‘कोरोना बीमा भुक्तानीमा पैसाको कुनै समस्या छैन’ – Nepal Press
नेपाल टक

‘कोरोना बीमा भुक्तानीमा पैसाको कुनै समस्या छैन’

नेपालको बीमा क्षेत्रमा अझै पनि आमनागरिकको पहुँच र आकर्षण न्यून छ । साथै बीमा कम्पनीहरूमाथि अनेक प्रश्नहरू पनि छन् ।

कोरोनाको महामारी शुरू भएपछि कोरोना बीमा योजना ल्याएका कम्पनीहरूले समयमा भुक्तानी गर्न सकिरहेका छैनन् । यसअघि पनि बीमा भुक्तानीलाई लिएर कम्पनीहरूप्रति जनगुनासो उत्तिकै थियो । बीमा कम्पनीहरूले ३ गुणा प्रतिफलको झुटो आश्वासन देखाएर जनतालाई झुक्याइएको आरोप पनि छ ।

यी यावत् विषयमा बीमा समितिका नवनियुक्त अध्यक्ष सूर्यप्रसाद सिलवालसँग नेपाल प्रेसकर्मी  पवित्रा ढकाल र  राजाराम न्यौपाने ले गरेको कुराकानी नेपाल टकमा

तपाईंले बीमा समितिमा अध्यक्षको कार्यभार समालेपछि के-कस्ता काममा आफूलाई केन्द्रित गर्नुभएको छ ?

म बीमा समितिमा आएको डेढ महिनामात्रै भयो । यहाँभित्रका समस्या तथा सम्भावनाका पक्षहरूलाई बुझ्ने कोसिस गरिरहेको छु । साथै कर्मचारीलाई कसरी अधिकतम परिचालन गर्न सकिन्छ भन्नेमा पनि अध्ययन गरिरहेको छु ।

बीमा ऐनले समितिलाई धेरै अधिकार दिएको छ । ती अधिकारलाई हामीले कसरी पूर्णता दिने भन्नेमा मेरो ध्यान छ । म आएपछि उधारो बीमा र बीमा पोलिसी राखेर बैंकबाट ऋण लिने प्रक्रियालाई नियन्त्रण गर्ने काम अगाडि बढाइसकेको छु ।

बीमा कम्पनीहरूमा धेरै विकृति र समस्याहरू छन् । यसलाई कसरी हेर्नुभएको छ ?

बीमा क्षेत्रमा विकृति नभएका होइनन् । बीमामा भएका विकृति र नराम्रा गतिविधिहरूको निराकरण गर्नैपर्छ ।

जुन उद्देश्यले बीमा कम्पनी स्थापना भएका हुन् त्यसैअनुरूप काम गर्नुपर्ने हुन्छ । यदि केही कारणले काम गर्नसकेका छैनन् भने त्यसको पनि अध्ययन गरेर समस्या समाधान गर्नुपर्ने हुन्छ । यसै विषयमा अहिले छलफल गरिरहेका छौं ।

कानूनको मर्मविपरीत कसैले काम गरेको छ भने त्यस्ता कम्पनीलाई शुरूमा चेतावनी दिने हो । त्यसपछि पनि मानेन भने उसलाई कारबाही नै गर्ने हो ।

सरकारको मातहतमा रहेका विभिन्न कार्यालयहरू डिजिटल प्रणालीमा गइसके । बीमा समितिमा भने अझै बीमा कम्पनीहरू फाइल बोकेरै आउनुपर्छ । बीमा समितिले आफूलाई डिजिटलाइज गराउने समय आएन र ?

हामीले पनि बीमा कम्पनी तथा बीमा समितिलाई डिजिटल प्रणालीमा लैजाने काम शुरू गरिसकेका छौं । अहिले ‘मेनुअल सिस्टम’ मा छ । अबको तीन महिनाभित्र बीमा कम्पनी पनि डिजिटल प्रणालीमा जाने छ ।

हामी डिजिटल प्रणालीमा गएपछि कागजबाट गर्दै आएका कामहरू कम्प्युटरबाट हुने छन् । यसले बीमा समिति र बीमा कम्पनी दुवैलाई सहजता मिल्ने छ । डिजिटल प्रणाली शुरू भएपछि बीमा सम्बन्धि कुनै पनि कामका लागि कम्पनी धाइरहनु पर्दैन । कम्पनीले पनि बीमाको तथ्याङ्क लेखेर बीमा समिति पठाउनु पर्दैन । सबै बीमा कम्पनीले आफ्नो तथ्याङ्क आफ्नो वेबसाइटमा नै राख्ने छन् ।

पेपरलेस प्रणालीले बीमा समितिमा भएको फाइलको चाङलाई पनि नियन्त्रण गर्ने छ । डाटाको सुरक्षा पनि हुन्छ । हामीले त्यही डाटालाई आधार बनाएर धेरै काम गर्न सक्छौं ।

पेपरलेस बीमा समितिले मात्रै बुझेर हुँदैन । समितिले कम्पनीहरूलाई पनि बुझाउनु पर्छ । कम्पनीहरूले सबै डाटा डिजिटल माध्यममा राखेपछि सबैलाई जानकारी लिनका लागि सजिलो पनि हुने छ ।

तपाईले बीमा क्षेत्रमा विकृति र विसंगतीहरू के-के छन् अध्ययन गरिरहेका छौँ भन्नुभयो । कस्ता विकृति पाउनु भएका छ ?

बीमा क्षेत्रमा कस्ता-कस्ता विकृति छन्, त्यो त हामीभन्दा धेरै पत्रकारलाई नै थाहा छ । तपाईंहरूले नै बीमा क्षेत्रका विकृतिका बारेमा लेखिरहनु भएको छ । हामीले सबै माध्यमको प्रयोग गरेर यस विषयमा बुझिरहेका छौं । अहिले अध्ययनको चरणमा नै छौं । बीमा समितिले थाहा पाएका कतिपय कुरामा त हामीले हस्तक्षेप नै गरिसकेका छौं । त्यस्ता कुराहरू नगर र त्यसलाई तत्कालै रोक भनेका छौं । के गरिरहेका छन् भनेर पनि हामीले हेरिरहेका छौं ।

अझै पनि धेरै मानिस बीमाको पहुँचभन्दा बाहिर छन् । यसलाई बढाउन र सचेतना वृद्धिका लागि के-के गर्ने योजना छ ?

अहिले बीमाको पहुँच सर्वसाधारणमा कम नै छ । हाल नेपालमा बीमाको पहुँच करिब ३० प्रतिशत सर्वसाधारणको पहुँचमा मात्रै छ । यसका लागि बीमा कम्पनीहरूले पोलिसी निर्माण गर्ने हो । काठमाडौंमा केन्द्रित भएर बीमाको पहुँच वृद्धि हुँदैन । बीमालाई व्यापक बनाउनु पर्छ । वास्तवमा धेरैभन्दा धेरै मानिसलाई बीमाको बारेमा शिक्षा दिन अवाश्यक रहेको छ । बीमाको विषयमा ज्ञान वृद्धि गरेर सबैले बीमा गर्ने वातावरण निर्माण गर्न आवश्यक छ ।

बीमाको विषयमा देशैभर ज्ञान छर्नका लागि बीमा समितिले के सहयोग गर्नु पर्ने हो त्यो गर्छै नै । अर्कोतिर नेपालमा बीमाको पहुँच बढाउनलाई पोलिसी पनि कम नै छ ।

हामीले पनि बीमा कम्पनी तथा बीमा समितिलाई डिजिटल प्रणालीमा लैजाने काम शुरू गरिसकेका छौं । अहिले ‘मेनुअल सिस्टम’ मा छ । अबको तीन महिनाभित्र बीमा कम्पनी पनि डिजिटल प्रणालीमा जाने छ ।

बीमा समितिले धेरैभन्दा धेरै वित्तीय पुहँच सर्वसाधरणमा पुर्‍याउनका लागि केही कार्यक्रमहरू ड्राफ्ट गरेर राखेको छ । ड्राफ्ट भएर बसेका कार्याक्रमहरू पनि विस्तारै-विस्तारै ल्याउनु पर्छ । गाउँपालिकासम्म नै बीमाको बारेमा जानकारी दिन सके बीमाको बजार वृद्धि भएर जान्छ ।

नयाँ बन्दै गरेको ड्राफ्टमा के-के समेटिएका छन् ?

बीमाको शिक्षा दिने र बीमा के हो भन्ने कुरा बुझाउने हो । बीमालाई सर्वसाधारणसम्म कसरी पुर्‍याउन सकिन्छ, बीमा गर्न कहाँ जाने, बीमा गर्दा के-के फाइदा हुन्छ भन्ने कुराहरू नै आउँदै गरेको ड्राफ्टमा समेटिने छन् ।

बीमा गर्न जति सजिलो छ त्यसको भुक्तानी पाउन त्यति नै झन्झट छ । यसको पुष्टि कोरोना बीमाले पनि गरिसकेको छ । यसलाई बीमा समितिले कसरी हेरेको छ ?

अहिले कोरोना बीमाको भुक्तानी राम्रै गतिमा भइरहेको छ । कतिपय ठाउँमा बीमाको भुक्तानीमा चित्त नबुझेर पुन विवाद हुन्छ । बीमाको पोलिसी र भुक्तानी गर्ने डेट नमिलेर पनि समस्या हुन्छ । बीमा पोलिसी भनेको त दुई पक्षले गरेको सम्झौता हो । दुई पक्षले गरेको सम्झौतामा केही सानो कुरा मिलेन भने पनि बीमा दाबीमा समस्या आउँछ ।

बीमा भुक्तानीमा आएका समस्याहरूको मुद्दा पनि हामीले हेरिरहेका छौं । समस्या भएर आएका मुद्दाहरू पनि हामीले सहज बनाएर पठाउने गरेका छौं । कतिपय मुद्दाहरूमा हामीले दुबै पक्षलाई मेलमिलाप गराएर पनि पठाएका छौं ।

बीमा भुक्तानीमा समस्या भनेको एक प्रतिशत जति मात्रै हो । बजारमा लाखौंको बीमा भएको हुन्छ । केही भुक्तानीमा भने समस्या आउने गरेका छन् ।

हामीले मिलाएर पठाएका विषयहरू पनि पछि के भयो भनेर बुझ्ने गरेका छौं । हामीले मिलाएर पठाएपछि पनि चित्त बुझेन भने पुनरावेदन अदालत जाने हो । त्यसरी पनि गएका केही मुद्दाहरू छन् ।

कोरोना बीमाको भुक्तानी लिन आउँदा आफ्ना कागजपत्र सबै मिलाएर आउनु पर्छ । स्वास्थ्य मन्त्रालयले बनाएको नियमानुसार कागजपत्र हुनुपर्छ ।

कोरोना बीमाको भुक्तानीको लागि बीचमा कहीँ अलमल पनि भएकै हो । म यहाँ आएपछि कोरोना बीमा समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको छु । अहिले बीमा भुक्तानीको समस्या निकै नै घटेर आएको छ । अहिले भुक्तानीमा पैसाको कुनै समस्या छैन ।

म आएपछि नै बीमा समितिले एक अर्ब रूपैयाँ र नेपाल पुनर्बीमा कम्पनीले एक अर्ब रूपैयाँ बीमा कम्पनीमा पठाइसकेका छौं । कागजात मिलाएर आएका बीमितको भुक्तानी दू्रत गतिमा गर्नु पर्‍यो भन्दै बीमा कम्पनीलाई पनि भनेका छौ । उहाँहरूले पनि त्यसै अनुरूप काम गरिरहनु भएको छ ।

तर, प्रमाणीकरणको झण्झटले पनि कोरोना बीमा भुक्तानी ढिलाइ भइरहेको छ । कोरोना बीमा सरकारको पोलिसी पनि भएकाले यो विश्वसनीय बनाउनु नै पर्छ ।

कोरोना बीमालेख विक्री गरेपछि बीमा कम्पनीले भुक्तानी समयमा नगर्नु त बदमासी भएन ?

बीमाको लेख बिक्री गरेपछि कम्पनीले बीमाको भुक्तानी दिन्न भन्न पाउँदैन र अनावश्यक रूपमा ढिलाइ पनि गर्नु हुँदैन । यो कोरोना बीमाको कुरा गर्नु हुन्छ भने त यसमा कम्पनीले भुक्तानी गर्ने रकम सरकारकै हो । यसले गर्दा यसले कम्पनीका लागि दायित्व नै छैन ।

सायद मैले अघि नै भनिसकेँ, झण्झटिलो प्रक्रियाका कारण यसको भुक्तानीमा ढिलाइ भएको होला । कोरोना बीमाले त हामीलाई धेरै कुरा सिकाएको छ । भोलीका दिनमा कसरी यस्ता महामारीमा बीमा गर्ने, अथवा प्राकृतिक प्रकोपले निम्त्याएको विपत्तिमा कसरी अगाडि बढ्ने भन्ने कुरा पनि सुझाएको छ ।

तपाईं लामो समय प्रशासन क्षेत्रमा काम गरेर अवकाश पाउनु भएको व्यक्तिले किन बीमा समिति रोज्नु भयो ?

मैले बीमा समिति रोजेको हैन । सरकारले नै मलाई यहाँ पठाएको हो । मलाई सरकारले बीमा समितिमा केही सुधार गर्न सक्छ भनेर पठाएको हुनुपर्छ । मेरो रोजाइ भने यो हैन ।

वाणिज्य बैंक जस्तै बीमा कम्पनीमा पनि मर्जरको विषय उठेको छ नि ?

मैले बीमा कम्पनी मर्जरको विषयमा केही बुझेको छैन । अहिले बीमा कम्पनी मर्जमा गइहाल्नु पर्ने समय भएको छ जस्तो लाग्दैन मलाई । कम्पनी बलियो नहुँदै मर्जमा जानुपर्छ भन्ने जरुरी छैन ।

बजारमा कुन बीमा कम्पनीले कसरी काम गरिरहेको छ । केही कम्पनी जसको पूँजी कम छ वा समस्यामा छन् भने मात्र मर्जमा जाउँ भन्न सकिन्छ । त्यस्ता कम्पनीलाई मर्जमा लानुको विकल्प हुँदैन । तर अहिले मर्जमा जाने समय भएको छैन् ।

बीमाको क्षेत्रमा पूर्वाधार, बजार, क्षमता र विज्ञता कस्तो देख्नु भएको छ ?

बीमाको बजारको कुरा गर्दा यसको अपार सम्भावना रहेको क्षेत्र हो । बीमाभित्र सबै कुरा पर्छन् । वास्तवमा बीमाको क्षेत्रभन्दा बाहिर कुनै चिज पनि छैन भन्दा फरक पर्दैन । हामीले अहिले सहर केन्द्रित विशेषगरि काठमाडौंमा मात्रै बीमा गरेका छौं । बीमाको बजार भनेको काठमाडौं मात्रै होइन ।

बीमालाई काठमाडौंभन्दा बाहिर गाउँ-गाउँसम्म पुर्‍याउँदा यसको क्षेत्र फराकिलो हुन्छ । बीमा भनेको सबै कुरासँग जोडिएको हुन्छ । बीमा भनेको व्यक्तिको स्वास्थ्य, सम्पत्ती, व्यक्तित्व र शिक्षालगायतका विषयसँग जोडिएको हुन्छ । बीमालाई व्यापक बनाउदा यसले आर्थिक क्षेत्रलाई पनि सहयोग गर्दछ ।

बीमा कम्पनीले बीमा गराउने क्रममा झुटो आश्वासन बाँड्ने गरेको जनगुनासो पनि पाइन्छ । यसलाई कसरी सम्वोधन गर्नुहुन्छ ?

हामीले बीमा कम्पनीलाई नागरिकमा गएर झुटो आश्वासन नबाँड्न भनिरहेका छौं । जस्तो एक सय रूपैयाँको बीमा गरेपछि तीन सय रूपैयाँ आउँछ भनेर झुटको खेती नगर भनेका छौं । कुनै बीमा गर्दा तीन गुणासम्म रकम पाइन्छ भनेर विज्ञापन गर्ने कम्पनीको विज्ञापन पनि रोकिसकेका छौं । झुटो कुरा गरेर बीमा गर्ने नागरिकलाई ढाँट्न पाइँदैन ।

बीमाको विषयमा सबैभन्दा महत्वपूर्ण व्यक्ति भनेको अभिकर्ता हो । अभिकर्ताले कम्पनी र पोलिसी होल्डरको बीचमा समन्वयको काम गर्छ । अभिकर्ताले बीमा गर्ने व्यक्तिलाई राम्रो र नराम्रो पक्षको बारेमा बुझाउनु पर्ने हो ।

बीमा गराउने मात्र होइन, बीमा गर्ने व्यक्तिले पनि राम्रोसँग बुझेर मात्र गर्नुपर्छ । सबैभन्दा ठूलो कुरा भनेको बीमाको विषयमा जानकारी गराउने हो । बीमाले भविष्यमा राम्रो हुन्छ र यसले दीगोपन दिन्छ भन्ने कुरा हामीले नागरिकका माझमा पुर्‍याउन सकेका छैनौं ।

बीमाको विषय बुझाउनका लागि रेडियो, टिभी र अनलाइनको माध्यमबाट जानकारीमूलक कार्यक्रमहरू प्रस्तुत गर्नु पर्छ ।

हामीले बीमा कम्पनीका लागि नयाँ भवन बनाउनका लागि भवन विभागसँग सम्झौताको चरणमा छौं । केही दिनमा नै यो काम सझौता हुने छ ।

तपाईं संसद विघटन हुँदा बीमा समितिको अध्यक्षमा नियुक्त हुनुभएको थियो । अहिले संसद पुनःस्थापन भएको र सरकार फेरिने सम्भावनाका बीच आफ्नो पद कति सुरक्षित रहेको महसुस गर्नुभएको छ ?

त्यो त सरकारको कुरा हो । म बीमा समितमा आफ्नो इच्छाले आएको होइन । अब आउने सरकारले मलाई तानेर लान्छ भन्ने मलाई लाग्दैन । यदि लगिहालेमा पनि मैले के नै पो गर्न सक्छु र ?

सरकार भनेको निरन्तर चलिरहने प्रक्रिया हो । एउटा सरकारले गरेको निर्णय अर्को सरकारले उल्टाउने हो भने कुनै पनि सरकारले केही काम गर्न सक्दैन ।

त्यसैले मेरो केसमा त्यस्तो नहोला । भएछ नै भने पनि वा सरकारलाई मैले गरेको काम चित्त बुझेन भने निकालोस् । पहिले पनि म घरमा नै बसिरहेको हो । फेरि पनि केही गरौंला ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खवर