पोखरा पुगेर गगन थापाको प्रश्न- विद्या भट्टराई कुन पार्टीको सांसद ? – Nepal Press

पोखरा पुगेर गगन थापाको प्रश्न- विद्या भट्टराई कुन पार्टीको सांसद ?

'नेकपा पार्टी मरिसक्यो, उपनिर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई मान्न सकिँदैन’

पोखरा । नेपाली कांग्रेसका नेता गगन थापाले कास्की क्षेत्र नम्बर २ की प्रतिनिधिसभा सदस्य विद्या भट्टराईको पदको वैधानिकतामाथि प्रश्न उठाएका छन् ।

उनले सर्वोच्च अदालतको फैसलाबाट नेकपा मरिसकेकाले हुनाले विद्या भट्टराईलगायत उपचुनावबाट निर्वाचित जनप्रतिनिधिलाई मान्न नसकिने बताए ।

बहालवाला मन्त्री रहेकै बेला पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हवाई दुर्घटनामा मृत्यु भएपछि कास्की २ खाली भयो । तत्कालीन समय नेकपा एमालेबाट विजयी भएका स्व. अधिकारीको निधनको समय एमाले र माओवादीबीच एकता भएर नेपाल कम्युनिष्‍ट पार्टी ‘नेकपा’ भइसकेको थियो ।

अधिकारीको निधनपछि रिक्त बनेको कास्की २ मा उनकै श्रीमती विद्या भट्टराई तत्कालीन नेकपाबाटै चुनाव लडिन् । उनी सूर्य चिन्हबाटै गत मंसिर १४ मा भएको उपनिर्वाचनमा विजयी भएकी थिइन् । उनलाई केपी ओलीको एकल हस्ताक्षरमै टिकट दिइएको थियो ।

नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ गण्डकीको शुक्रबार पोखरामा भएको दोस्रो अधिवेशनमा सांसद थापाले नेकपा मरिसकेकाले त्यसबाट निर्वाचित जनप्रतिनिधि पद पनि खारेज हुनुपर्ने माग राखे । उनले कास्की २ बाट निर्वाचित विद्या भट्टराईलगायतकलाई सांसद पनि मान्न नसकिने बताए ।

‘कास्कीमा आएर आज मेरो प्रश्न छ- नेपाल कम्युनिस्ट पार्टी सकियो । कोही एमालेतिर फर्कनुभो । कोही माओवादीतिर फर्कनु भो । कास्की २ बाट जितेको सांसद कुन पार्टीको ? एमाले कि माओवादीको ? उहाँहरू भन्नुहुन्छ छान्न पाउँनुहुन्छ । अहँ हिजो मत नेपाल कम्युनिष्ट पार्टीले पाएको हो,’ सांसद थापाले भने ।

नेकपाबाट निर्वाचित सांसदले आफू नेकपा एमालेको या माओवादी केन्द्रको भन्ने छान्न पाउने कुरा उठिरहेकाले त्यसमा पनि विरोध गरे । मतदाताले नेकपालाई जिताएकाले फेरि जनताले नै छान्न पाउनुपर्ने उनको भनाइ छ ।

‘पद के हुने भन्ने त्यो निर्वाचित जनप्रतिनिधिले छान्ने होइन, यहाँका जनताले छान्न पाउँनुपर्छ । नेपाल कम्युनिष्‍ट पार्टीको नाममा निर्वाचनबाट आएको जनप्रतिनिधिलाई जनप्रतिनिधि मान्न सकिँदैन । किनकी त्यो पार्टी नै छैन अब,’ सांसद थापाले भने, ‘उहाँहरू कुन पार्टीको ? उहाँहरुले छान्न पाउने, नागरिकले छान्न नपाउने ? जनताले छान्न नपाउने ? मतदाताले छान्न नपाउने ? कास्केली मतदाताले त नेपाल कम्युनिष्ट पार्टीलाई मत दिएको हो नि त ! एमालेलाई, माओवादीलाई दिएको होइन ।’

सांसद थापाले पार्टी नै मरिसकेपछि त्यसबाट निर्वाचित जनप्रतिनिधिलाई पनि बिदा गर्नुपर्ने माग राखे ।

‘नेकपाबाट निर्वाचित सांसद वडाध्यक्षहरू उपनिर्वाचनमा निर्वाचित बागलुङको, दाङको जति पनि हुनुहुन्छ, नेपाल कम्युनिष्ट पार्टीबाट निर्वाचित हुनुभएको हो । त्यो मरिसक्यो । छँदै छैन । पार्टी मरेपछि त्यसको जनप्रतिनिधि रहँदैन,’ उनले भने, ‘उपनिर्वाचनबाट जनप्रतिनिधिलाई बिदा गर्नुपर्छ ।’

थापाले सर्वोच्चको अदालतको फैसलालाई उपनिर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले नै विरोध गर्नुपर्ने धारणा राखे । उनीहरुले नै निर्वाचनको मत परिणामलाई अस्वीकार गरेर गलत निर्णय भएको बताउनुपर्ने थापाको जिकिर छ ।


प्रतिक्रिया

2 thoughts on “पोखरा पुगेर गगन थापाको प्रश्न- विद्या भट्टराई कुन पार्टीको सांसद ?

  1. मा. गगन थापा ज्यू , भान्जा / भान्जीले नागरिकता पाउनुपर्छ र एमसिसीको पक्षमा उभिंदा म धेरै दुखी थिएँ । अब यहाँ जत्तिको नेताले मा. विध्या भट्टराईका विषयमा प्रश्न उठाउँदा मैले अनुहार छोपेँ ।

  2. सही कुरा उठाउनु भयो गगन जी, सर्बोच्चका न्यायधिसले नदेखाएको पाटो जनता सामु उजागर गरि दिनुभो ! निर्णय कर्ता को क्षमता उपर प्रश्न खडा भो ?!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर