कर्णाली प्रदेश : एमालेको निर्णय कुर्दै स्थगित भयो माओवादी बैठक – Nepal Press

कर्णाली प्रदेश : एमालेको निर्णय कुर्दै स्थगित भयो माओवादी बैठक

सुर्खेत । साढे दुई वर्षपछि नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको संसदीय दल कर्णाली प्रदेशको पहिलो बैठक शुक्रबार बसेको छ ।
सदनमा १३ सदस्य रहेको संसदीय दलको पहिलो बैठकमा माओवादी केन्द्रका प्रत्यक्ष निर्वाचित ८ र समानुपातिक ४ गरी १२ जना सांस सहभागी थिए । २०७५ जेठपछि पहिलो पटक बसेको उक्त बैठकले नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको निर्णय पर्खने रणनीति अवलम्बन गरेको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको दलको बैठकमा सांसदहरूले सरकारको समीक्षाबाट भनाइ सुरु गरेका थिए । झण्डै सात घण्टा चलेको बैठकमा नेकपा एमालेको सर्मथन प्रस्ताव फिर्ता सम्बन्धमा कसरी अगाडि बढ्ने भन्नेबारे छलफल भयो । ‘नेकपा एमालेको एक पक्षले १० जना सांसदको हस्ताक्षरसहित चैत पाँच गतेदेखि लागू हुने गरी सर्मथन फिर्ता लिने निर्णय गरिसकेको छ ।

अर्को पक्षका ९ जना सांसदले यही सरकारलाई सर्मथन गर्ने निर्णय गरेकाले दलले के गर्ने भन्ने विषयमा एमालेको निर्णय पर्खेर आगामी रणनीति बनाउने योजनामा छौं । उहाँहरू एक ढिक्का भएर गएको अवस्थामा अन्य तयारी गर्ने तर अहिलेलाई एमालेको आधिकारिक निर्णय कुर्नेबारे दलमा सहमति भएको छ,’ बैठकमा सहभागी भएक सांसदले भने ।

त्यसका अलावा एमाले प्रदेश सचिव भएको सांसद धर्मराज रेग्मीका बारेमा आवश्यक निर्णय लिन केन्द्रीय समितिलाई नै जिम्मा दिने निर्णय उनले बताए ।

चैत्र पाँच गते सरकारविरुद्ध एमालेको कदमले सरकारलाई प्रभावित बनाएको छ । दलका नेता यामलाल कँडेलसहित दश जना सांसदले सर्मथन फिर्ता लिएको पत्र प्रदेश प्रमुखमार्फत मुख्यमन्त्री समक्ष आइसकेपछि णगामी रणनीति कसरी गर्ने भन्ने विषयमा छलफल भएको स्रोतले बतायो ।

‘बैठकमा मुख्यमन्त्रीले परिवर्तित राजनीतिक परिस्थिति र दलले खेल्नुपर्ने भूमिकाबारे निर्देशन गर्नुको साथै सहभागी माननीयहरूले आ–आफ्नो धारणा राख्नुभयो,’ प्रमुख सचेतक सीता नेपालीले भनिन् ।

दलको विधान संशोधनको मस्यौदा तयारी गर्न प्रमुख सचेतक नेपालीको संयोजकत्वमा गणेश प्रसाद सिंह र रातो कामी सदस्य रहेको ३ सदस्यीय समिति निर्माण गरिएको छ । शुक्रबारदेखि शुरू भएको दलको बैठक केही दिनका लागि स्थगित गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर