म कोठा नपाएको गुनासो गर्दै भने , ‘१ वर्षसम्म म कोठाको लागि भौँतारिए ।’

सञ्चारकर्मीसमेत रहेका उनले आफूले कोठा नपाएको मात्रै होइन बसिसकेपछि पनि जात थाहा पाएपछि निकालिएको बताए ।

‘जात लुकाएर बस्नु छैन त्यही भएर कोठा खोज्दा मेरो पहिचान बताउनु भनेको थिएन’ उनले भने, ‘शुरूमा बस्न दिए पछि जात थाहा पाएपछि घर धनीले अब हुँदैन भन्दै कोठा छोड्न दबाब दिए ।’

अहिले चौधरी समुदायमा गएर बसेका मिलन भन्छन्, ‘‘चौधरी समुदायमा विभेद हुँदैन भन्ने थाहा पाएर अहिले त्यही बसेको छु । वरिपरिका अन्य व्यक्तिहरूले भने मलाई हटाउन दबाब दिइरहेका छन् ।’

कयौँ दलित समुदायका व्यक्तिहरूले कोठा नपाउने समस्या सुनाउने गरेका पूर्व संविधानसभा सदस्य हरि श्रृपाइली बताउँछन् ।

कैलाली बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने धेरै दलित विद्यार्थीहरू यो समस्याबाट प्रताडित रहेको उनको भनाइ छ ।

‘धेरै विद्यार्थी मेरो घरमा आउनु हुन्छ ’उनले भने‘ उहाँहरूले अरू ठाउँमा जात भनेपछि कोठा नदिएको बताउनुहुन्छ । ’

‘हामीलाई पनि कोठा दिएनन् भनेर कयौँ विद्यार्थी भन्न आउनु हुन्छ’ दलित महिला अधिकार मञ्चकी अध्यक्ष सावित्रा घिमिरे भन्छिन्, ‘विद्यार्थीमात्रै होइन व्यापारी , शिक्षक सबै व्यक्ति विभेदमा छन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर