पेरिसडाँडाबाट छुट्टिँदाकै ‘लाइन’ मा नेपाल पक्षको भेला – Nepal Press

पेरिसडाँडाबाट छुट्टिँदाकै ‘लाइन’ मा नेपाल पक्षको भेला

नेकपा देशी-विदेशी शक्तिले फुटाएको ठहर, माओवादीसहितको वामपन्थी एकतामा जोड

काठमाडौं । सर्वोच्च अदालतले २३ फागुनमा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई ब्युँताइदिएपछि त्ससको भोलिपल्ट पेरिसडाँडामा नेकपाको अन्तिम बैठक बस्यो ।

‘केपी प्रवृत्ति’ विरुद्ध संघर्ष गर्ने र थप बलियो हुने भन्दै माधव नेपाल पक्ष मुल घर एमालेमै फर्कने निर्णय गरेर पेरिसडाँडाबाट बिदाइ भएको थियो । त्यसलगत्तै बसेको नेपाल पक्षको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकले आफू पक्षीय कार्यकर्ताको ‘मुड’ बुझ्ने मनसायका साथ दुई दिने राष्ट्रिय कार्यकर्ता भेला बोलाउने निधो गर्‍यो ।

४ र ५ चैतमा ललितपुरको सानेपास्थित हेरिटेज ब्यांन्केटमा चलेको दुई दिने कार्यकर्ता भेला पनि ११ दिनअघि पेरिसडाँडाबाट छुट्टिनुअघिकै निर्णयलाई निरन्तरता दिने निचोडमा पुगेको छ । पार्टी विभाजनतर्फ जान नहुने र हाललाई पार्टीभित्रै रहेर संघर्ष गर्नुपर्ने भेलामा सहभागी अधिकांश कार्यकर्ताबाट सुझाव पाएपछि नेपाल पक्ष पेरिसडाँडाबाट छुट्टिँदा गरेको निर्णयकै अडानमा पुगेको हो ।

अबका सम्पूर्ण गतिविधिलाई अन्तरसंघर्षका रूपमा अर्थ्याउँदै नेपाल पक्षले पार्टी अध्यक्ष केपी ओलीविरुद्ध ‘भण्डाफोर अभियान’ चलाउने नीति तय गरेको छ । ‘हाम्रो मूल गतिविधिको चरित्र अन्तरसंघर्ष नै हुनेछ,’ भेलाको अन्तिमतिर आगामी कार्यदिशाबारे कार्यकर्तालाई प्रष्ट्याउँदै उपमहासचिव घनश्याम भुसालले भनेका थिए, ‘त्यो भनेको नवौं महाधिवेशनको सैद्धान्तिक कार्यदिशा, त्यसको विधि विधानलाई हामीले स्थापित गरेर जाने हो । त्यो भनेको २०७५ साल जेठ २ गतेको अवस्थामा जाने हो । कुरा प्रष्ट छ ।’

सहभागीको १० वटा समूह बनाई दुई दिनसम्म आएका सुझाव र प्रश्नको जवाफ दिने क्रममा नेता माधव नेपालले आफूहरुले एमाले-माओवादी एकीकरणअघि २०७५ जेठ २ लाई ‘बटमलाइन’ बनाउने बताएका थिए । आगामी कार्यदिशाबारे प्रष्ट्याउँदै नेपालले अध्यक्ष ओलीविरुद्ध भण्डाफोर अभियान चलाउन कार्यकताई निर्देशन दिए । आफूहरु पार्टी विभाजनको पक्षमा नभएको भन्दै अन्तिम समयसम्म पार्टीभित्रै लड्ने उनको भनाइ थियो ।

बालुवाटार विशेष बैठकले २८ फागुनमा गरेका निर्णय पार्टीभित्र कुनै पनि हालतमा लागू हुन नदिने रणनीति नेपाल पक्षले बनाएको छ । सँगै पार्टीभित्र आफूलाई बलियो गरी उपस्थित गराउन नवौं महाधिवेशनले पारित गरेका कार्यदिशालाई पकड्ने र त्यस बेलाका सबै पार्टी कमिटी ब्युँताउने अडानमा उभिएको छ । ‘हामीले गर्ने भनेको जनसंगठनहरू र पार्टी कमिटीहरू सबैलाई जेठ २ गतेमा ब्युँताउने हो,’ भुसाल भन्छन्, ‘त्यसलाई ब्युँताएर लैजाने हो । धेरै ठाउँमा हामीले जितेका छौं । हाम्रा आधिकारिक कमिटीहरू नै छन् ।’

पार्टीभित्र बलियो मात्रै होइन, आफूहरु नै आधिकारिक हो भनेर स्थापना गर्ने लक्ष्य पनि नेपाल पक्षको छ । भुसालले भने, ‘हाम्रो समानान्तर हुँदैन । हामी सामानान्तर गर्दैनौं । उहाँ (ओली) ले अस्ति २८ गते समानान्तर गर्नुभयो । हामी समानान्तर गर्दैनौं । हामी आधिकारिक हौं ।’

सर्वोच्च अदालतले पुन:स्थापित गरेको अवस्थामा पुगेको पार्टीलाई नचलाई अगाडि बढाउन सकिए आफूहरूको अवस्था मजबुत देखेकाले नेपाल पक्षले एकतापूर्वकै अवस्थालाई जोड दिएको हो । कार्यकर्ता भेलामा त्यो संगठनमा आफूहरु बलियो भएको गणित पस्किँदै ओलीलाई तीनै कमिटीको बैठकमा आफूहरुको समाना गर्न चेतावनी दिएका थिए।

तत्कालीन एमालेको स्थायी कमिटी र पोलिटब्यूरोमा आफू बलियो भएको र केन्द्रीय कमिटीमा पनि कमजोर नभएको फेहरिस्त कार्यकर्तामाझ सुनाउँदै नेता नेपालले भनेका थिए, ‘बैठक बोलाउन हामी चुनौती दिन चाहन्छौं, त्यहाँ सामना गरौंला ।’

नेपाल पक्षको भेलाले एमालेको २०७१ साउन सम्पन्न नवौं महाधिवेशनले पारित गरेको कार्यदिशालाई बढ्ता जोड दिएको छ । उक्त महाधिवेशनले आफूहरूको कार्यक्रम पास गरेको तर नेतृत्वमा ओली आएको नेपाल पक्षको विश्लेषण छ ।

‘यो भेलाले नवौं राष्ट्रिय महाधिवेशन (२०७१ साल साउनमा सम्पन्न) ले पारित गरेको पार्टीको कार्यक्रम जनताको बहुदलीय जनवाद, त्यसको भावना र मर्मलाई रक्षा गर्दै समाजवादको दिशामा अगाडि बढ्ने कार्यदिशालाई फेरि एक पटक पुनःपुष्टि गरेको छ,’ पत्रकार सम्मेलनमार्फत भेलाका निष्कर्ष सुनाउँदै सचिव योगेश भट्टराईले भने, ‘पार्टी अध्यक्ष कमरेड केपी ओलीले त्यसलाई सहि हिसाबले पकड्न सक्नुभएको छैन ।’

नवौं महाविधेशनलाई जोड दिँदा १० औं महाधिवेशनमा आफ्नो कार्यक्रम, आफ्नै नेतृत्व भन्ने नारा अगाडि बढाएर पुनः गुमेको शक्ति पाउन सकिन्छ भन्ने बुझाइ नेपाल पक्षको रहेको देखिन्छ ।

भेलाबाट फर्किएको नेपाल पक्ष अब देशभरि पार्टीका बैठक, भेला र प्रशिक्षणमा केन्द्रित हुने देखिएको छ । भट्टराईले भनेका छन्, ‘अब हामी देशभर बैठक, भेला र प्रशिक्षण चलाउँछौँ। यो तीन/चार महिनाको हुन सक्छ । व्यापक रूपमा संगठनको परिचालन, प्रशिक्षण र कार्यकर्तालाई बुझाउने अभियान शुरू गर्छौं।’

पार्टीभित्र आफू सहज अवस्थामा पुगेपछि र पुग्नुअघि नै माओवादी केन्द्र र अन्य दलसँगको सहकार्य र एकताको ढोकालाई भने नेपाल पक्षले खुला राखेको छ । यसबारे भेलामा कार्यकर्ताबाट सुझावसमेत मागिएको थियो । ‘वर्तमान राजनीतिक परिस्थितिमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहहरुको सञ्चालनमा हामीले कस्तो भूमिका खेल्ने ?,’ भेलामा छलफलका लागि वितरित बुँदाको चौथो नम्बर बुँदामा भनिएको छ, ‘अन्य राजनीतिक दलहरू, विशेषतः नेकपा (माओवादी केन्द्र) लगायतका वामपन्थी पार्टी वा समूहहरूसँग एकता र सहकार्यको लागि के गर्नु उचित हुन्छ ?’

यसबारे कार्यकर्ताबाट सकारात्मक सुझाव आएको नेपाल पक्षको भनाइ छ । भेलाबाट पारित १७ बुँदे प्रस्तावको छैटों नम्बरमा कम्युनिष्ट एकताको आह्वान समेत गरिएको छ। नेकपा देशी विदेशी शक्तिले फुटाएको विश्लेषण गर्दै एमालेसमेत फुटाउने कोसिस भइरहेको दाबी उक्त बुँदामा गरिएको छ।

‘नेपालमा एकीकृत, सशक्त र सुदृढ कम्युनिष्ट पार्टी निर्माण गर्ने उद्देश्यका साथ गठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई षडयन्त्रमूलक किसिमले छिन्नभिन्न गरिएको कार्यबाट शिक्षा लिँदै नेकपा (एमाले) लाई समेत फुटाई नेपालको कम्युनिष्ट आन्दोलनलाई समाप्त गर्ने र नेपालको राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, अखण्डता र स्वाभिमानलाई नै कमजोर तुल्याउने देशी, विदेशी प्रतिक्रियावादीहरुको षड्यन्त्रको भर्त्सना गर्दै त्यस्तो षड्यन्त्रलाई विफल तुल्याई राष्ट्रको अस्मिता तथा कम्युनिष्ट आन्दोलनको भविष्य सुरक्षित गर्न एकता र दृढताका साथ अग्रसर हुन नेकपा (एमाले) पार्टी पंक्तिका साथै सम्पूर्ण देशभक्त तथा वामपन्थी शक्तिलाई यो भेला हार्दिक आव्हान गर्दछ, ‘राष्ट्रिय स्वाधीनता र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढिकरण, समाजवाद उन्मुख शासनप्रणालीको विकास गर्दै सामाजिक रुपान्तरण, सामाजिक न्याय तथा समृद्धिका लागि एकता र सहकार्यको मार्गमा अग्रसर हुन यो भेला सम्पूर्ण कम्युनिष्ट पार्टी र समूहहरुलाई हार्दिक आव्हान गर्दछ ।’

अन्तिममा जित आफूहरुकै हुने निष्कर्षसहित भुसाल भन्छन्, ‘केपी ओलीले त्यति गरिसके अझै पनि के को अन्तर संघर्ष ? भन्ने पनि सुझाव आएको थियो । फेरि पनि म भन्छु, हामी आवेगले होइन, विवेकले जित्ने छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर