प्रदूषण रोक्न माग गर्दै घोराही सिमेन्टविरुद्ध मुद्दा दायर – Nepal Press

प्रदूषण रोक्न माग गर्दै घोराही सिमेन्टविरुद्ध मुद्दा दायर

तुलसीपुर । दाङको घोराहीस्थित सगरमाथा सिमेन्ट उद्योगविरुद्ध उच्च अदालत तुलसीपुरमा मुद्दा दायर भएको छ ।

स्थानीयबासी, अधिकारकर्मी, कानून व्यवसायीसहित २१ जनाले उद्योगको प्रदूषण रोक्न वा मानव बस्तीभन्दा बाहिर उद्योग सार्न माग गर्दै मुद्दा दायर गरेका हुन् ।

उद्योगबाट निस्कने धुलो, धुँवा र ध्वनीले स्थानीयको जीवनमा असर पारेको भन्दै परमादेश मागसहित रिट दर्ता गराइएको हो ।

रिट दायर गर्नेहरूमा घोराही उपमहानगरपालिका- ३ र ४ का स्थानीयवासीहरू भरत देवकोटा, वसन्तकुमार घिमिरे, दिलबहादुर घर्ती, शरद घिमिरे, जानका घर्ती, माधव सुवेदी, तारा आचार्य, महिला अधिकारकर्मी हुमा डिसी, साजिदा सिद्धिकी, अधिकारकर्मी विनोद केसी, वरिष्ठ अधिवक्ता कुमार श्रेष्ठ, अधिवक्ता मौसम आचार्यलगायतका छन् ।

उद्योगविरुद्ध रिट हाल्नेहरु खाद्य अधिकार सञ्जाल, फियान नेपाल, इन्सेक, एफडब्लू एलइडी, आइएस आरसी, उच्च अदालत बार एसोसियसन नेपालगञ्जमा आवद्ध व्यक्तिहरू हुन् ।

रिटमा बस्ती बीचमा स्थापना गरिएको उद्योगका कारण पानीको सतह सुक्दै जाँदा उत्पादन घटेको, खेतबारी र घरहरूमा सिमेन्ट मात्रै जम्मा हुने गरेको, ध्वनी प्रदूषणले दैनिक जीवन कष्टकर बनेको उल्लेख गरिएको छ ।

कृषि र स्वास्थ्यसम्बद्ध निकायले पनि मानव बस्ती बीचको सिमेन्ट उद्योगका कारण कृषि र मानव स्वास्थ्यमा प्रभाव परेको रिपोर्ट सार्वजनिक गरेका थिए ।

रिट उपर शुक्रवार नै बहस पैरवी गरिने उच्च अदालतका सूचना अधिकारी भूपाल भण्डारीले जानकारी दिए ।

दाङको घोराहीमा सगरमाथा, तुलसीपुरमा सोना र लमहीमा सम्राट सिमेन्ट उद्योगहरू सञ्चालनमा छन् । तीनमध्ये सबैभन्दा ठूलो सिमेन्ट उद्योग सगरमाथा हो ।

सगरमाथा सिमेन्ट उद्योगले दैनिक २ हजार टन सिमेन्ट उत्पादन गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर