स्थानीय तहका बैंक खाता व्यवस्थापन गर्न सरकारको निर्देशन – Nepal Press

स्थानीय तहका बैंक खाता व्यवस्थापन गर्न सरकारको निर्देशन

काठमाडौं । सरकारले स्थानीय तहका लागि खोलिने ग समूहको खाता व्यवस्थापन गर्न ७७ वटै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयलाई निर्देशन दिएको छ । स्थानीय तहको ग समूहको खाता सञ्चालन गर्दा संचित कोष लगायका सम्पुर्ण खाता एउटा मात्र बैंकमा हुनुपर्नेमा कतिपय स्थानीय तहको खाता एक भन्दा बढी बैंकमा खोलिएका महालेखा नियन्त्रकको कार्यालयले जनाएको हो ।

पछिल्लो पटक सहमती प्रदान भएका बैंकमा मात्र खाता सञ्चालन हुने गरी साविकको बैंकमा भएका खाता बन्द गर्न परिपत्र गरिएको कार्यालयका प्रवक्ता समेत रहेका सहसचिव ज्ञानेन्द्र पौडेलले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार स्थानीय तहले ग समूहको खाताको माध्यमबाट मात्र खाता सञ्चालन गरी कारोवार गर्नुपर्नेमा सहकारी संस्थामा समेत खाता खोली ग समूहको खाताबाट एकमुष्ट रुपमा सहकारीको खातामा रकम जम्मा गरी त्यसमार्फत कारोवार गरिरहेका छन् । यसरी सहकारी मार्फत कारोवार भएको भए बन्द गर्ने व्यवस्था मिलाउन पनि कार्यालयले परिपत्रमार्फत भनेको पौडेलले बताए ।

कार्यालयले स्थानीय तहले ग समुहको खाता सञ्चालन गर्दा ग समुहको खाताबाट आइपीएसमार्फत रकम ट्रान्सफर समेत गर्ने गरेको पाइएको भन्दै यस कार्यलाई रोक्न पनि निर्देशन दिएको छ ।

विगतमा नयाँ खाता खोलिएका बैंकमा रकम ट्रान्सफर भइसके पनि साविकको बैंकमा रहेका खाता बन्द भएको नदेखिएकाले बन्द भए नभएको कोष तथा लेखा नियन्त्रक कार्यालयलाई अनुगमन समेत गर्न महालेखा नियन्त्रकको कार्यालयले निर्देशक दिएको छ ।

स्थानीय तहको ग समुहका खाता रहेको बैंक परिवर्तन भएमा यसरी परिवर्तन भएको बैंकमा जुन परिवर्तन भएको बैंक हो त्यसैबाट काम गर्न पनि परिपत्रमार्फत निर्देशन दिएको कार्यालयले जानकारी गराएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर