‘माधव नेपालहरू पार्टी छाडेर गइसकेका हुन्, एमालेमा आउँदा माफी माग्नुपर्छ’

‘अब किन चुनावमा जानु ? खुरुखुरु सरकार चलाइन्छ’

प्रधानमन्त्री केपी शर्मा ओली केही समययता चरम राजनीतिक दबाबमा छन् । तर, उनको बोली र हाउभाउमा त्यो दबाब झल्किँदैन । सरकारमाथि आइपरेको संकट र पार्टीभित्रको अन्तरद्वन्द्वले ओलीलाई भित्र जति हल्लाए पनि बाहिर उनी ‘विजेता’ मुद्रामै देखिन्छन् ।

सर्वोच्चको फैसलाले ब्युँतिएको एमालेलाई एकीकृत गर्नेदेखि माओवादीसँगको गठबन्धनलाई निरन्तरता दिएर सरकार टिकाउने चुनौती यतिबेला ओलीको काँधमा छ । तर, ओलीले न सरकार टिकाउने कुरालाई अति महत्व दिएका छन्, न त पार्टी एकता जोगाउनका लागि विरोधी खेमासँग अति लचक हुने मुडमा छन् ।

प्रधानमन्त्री ओलीले पार्टी विवाद र सरकारको संकटमाथि केन्द्रित रहेर नेपाल प्रेसलाई करिब दुई घन्टा लामो अन्तरवार्ता दिए । अन्तरवार्तामा उनको प्रस्तुतिले एमाले अब एक रहन निकै कठिन रहेको छनक मिल्छ । ओलीले प्रष्टसँग भने, ‘एमालेका नाममा एमालेविरोधी गतिविधि गर्नुभन्दा छोडेर जाँदा राम्रो हुन्छ ।’

सरकारका सन्दर्भमा पनि उनले त्यस्तै धारणा राखे । सरकार टिकाउनका लागि कुनै अवाञ्छित सम्झौता गर्न आफू तयार नभएको उनको भनाइ छ । माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको भन्दै भविष्यमा पनि नलिने आशा उनले व्यक्त गरे ।

‘सरकारले राम्रो काम गरिरहेको छ भने किन माओवादीले समर्थन फिर्ता लिन्छ ?’ ओलीले भने ।

प्रस्तुत छ, प्रधानमन्त्री ओलीसँग बालुवाटारमा गरिएका संवादको पूर्णपाठ :

प्रधानमन्त्रीज्यू यहाँलाई स्वागत छ ।

धन्यवाद

यतिबेला नेकपा एमालेको अध्यक्ष तपाईं यहाँ हुनुहुन्छ । अर्कोतर्फ तपाईंकै पार्टीका नाममा राष्ट्रिय कार्यकर्ता भेला काठमाडौंमै भइरहेको छ । यसअघि नेकपामा जस्तै समानान्तर गतिविधि एमालेमा शुरू भयो । अबको निकासका लागि तपाईंको भुमिका कस्तो रहला ?

पहिलो कुरा त तपाईंलाई सम्झाउँ, उहाँहरूको समूहको नाम नभएकाले उहाँहरूले नेकपा एमाले भनेर भ्रमपूर्ण ढंगले नाम राख्नु भएको हो ।

अहिले त उहाँहरू एमाले नै हुनुभयो नि ?

हुनुभएन । एमाले भएको भए एमालेको राष्ट्रिय भेला पार्टीभन्दा फरक, अलग त्यसरी कहाँ गर्छ ? त्यो त पार्टीमा फर्किन्छ । उहाँहरू त पार्टी छोडेर हिँडिसक्नुभएको हो । त्यसैले यो नेकपा एमालेको नेता-कार्यकर्ताले गरेको भेला होइन ।

उहाँहरू कुन पार्टी छोडेर हिँड्नु भएको हो त ? फागुन २३ गते ३ बजे हामी एउटै पार्टी भयौं भनेर आउनुभयो । अर्कोतर्फ तपाईंले नेकपा छोडेर हिँडेको जस्तो देखिन्छ । खासमा पार्टी छोडेर हिँडेको चाँही कसले हो ?

म यसमा खासै बहस गर्न चाहन्न ।

उहाँहरू मन ठण्डा गरेर नै हिँडिरहनुभएको छ । भेला गरिरहनुभएको छ । अर्याल बैठक, अर्याल भेला गर्दै उहाँहरू यस भेलासम्म आइपुग्नु भएको हो । ११ गतेको फैसलामा विमत्ति राख्नु पाइँदैन भनेर उहाँहरू कराउनु हुन्छ । २३ गतेको फैसला चाहिँ ठिक होइन भन्नुहुन्छ । जन्मिएको बच्चा फेरि पेटमा नै राख्नेजस्तो कुरा भयो भन्नुहुन्छ ।

त्यसो भए तपाईंलाई छोडेर उहाँहरू हिँड्नुभएको हो ?

हो । पार्टी छोडेर, मलाई छोडेर, अध्यक्षलाई छोडेर, संगठनलाई छोडेर, संसदीय दल छोडेर उहाँहरू हिँड्नुभएको हो नि । उहाँहरू संसदीय दलको नेता आफैं, आफैं अध्यक्ष छानिनुभएको हो । मलाई पार्टीको साधारण सदस्यताबाट निकाल्यौं भनेर घोषणा गर्नुभएको हो । मलाई त सिंगो कम्युनिष्ट पार्टीबाट हटाएको हो नि, उहाँहरूले हामी यहाँ छौ भनेको ठाउँबाट । त्यसकारण, कसले बोलाएको थियो भेला ? जुन भेला उहाँहरूले भनिरहनु भएको छ, त्यो भेला कसले बोलाएको हो ? के नेकपा एमाले भनेका माधव नेपाल हुन् ? कसले बोलाएको ? अनि विधि-पद्धतिका कुरा लेग्रो तानेर हुन्छ ? पार्टीको संगठनात्मक सिद्धान्त, नियमका परिधिमा बस्नुपर्दैन ? तपाईले ‘महाभारत’ सिरियल हेर्नुभएको छ ?

अलि-अलि हेरेको छु ।

हेर्नुभएको छ भने त्यहाँ धृतराष्ट्रको अभिनय गर्ने धृष्टराष्ट्र नै हो ? त्यहाँ कृष्णको अभिनय गर्ने मान्छे कृष्ण नै हो ? अर्जुनको अभिनय गर्ने अर्जुन नै हो त ? के उनीहरूले लागाएको श्रीपेच वास्तविक हो त ? माधव नेपालले अस्ति अध्यक्षको श्रीपेच लगाएको देख्नुभएन ? साँच्चै वा अभिनय हो त्यो ? त्यसकारणले ती पात्रहरू वास्तविक होइनन् । यो सबै अभिनय हो ।

हिजो माधव नेपालले पार्टी एकतापछि केपी ओलीबाट मुक्ति पाइयो, अहिले ठण्डा महसुस भएको छ भन्नुभएको थियो । अहिले फेरि एमाले ब्युँतिदा पनि उहाँहरूमाथि पुरानै प्रवृत्ति र कारबाहीको डण्डा चलाउने त ?

उहाँहरू मन ठण्डा गरेर नै हिँडिरहनुभएको छ । भेला गरिरहनुभएको छ । अर्याल बैठक, अर्याल भेला गर्दै उहाँहरू यस भेलासम्म आइपुग्नु भएको हो । ११ गतेको फैसलामा विमत्ति राख्नु पाइँदैन भनेर उहाँहरू कराउनु हुन्छ । २३ गतेको फैसला चाहिँ ठिक होइन भन्नुहुन्छ । जन्मिएको बच्चा फेरि पेटमा नै राख्नेजस्तो कुरा भयो भन्नुहुन्छ ।

दर्ता नै खारेज भएको स्थितिमा अदालतले त्योभन्दा बढी के गर्ने त ? अर्काको नाममा रहेको पार्टीलाई अदालतले सदर गरेपछि हामी त पुरानै अवस्थामा आइयो । अब अर्कै नाम राखेर जानु पर्‍यो नि त । निर्वाचन आयोगले पनि १५ दिनमा अर्को नाम राखेर आउन भनेको हो, अर्को भेला गर भनेको छ र ? प्रचण्डलाई अरु तमासा गर भनेको छ ? बुटवलमा गएर आफ्नो चक्रव्यूहको पर्दाफास गर भनेको छ ?

‘माधवजीहरू त्यहाँ संघर्ष गर्नुहुन्छ, एमाले पार्टी कब्जा गर्नुहुन्छ, सूर्य चिन्ह लिएरै हामीसँग आउनु हुन्छ भनेको होइन ? आउनका लागि त मान्छे जम्मा गर्दै हुनुहन्छ उहाँहरू । उहाँहरू त प्रचण्डजीलाई नेता मानेर पछि-पछि जानुभएको थियो । अनि फेरि विभिन्न जिल्लाहरूमा जानुभएछ झमेला गर्न । झमेला गरेर हुन्छ र ? जनताको अभिमतबाट, पार्टीको अभिमतबाट कार्यकर्ताको अभिमतबाट, प्रक्रियाबाट आउनुपर्‍यो नि ।

पार्टी बैठकमा चाहिँ उहाँहरूलाई तपाईंले किन सामेल नगर्नु भएको त ? २८ गतेको बैठकमा उहाँहरूलाई बोलाएको भए अहिलेको समस्या उब्जिदैनथ्यो होला नि ?

म तपाईंलाई सोध्न चाहन्छु उहाँहरू कहाँ हुनुहुन्थ्यो त्यसबेला ? उहाँहरू कता हराउनुभएको थियो ? कहिलेकाहीँ अदालतमा महिनौं दिनसम्म सूचना टाँस्ने, पत्र पठाउने व्यक्ति फेला पर्दैन क्या । (हाँस्दै) यहाँ गयो यहाँ छैन, त्यहाँ गयो त्यहाँ छैन, मान्छे फेला नै पर्दैन । ठेगाना बतायो, त्यहाँ हुँदैन । घर गयो, त्यहाँ पनि हुँदैन । अनि त्यहाँका जनप्रतिनिधि, गाविसको वडाध्यक्ष, सभापति, गाउँपालिकाको सदस्य, अनि केजाति-केजातिलाई भेला पारेर म्याद तामिल गरेको सूचना टाँसेर फर्किनुपर्ने हुन्छ । भनेको बेलामा नभेटेपछि, घर छोडेर हिँडेपछि त फेला पार्न गाह्रो हुँदैन ?

तपाईंले ४ गतेको भेलामा नजान भन्नुभयो र बेलुका महासचिवको विज्ञप्ति पनि आयो । तर, राष्ट्रिय भेला त भएरै छाड्यो । नेकपा एमालेकै नाममा भेला आयोजना गरिएको छ । अब के गर्नुहुन्छ ?

नियम-कानून छ, त्यसले के भन्छ त्यहीनुसार हुन्छ ।

एकैचोटि त्यत्रो ठूलो संख्यामा कारबाही गर्ने कुरा सोच्न सकिन्छ र ?

३ करोड मान्छेमा कति भेला भएका छन् ?

कम्तिमा पनि २ हजार भेला भएको कुरा छ ।

२ हजार भेला भएका छन् भने त्यसमध्ये १५ सय यता आउँछन् । दास होइनन् तिनीहरू । भ्रममा, अन्योलमा परेका होलान् । तर, यो भ्रमपूर्ण ढंगले भेला गराउने कुरालाई के गर्छस् भनेर सोध्नुहुन्छ भने मैले केही गर्ने होइन । नियम-कानूनले गर्ने हो ।

यसरी जाँदा त भोलिको दिनमा नेकपा माओवादीले तपाईंलाई दिएको समर्थन फिर्ता लिने र आफ्नो पार्टीभित्रका सांसद पनि जोगाउन नसक्दा केन्द्रदेखि प्रदेशसम्मका सरकारहरू अल्पमत पर्छन् नि ?

यी कुराहरू भनेको नाफा-नोक्सानका आधारमा गरिने कुरा होइनन् । कुनै पनि कुराको उद्देश्य हुन्छ । हामीले पार्टी बनाउने उद्देश्य हुन्छ । ती उद्देश्य प्राप्त गर्ने नीति हुन्छन्, विधि हुन्छन्, कार्यक्रम हुन्छन् । त्यसो भएपछि नाफा-नोक्सान, कसो के, केही पनि हेरिदैन । म विश्वास गर्छु, दुई-चारबाहेक अरु कार्यकर्ता केही मान्छेका स्वार्थका पछि लाग्दैनन् ।

पुस ५ गते तपाईंहरू छुट्नुभयो र अदालतको फैसलापछि फेरि जोडिनुभयो । अब उहाँहरूलाई सँगै लिएर हिँड्ने अवस्था छ कि बिदा गर्न लाग्नुभएको हो ?

होइन । बिदा न पहिले गरेको थियो, न अहिले गर्ने हो । उहाँहरू बिदा गर्न लायकको पनि हुनुहुन्न । आए ठिक छ । गल्ती महसुस गरे ठिक छ । उहाँहरूले जुन अपराध गर्नुभएको छ, आन्दोलन क्षतविक्षत गर्नुभएको छ, अस्थिरता-अन्योल सिर्जना गर्नुभएको छ, जनताको मन दुखाउनुभएको छ, कार्यकर्ताको मन रुवाउनुभएको छ, त्यसबाट उहाँहरू सच्चिनु पर्छ । उहाँहरू आउनुहुन्छ, आउनुपर्छ, आउनुहोस् । त्यसरी र त्यो महसुस गरेर आउनुहोस् र काम गर्नुहोस् ।

तर, ‘आउने’ भन्ने कुरामा नै उहाँहरूले बढी अपमान महसुस गर्नुभएको छ नि ?

उहाँहरू गइसकेको हो नि त । आउने कुरा त गर्नैपर्‍यो नि । गइसकेको होइन भने उहाँहरूले जुन तमासा गर्नुभयो, नेपाल कम्युनिष्ट पार्टीको साधारण सदस्यबाट मलाई निष्कासन गर्नुभयो । के उहाँहरूले फिर्ता गरिदिएको हो त मलाई साधारण सदस्यता ? उहाँहरू गएको हो कि होइन रहेछ ? अध्यक्षबाट मलाई हटाइएको थियो, के उहाँहरूले फिर्ता गरिदिएको हो ? म त अध्यक्ष, पार्टी सदस्य छँदैछु । उहाँहरूको त वितण्डा न हो । म त छँदै छु । उहाँहरूले पनि कृपा गरेर फिर्ता गरिदिएको हो र त्यो ? नेकपाको अध्यक्षबाट निकाल्नुभो, संसदीय दलको नेताबाट निकाल्नुभो, तर म त छँदै छु ।

त्यो त नेकपाको अध्याय हो । अब जेठ २, २०७५ को एमालेतिर फर्कियो । त्यो कुरा तपाईं मान्नुहुन्न भन्ने गुनासो छ उहाँहरूको ।

ए, मैले चोरेको त घरभित्र हुँदा हो नि हजुर, घरबाहिर आँगनमा निस्किदा त मैले चोरेको छैन भन्न पाइन्छ ?

तपाईंले अन्तिमपटक धुम्बाराहीमा गएर वार्ता गर्नुभयो । तर, मन माझिन सकेन । यसअघि पुस ४ खुमलटार पुगेर तपाईंले प्रचण्डलाई अभियोगपत्र फिर्ता लिइदिनुस् भन्नुभयो । तर प्रचण्डले नमानेपछी अर्को दिन संसद विघटन गरिदिनु भयो । पछिल्लो धुम्बाराही वार्ताले पनि अर्को अप्रिय मोड त ल्याउँदैन ?

त्यतिबेला त्यो अभियोगपत्र फिर्ता लिएको भए कोर्स अर्कोतर्फ जान्थ्यो नि । मैले त बोलाएँ । तपाईं माधव नेपालको भाषण सुन्नुहोस् न । युट्युवमा रेकर्ड खोलेर मज्जाले सुन्नुहोस् त । ‘केपी ओलीले बोलाउनु भयो, मैले कहाँ भनेर सोधेँ । उहाँले भन्नुभयो वालुवाटारमा । अनि मैले म आउन्न भनेँ । बाहिर आएर भेटौं भनेँ । बाहिर आउन त मिल्दैन भन्नुभयो । त्यसो भए पार्टी अफिसमा भेटौं भनेँ । हुन्छ भन्नुभयो । पार्टी अफिसमा म एक्लै आउँदिन भनेँ । फेरि उहाँले भन्नुभयो, म पार्टीको गुटसँग डिल गर्दिनँ ।’

नपत्याउनु भएको भए सुने हुन्छ । हो, गुटलाई मान्यता छैन । गुटसँग डिल गर्दिन । पार्टीका कार्यकर्ताले आफ्ना-आफ्ना जिम्मेवारी र आफ्नो-आफ्नो काम गर्नुपर्छ । मैले त्यो पहिलो पार्टीको बैठक भएकाले गुट तथा गुटका दलबल लिएर आउँछु भन्दा पनि ठिक छ भनेको । तर, मैले त्यहाँ गुटको रूपमा मान्यता दिएको होइन । व्यक्तिको रूपमा हो । उहाँहरूको चरम अनुशासनहीनता, अराजकता, पार्टीको नाममा जुन राष्ट्रिय भेला भनेर गरिएको छ, यो कारबाहीयोग्य विषय हो ।

यो वा त्यो गुटलाई कारबाही हुन्छ त ? होइन । व्यक्तिलाई कारबाही हुन्छ । जो मूलदोषी हो, त्यहाँबाट शुरू हुन्छ । अब नाङ्लो ठटाएर हात्ती तर्सिन्छ भन्ने खालको भ्रम उहाँहरूले नपाले हुन्छ ।

मतलव, उहाँहरूले हिजो तपाईंमाथि चलाएको बहुमतको डण्डा अब तपाईं चलाउने ?

कहाँ मैले डण्डा चलाउनु । राष्ट्रिय भेला भनेर बकवास गर्न पाइन्छ ? राष्ट्रिय भेला भनेर पार्टीको अध्यक्ष, पार्टीद्वारा निर्वाचित प्रधानमन्त्रीको विरुद्ध बकवासको जमघट गर्न पाइन्छ ?

०००

भेला भइसकेपछि तपाईंको भूमिका फेरि एकपटक समेट्नेतिर हुन्छ कि तपाईंले भनेजस्तै विधिविधान कार्यान्वयनतिर जान्छ ?

देशको प्रमुख पार्टीको अध्यक्षको हिसाबले र प्रधानमन्त्रीको हिसावले मेरो अभिभावकीय भूमिका स्वभाविक रूपमा मैले बुझेको छु । देशको संविधानले कसैमाथि ज्यादती गरौं भन्छ ? कसैलाई दुःख दिऊँ भन्छ ? कसैलाई छेकथुन गरौं भन्छ ? तर, कारागार किन बन्छ ? मान्छे किन थुनिन्छ ?

लोकतान्त्रिक संविधान बनेको ठाउँमा पनि फेरि अपवाद तत्वहरूका लागि जेल त बनेको हुँदो रहेछ नि ! के जेल बनाएका देशमा अपराध कर्म कसैले गर्‍यो भने कानूनको कठघरामा उभ्याएर सजाय गरिँदा त्यसलाई तानाशाही भन्छ ? पीडितलाई न्याय दिँदा अभिभावकीय भूमिका भएन भन्ने हुन्छ ? पीडकलाई दण्ड दिँदा, पीडितलाई न्याय दिँदा त्यो कर्तव्यभित्र पर्छ कि अभिभावकीय भूमिकाको अभाव हो ? परिभाषा त ठिक ढंगले गर्नुपर्‍यो नि !

तपाईंले शुरूमा सोधेको अभिभावकीय भूमिकाको सन्दर्भ जहाँ छ । अभिभावकीय भूमिकै भएको हुनाले सिके राउतसँग कुरा गरेर पृथकतावादको अन्त्य गरियो । पूर्वाग्रह राखियो ? प्रतिशोध लिइयो ? केही गरिएन नि त ? समस्याको समाधान गर्ने बाटो समातियो । र, सिके राउत समूहलाई शान्तिपूर्ण संवैधानिक राजनीतिको मूलधारमा ल्याइयो ।

हालसालै नेपाल कम्युनिष्ट पार्टी, जसलाई विप्लव समूह भनेर चिनिन्छ, उहाँहरूसँग सम्झौता गरेर उहाँहरूको हिंसाको बाटो छोडाएर शान्तिपूर्ण बाटोमा त ल्याइयो नि ! उहाँहरूसँग प्रतिशोध साँधियो र ? उहाँहरूसँग के एउटा प्रधानमन्त्रीले गर्ने अभिभावकीय भूमिका त्यही होइन र ? विभिन्न गलत चिन्तन, बाटो र मार्गमा गएकाहरूलाई सम्झाएर, बुझाएर जिम्मेवारीबोधका साथ अभिभावकीय भूमिका दिने, त्यो कुरा हो । कोही कार्यकर्ता भ्रम र अलमलमा छन् भने अलमलबाट मुक्त गर्ने त्यो मेरो भूमिका हो । विदेशीका इसारामा, विदेशीका स्वार्थका लागि, विदेशीका आदेशमा कोही चलेर देशलाई बर्बाद गर्न खोज्छ भने देशको रक्षाका लागि उभिने मेरो कर्तब्य हो ।

विदेशीको कुरा कहाँबाट आयो फेरि ?

कम्फर्टेबल ठाउँबाट ! कम्फर्टेबल हुन्छ मैले भनेको त होइन नि ! कम्फर्टेबलमा त सँगै हुनुहुन्थ्यो । कुम जोडेरै कम्फर्टेबल बनाउन लागिरहनुभएको थियो । अहिले पनि कम्फर्टेबल बनाउन कुदिरहनुभएको छ ।

तर उहाँहरू त उता कम्फर्टेबल छोडेर यता नै कम्फर्टेबल हुन खोजिरहनुभएको होला नि ? नत्र पेरिसडाँडा छोडेर किन आउनुहुन्थ्यो ?

होइन भनिरहनुभएको छ त । कहाँ हो भन्नुभएको छ उहाँहरूले ?

बामपन्थीकै सरकार कन्टिन्यू गर्ने कुरामा….

मैले राजीनामा गरेर दिनुपर्ने उहाँहरूको हातमा । अहिलेकै सरकारलाई निरन्तरता दिऊँ भनेर खुलस्त नभनेर, वामपन्थीको सरकार भनेको के ? कुन सरकार छ त देशमा ? वामपन्थीकै सरकार छ त छ, निरन्तरता दिऊँ ।

अब पनि यही गठवन्धनलाई निरन्तरता दिन तपाईंले फेरि एकपटक त्याग गर्नुपर्‍यो भन्ने कुरा छ उहाँहरूको !

(हाँस्दै) मैले अध्यक्षमा त्याग गर्नुपर्ने उहाँहरूको कुरा थियो । मैले त्याग गरेर उहाँहरूलाई अध्यक्ष दिने । मैले प्रधानमन्त्री उहाँहरूलाई त्याग गरिदिने । जोसुकैलाई दिए पनि हुन्छ, मैले त्याग गरिदिने ! त्यति मैले त्याग गरिदिएपछि, उहाँहरूलाई देश बर्बाद गर्न छुट दिएपछि उहाँहरू सन्तुष्ट हुनुहुन्छ । मसँग मिलेर काम गर्न तयार हुनुहन्छ । झलनाथ खनालज्यूलाई राष्ट्रपति बनाइदिएपछि, माधव नेपालज्यूलाई अध्यक्ष, प्रधानमन्त्री के-के बनाइदिएपछि, प्रचण्डजीले भन्दै हुनुहुन्छ कि छोड्नु भो थाहा छैन मलाई, अध्यक्ष भइहाल्नुभयो । अझ त्यहाँबाट एउटा समूह फुट्ने हो भने फेरि अर्को अध्यक्ष हुन्छ । अध्यक्ष हुन त सजिलो छ नि । अनि प्रधानमन्त्री दिएपछि, देश बर्बाद गर्न… ।

सरकारको सन्दर्भमा म एकछिनमा आउँछु । पार्टीको सन्दर्भमा कुरा गर्दा माधवकुमार नेपाल, झलनाथ खनालको एउटा समूह थियो । हिजो प्रचण्ड-माधव भनियो । उहाँहरूको एउटा समूह अदालतको फैसलापछि नेकपा एमाले भएको छ…

भएको भन्ने ठानेको । तर भएको रहेनछ । त्यो त भेलाले देखाउँदैछ । म उहाँहरूलाई पार्टी अफिसमा बोलाएर कुराकानी गर्दैछु, उहाँहरू राष्ट्रिय भेला भनेर वितण्ड खडा गरिरहनुभएको छ । पार्टी कार्यकर्तालाई अल्मल्याउन खोजिरहरनुभएको छ ।

तपाईंले भनेजस्तो कारबाहीको प्रक्रियामा गयो भने त पार्टी फेरि फुट्ने होला । अस्तिनै नेकपा फुट्यो !

कहाँ सग्लो छ र फुट्ने कुरा भनेको ।

अहिले कम्तीमा नेकपा एमाले भनेर त बनेको छ नि ?

एमाले भनेर एमालेविरुद्ध गतिविधि गर्नुभन्दा त अलग्गै भएर गतिविधि गरेको राम्रो होला नि ! एमाले भएर अलग्गै गतिविधि गर्न पाइँदैन ।

कानूनले अलग हुन दिएन भनेर उहाँहरूले प्रष्ट भन्नुभएको छ ।

मसँग निवेदन हाले भयो नि । सजिलो बनाइदेऊ, हामी अलग हुन्छौं भन्दा भयो नि त ।

भनेपछि माधव नेपालहरूले चाहनुभयो भने फुट्न सजिलो हुने गरी अध्यादेश ल्याइदिने तपाईं ?

उहाँहरूले माग्नुभयो भने ल्याइदिन्छु म । मान्छे कुनै बँधुवा भएर बस्न सक्दैन । मान्छेको विचारको स्वतन्त्रता हुन्छ । राजनीति भनेको स्वेच्छाको कुरा हो । मान्छेले कुनै समूहमा जान चाहन्छ भने जान दिनुपर्छ । कुनै समूह बनाउन चाहन्छ भने बनाउन दिनुपर्छ । कुनै समूह छोड्न चाहन्छ, छोड्न दिनुपर्छ । कुनै पार्टी छोड्न चाहन्छ, छोड्न दिनुपर्छ । संघ-संगठन र संघ-संस्थासम्बन्धी अधिकार भनेको त्यही हो ।

हामी देश र जनताको हितमा केन्द्रित हुनुपर्छ । विकास निर्माणका काममा केन्द्रित हुनुपर्छ । आफ्ना स्वार्थ, अहंकार, जिद्धी, यस्ता कुरामा केन्द्रित हुने अनि, गुट गर्न पाउनुपर्छ पार्टीमा भनेर दम्भ देखाउन मिल्छ ? पार्टीमा गुट बनाउन पाइँदैन क्या । साथीहरू आउनुहोस्, मिलेर बसौ, मिलेर काम गरौ । हिजो जे भयो सबै बिर्सेर काम गरौ ।

पुस ७ देखि फागुन २३ सम्म तपाईंले पूर्वएमालेका सहकर्मीबिना पार्टीमा वडादेखि नयाँ कमिटीहरू बनाउनुभयो । उहाँहरूबिनाकै पार्टी चलाएर जाने तीन महिनाको अभ्यास गर्नुभयो । यसैलाई निरन्तर गर्दा नै आफूलाई कम्फर्टेबल हुने ठान्नुभएको हो अब ?

कम्फर्टेबलको कुरा होइन । अनिवार्य भयो नि । मैले त मिलौं भनेर सधैँ भनेँ । स्थिरता, स्थायित्व दिऊँ भनेँ । बखेडा ननिकालौं, निहुँ नखोजौं, देश र जनताको समस्यामा केन्द्रित होऔं भनेँ ।

देशमा यत्रो समस्या छन्, कोभिड-१९ छ । उहाँहरू कोभिड-१९ मा छलफल गर्नुपर्‍यो भनेर भन्नुहुन्छ । बैठक बस्नुअघि प्रेसलाई दिनुहुन्छ । त्यसपछि बसाएको बैठकमा कोभिड-१९ को बारेमा उहाँहरूले कुनै प्रस्ताव ल्याउनुभयो ? कुनै छलफल गर्नुभयो ? छलफल गर्न दिनुभयो ? कोरोनाको बारेमा छलफल गर्न बैठक चाहियो भन्नुभयो । बैठक बोलाएपछि आरोप पत्रहरूदेखि लिएर अनेक तमासा उहाँहरूले शुरू गर्नुभयो ।

मैले त रोक्न खोजेँ । तपाईंलाई सम्झना होला । असार १० गते शुरू भएको बैठक भदौ २६ गते टुंगियो । कोभिडको बारेमा उहाँहरूले एक शब्द कहिले बोल्नुभयो ? सरकार लडिरह्यो । पार्टी लडिरह्यो । तर दुईवटा गुट मिलेर उहाँहरूले एउटा गुट बनाउनुभयो ।

कसैलाई राष्ट्रपति बाँड्या छ ? कसैलाई प्रधानमन्त्री बाँड्या छ । बिचराहरू रातभरि ननिदाउने । अब मलाई प्रधानमन्त्री बन्न कति दिन लाग्छ होला भनेर गनेर बस्ने । मलाई अध्यक्ष बन्न कति दिन लाग्छ होला भनेर हिसाब गर्ने । रातभरि, रातभरि बिचरा !

हुन त अब यो विगत भइसक्यो । तर, पनि आम मान्छेले हेर्दा के देखिन्छ भने माधव नेपाल र प्रचण्डमध्ये एकजना तपाईंसँग मिल्ने वित्तिकै बहुमत हुन्थ्यो । प्रचण्ड आफूलाई ‘फुर्के मान्छे’ भन्नुहुन्छ । माधव नेपाल पनि सम्मान र अपमानको कुरा गर्नुहुन्छ । प्रचण्डलाई अलिकति फुर्क्याइदिएर वा नेपाललाई सम्मान दिएर ५ वर्ष सरकार र पार्टी ढुक्कले चलाएको भए हुन्नथ्यो ?

प्रचण्डजी फुर्के मान्छे हो । अध्यक्ष हुँदै हुनुहुन्थ्यो । प्रधानमन्त्री जिम्मा लगाएर ‘ल तपाईं नै चलाउनुस्’ भनेर फुर्क्याइदिएको भए उहाँ मान्नुहुन्थ्यो । अरु हिसाबले फुर्क्याएर हुनेवाला छैन । फुर्क्याउने त कति हो कति मैले । सुमधुर बाँसुरी बजाएर । सितार, गितारका धुन सुनाएर । के गरेर फुर्क्याइँन होला ! विष्णु सहस्रनाम भन्दा पनि प्रचण्ड महासहस्रनाम गाएर फुर्क्याइँन कि । उहाँ मलाई फकाउनुस् न भन्नुहुन्थ्यो, फकाइनँ कि ! उहाँको एउटै मात्रै कुरा थियो- अरु सबै ठिक छ कमरेड, एउटा प्रधानमन्त्री दिएर फकाउनुस् न भन्ने । आमाले पनि फुर्के भन्नुहुन्थ्यो मलाई, म त फुर्क्याइदियो भनेर फुर्किन्छु नि, प्रधानमन्त्री दिएर फुर्क्याउनुस् न भन्ने । म त तपार्इंका पछि लुरुलुरु हिँडिहाल्छु नि । त्यही प्रधानमन्त्री मलाई जिम्मा लगाइदिनुस् न भन्ने ।

लाटै हुनुहुँदोरहेछ क्यारे । लाटो-लाटोजस्तै लाग्यो के । प्रधानमन्त्री दिएर मलाई फुरुङ्ग पारिदिएपछि म फुरुङ्ग भइहाल्छु । त्यो प्रधानमन्त्री जिम्मा लगाइदिएर फकाउनुस्, तपाईंकै साथमा हुन्छु । यस्ता चिप्ला कुरा, धुर्त कुरा । ब्वाँसोले पहिले कन्याउँछ, कन्याउँछ अनि खान्छ । मैले त्यो कथा पढेको हुनाले कन्याइरहेको बेला म बुझ्छु । किन कन्याउँदैछ भनेर ।

नेकपा एमाले र एमालेभन्दा बाहिरको पनि चासो के छ भने फेरि पनि केपी ओेली, माधव नेपालसहितको २०७५ जेठ २ अगाडिको अवस्थामा एमाले जान सक्छ कि सक्दैन ?

उहाँहरूले यस्ता भेला बन्द गर्नुपर्छ । मैले हिजो पनि भनेँ, बन्द गर्नुस् भनेर । वक्तव्यबाट पनि भनेँ । पार्टीले दिएको आदेश अवज्ञा गरेर, पार्टी अध्यक्षको सुझाव नमानेर, पार्टीका नाममा गुटको भेला गरेर, अनुशासनहीन-अराजक काम गरेर पार्टी सिध्याउने खेल जो उहाँहरू गरिरहनुभएको छ, त्यो स्वीकार्य हुँदैन ।

उहाँहरू पार्टीमा आएर पार्टीको काम गर्न स्वतन्त्र हुनुहुन्छ । गुटबन्दी गर्न भएन । हामी सबैलाई गुटबन्दी नगर्दा हुन्छ । यत्रो कार्यकर्ता पंक्ति छ । यत्रो संगठन छ, गुटबन्दी नगर्दा हुन्छ । माधव नेपाल र दुई-चार जनालाई गुटबन्दी नगरी नहुने ? अनि उहाँको गुटलाई समानान्तर ! उहाँले भनेको मान्छे केन्द्रीय कमिटीमा राखिएन अरे ! केन्द्रीय कमिटीले उहाँको आदेश तामेल गरिदिनुपर्ने अरे ! राखेन त राखेन म के गरौं ? एउटा मान्छे राखेन । केन्द्रीय कमिटीको बैठकको बेला किन जानुहुन्छ घाना ? के काम थियो ? यति विदेश जानुभयो, केका लागि जानुभयो ? कहाँ जानुभयो ? कसको कामको लागि ? कसले अह्राएर ? कसको निर्णयबाट ? कहिले पनि उहाँ पार्टीको निर्णयबाट जानुभएको छैन ।

अफ्रिकाको प्रसंग ल्याउनुभयो । अफ्रिकाकै एकजना नेताले ‘फर्गिफ, डन्ट फर्गेट’ भनेका छन् । तपाईंले पनि एकपटक पुराना कुरा बिर्सेर…

त्योभन्दा एक स्टेप अगाडि छु म । फर्गिभ एन्ड फर्गेट । बिर्सिदिन तयार । तर, अब त्यही जारी हुनुभएन नि । पार्टीका नाममा राष्ट्रिय भेला ? अनि फर्गेट हुन्छ ? कसरी फर्गेट गर्नु ? विगत पो बिर्सन सकिन्छ त ? हिजो मलाई चुट्या थियो भने, हिजो लातै लगाएको थियो भने बिर्सिउँला । अहिले लगाएको त कसरी बिर्सने ? छेक्नु पर्‍यो कि परेन ? छेक्नु त पर्‍यो । हिजो घाउचोट लगाएको थियो भने बिर्सिउँला । आजै लगाउँदैछ भने ? हिजो उसले तरबारले हानेको थियो, घाइते बनाएको थियो, भैगो बिर्सिउँला । तरबारले अहिले हानिरहेको छ भने ? फर्गेट एण्ड फर्गिभ……

त्यहाँ भेला भइराखेको बेला भित्री च्यानलबाट फेरि मिलेर जाउँ भन्ने साथीहरू पनि होलान् नि ?

३६ प्रतिशत जति साथीहरू त्यहाँ छन् । मैले भेलामा पठाइदिएको छु ।

तपाईंलाई समर्थन गर्ने साथीहरू हो ?

मसँग राम्रो समझदारी भएका र मसँग सल्लाह गरेर नै गएका छन् । अलिपछि थाहा पाउनुहुन्छ माधव नेपालजीले के-के हुन्छ ।

हिजोजस्तो एमालेमा समझदारी गर्ने लाइनमा जानुभएको हो, तपाईं ?

मैले एक नजर उहाँहरूको गुटगत भेलामा राखेको छु । त्यो मैले भनेको पनि छु । उहाँहरूले बोलेको बेला कसरी आँखा झिम्क्याएको छ, कसरी मुख चलाएको छ र कसरी हात हल्लाएको छ सबै थाहा छ ।

राष्ट्रिय भेला गरिहाले, अब मिलेर हिडाउँ भन्ने लाइनमा तपाईं पटक्कै हुनुहुन्न ?

माफी माग्नु पर्छ । हामीले राष्ट्रिय भेला गरिहाल्यौं, यो गल्ती हो भनेर माफी मागे ठिकै हो । तर, डुक्रिने हो भने भने सिङ भाँचिन्छ ।

राष्ट्रिय भेलाप्रति माफी माग्नुभयो भने २८ गतेको निर्णयलाई करेक्सन गर्नुहुन्छ ?

पार्टीले गरेका काम र निर्णयहरू तलमाथि हुँदैनन् । कसैको धाक-धक्कुमा पार्टीले गरेका काम फेरिँदैनन् । अब ७ गते पार्टीको केन्द्रीय कमिटीको बैठक बस्छ । मैले सबैले सुन्नेगरि भनेको छु । उहाँहरूलाई बोलाएको छु । थाहा पाउनु भएन भने म जान्दिनँ । भनेको भन्यै छु । आमसभा, अन्तर्वार्ता, टिभी र युट्युबबाट भनेको भन्यै छु । उहाँहरूलाई एसएमएस र फोन नै गएको छ ।

मैले चुप्प लागेर सरकार चलाइरहन्छु नि । किन चुनावतिर धकेल्नु ? चुनाव किन गराइरहनु पर्‍यो ? सरकार खुरुखुरु चलाउनुपर्‍यो नि । अब दुई वर्ष पनि बाँकी छैन खुरुखुरु सरकार चलाइन्छ नि । २२-२३ महिना बाँकी रहँदा किन परिवर्तन गर्नु परेको छ र ? राम्रो काम गरेको छ सरकारले । अनि कहाँ चुनावमा जाने भनेको छु र मैले ?

यसले त झन् समस्या ल्यायो । उहाँहरूले अध्यक्ष तपाईं र महासचिव विष्णु पौडेललगायत ८ जना जतिलाई मात्रै कारबाही गर्नुभएको थियो । तलको कमिटीहरू यथावत नै थिए । तर तपाईंहरूकोमा तलबाट नै कमिटीहरू बनेका छन् नि ?

हो । उहाँहरू हिँड्नुभयो भने यो पार्टी थाम्ने त कार्यकर्ता छन् नि । समस्या भएको होइन, समस्या समाधान भएको हो । सिध्याउन खोजेको पार्टी त सिद्धिंदो रहेनछ ।

पार्टी स्पष्ट दुई पक्षमा बाँडिएको छ, कसरी समस्या समाधान भयो ?

नेकपा एमालेमा नेपाल-खनाल पक्ष भनुहुन्छ । त्यस्तो पक्ष नेकपा एमालेमा छैन । म नेकपा एमालेको अध्यक्ष हो । म ओली पक्ष हो ? पार्टीमा ओली पक्ष पनि हुन्छ ? म एमालेको अध्यक्ष हो । म निष्पक्ष हो ।

पुस ७ गते पनि पार्टीमा यति धेरै कमिटी बनेका छन् ? ती यथावत नै रहन्छन् ?

उहाँहरूले छोडेपछि पार्टी बचाउने पङ्ति त रहेछ । त्यो कमिटी पार्टी बचाउन बसेको स्वयम्भु हो । जब-जब पार्टी संकटमा पर्छ तब हामी छौं भनेर उठेका कार्यकर्ता स्वयम्भु बनेर आएका छन् र ती रहन्छन् । पार्टीमा डँढेलो लागेका बेला उम्रेका बिरुवा मासेर फेरि सुकेका ठेउकाहरू लगेर गाड्छ कसले त्यहाँ ?

यसको मतलब अब तपाईं प्रतिशोधमा जान खोज्नु भएको हो ? माधवहरूलाई स्पेस दिनु पर्दैन ?

तपाईंले कतै प्रतिशोध लिएको देख्नुभएको छ ? स्पेस भनेको झगडा हो ? ताण्डव हो ? पार्टीमा गुटगत भेला हो ? मैले प्रतिशोध लिएको छैन । पार्टीमा फर्केर काम गर्नुपर्‍यो । गुटगत भेला गर्ने हैन । गुटसँग म कुरा पनि गर्दिन र गुटलाई मान्दा पनि मान्दिनँ ।

पार्टीको सदस्यसँग कुरा गरिन्छ । पार्टीका प्रत्येक सदस्यहरूसँग छलफल गरिन्छ । गुट लिएर वार्तामा आउँला भन्ने कसैले पनि नसम्झे हुन्छ । गुटलाई मान्यता दिइँदैन ।

तपाईं फेरि प्रतिवादी बन्ने किसिमको पत्र निर्वाचन आयोगमा गइसकेको छ । तपाईंले गरेका निर्णय अवैधानिक हुन् भनेर रोक्न माग भएको छ । एउटा निर्णय नै विचाराधीन अवस्थामा थियो । फेरि अर्को गयो । त्यसलाई कसरी लिनुहुन्छ ?

म त फिरादपत्र हाल्छु । फिरादपत्र हाल्ने मान्छे झगडिया हैन । झगडियाहरू त पार्टी पाउँ, चिन्ह पाउँ र गरेका निर्णयहरू बदर गरिपाउँ भनेर निर्वाचन आयोगमा गएका छन् । पार्टीको निर्णयविरुद्ध अदालत जान्छन् । सभामुख, सरकारका विरुद्ध लागेका छन् । यो झगडीयाहरूको काम हो ।

राष्ट्रपतिले हिजो चियापानमा बोलाउँदा हामी आउन भ्याउँदैनौं भनेर जवाफ दिए । राष्ट्रपतिले बोलाउँदा नभ्याउने उहाँहरू मैले बोलाउँदा कहाँ भ्याउँनुहुन्छ ?

उहाँहरूको भेलाको तयारी छ । लामो प्रतिवेदन तयार पारेर बस्नुभएको छ । पत्रकारहरूले प्रश्न गर्न खोज्दा बाहिर जाउ, यहाँ अब प्रतिवेदन पेश हुन्छ भनेर भनिरहनु भएको छ । दुई घन्टा भाषण गर्ने अनि प्रतिवेदन पनि आफैं प्रस्तुत गर्ने । त्यहाँ अरु मान्छे छैनन् ।

उहाँहरू आउँदाखेरि आउँदा हुन्छ । उहाँहरूलाई ठाउँ छ । अदालतले अलग बनाइदियो अलग कुरा हो । मैले प्रचण्डलाई अध्यक्षबाट निकालेको थिइनँ । माधव, झलनाथ लगायतलाई निकालेको थिइनँ । नारायणकाजीले प्रवक्ताको काम नगरेकोले प्रवक्ताबाट मात्रै हटाएको हो । सचिवालयबाट हटाएको थिइनँ ।

सन् २००० मा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा समाजवादसम्बन्धी एउटा कार्यक्रम भएको थियो । त्यस कार्यक्रमको उद्घोषकले सभापतिको आसन ग्रहण गर्न माधव नेपालजीलाई आग्रह बोलाएपछि उहाँ जानुभयो । हात हल्लाउनुभयो । भाषण पनि गर्नुभयो । त्यसपछि प्रमुख अतिथिको आसन ग्रहण गर्न बोलाइयो । फेरि जुरुक्क उठ्नु भयो । हात जोडेर यताउता तमासा गर्नुभयो । अनि १/२ जनालाई मञ्चमा बोलाइयो । फेरि ‘कि नोट स्पीच’ दिन माधवजीलाई नै बोलाइयो । त्यसपछि उहाँले ‘कि नोट स्पीच’ दिनुभयो । अन्य १/२ जना पनि बोल्नु भयो । फेरि आफ्नो मन्तव्यसहित माधवजीले कार्यक्रमको अन्त्य गर्नुहुन्छ भनेपछि फेरि उहाँ भाषण गर्न जानुभयो ।

त्यो कार्यक्रममा उहाँभन्दा जेठा र केही जान्ने नेता पनि हुँदा हुन् । तर प्रमुख अतिथि उहाँ । सभापति, विशेष अतिथि पनि उहाँ ।

अदालतको फैसलापछि १ सय २१ सिटको एमालेसहित माओवादीको सानो हिस्सा तपाईंलाई बोनस आएको थियो । तपाईं झन् ठूलो पार्टीको अध्यक्ष हुनुभएको थियो । अब त्यो त गुम्ने भयो होइन ?

मलाई सुन्निएर मोटाउनु छैन । विधिबिनाको, थितिबिनाको पार्टी चलाएर यो पनि मेरै हो, त्यो पनि मेरै हो भन्ने खालको भ्रम मलाई पाल्नु छैन ।

उहाँहरू आउँदाखेरि आउँदा हुन्छ । उहाँहरूलाई ठाउँ छ । अदालतले अलग बनाइदियो अलग कुरा हो । मैले प्रचण्डलाई अध्यक्षबाट निकालेको थिइनँ । माधव, झलनाथ लगायतलाई निकालेको थिइनँ ।

नारायणकाजीले प्रवक्ताको काम नगरेकोले प्रवक्ताबाट मात्रै हटाएको हो । सचिवालयबाट हटाएको थिइनँ । उनले पार्टीको विरुद्धमा बोलेको बोल्यै थिए । मैले अस्तिसम्म देव गुरुङलाई प्रमुख सचेतक राखिछोडेको थिएँ । आजसम्म पनि मैले दिनानाथ शर्मालाई राष्ट्रिय सभामा मेरो प्रतिनिधिको रूपमा राखेको छु । अब उहाँलाई पत्र बुझाउँछु ।

म त फेरि भन्छु, यो सबै तमासा छोडेर आउनुस् । रजनिसले सुनाएको एउटा कथा छ । बच्चाले के गल्ती गर्‍यो अरे । लडेर रुन थालेपछि आमाले भनिछन्- छोरा, गल्ती गरेपछि रुनु हुँदैन ।

ती महिलाका ८ वटा छोराछोरी रहेछन् । ती ८ छोराछोरीले एकदम हायलकालय पारे उनलाई । यता च्याउँच्याउँ, उता च्याउँच्याउँ । आमा रुन थालिछन् । सानी बच्चीले भनिछन्- ममी, गल्ती कर्के नही रोते ।

गल्ती गरेपछि रुने काम गर्नुहुँदैन । एउटा गल्ती ढाकछोप गर्दा अरु गल्ती गर्नुहुँदैन । उहाँहरूले गुटगत क्रियाकलाप गरेर, पार्टी सिध्याउन खोजेर, सरकार ढाल्न खोजेर जुन गल्ती गर्नुभयो त्यसको पुष्टि गर्न अरु थप अपराधकर्म र गल्ती उहाँहरूले गर्नुहुँदैन ।

प्रचण्ड-माधवले फागुन ११ को फैसलापछि भन्नुभएको थियो- एउटा सेटिङ भत्कायौं । अब निर्वाचन आयोगवाला सेटिङ पनि भत्काइन्छ । तर निर्वाचन आयोगवाला सेटिङ भत्काउनुअघि नै तपाईंले झन् ठूलो सेटिङ हान्नुभएको रहेछ । प्रचण्ड-माधव पक्षलाई पराजित अवस्थामा पुर्‍याइदियो फैसलाले । मुद्दा त तपाईं र प्रचण्डले हारेको हो नि ? तर पनि तपाईंका कार्यकर्ताले दिपावली गरे ।

मैले उत्सव मनाइनँ । उहाँहरूले अविरजात्रा गर्न, लड्डु खान सिकाउनुभयो मान्छेलाई । त्यो सिकाएपछि कार्यकर्ता खुसी भएर नाचिदिए होला । छमछम गरे पनि होला । दीपावली गरे पनि होला । मिठाइ खाए पनि होला । उहाँहरूले सिकाउनु त भयो नि । अदालतको मुद्दाको फैसलाबाट जे हानी वा लाभ हुन्छ, त्यसबाट एकदम खुसी र दुःखी हुनुपर्ने होइन । राजनीतिक कामबाट उपलब्धि वा नोक्सानी हुन्छ । त्यसमा नोक्सानी भयो भने दुःखी हुनुपर्छ । अदालतमा राजनीति गर्ने मान्छे होइन, न्याय दिने मान्छे बसेको हुन्छ । न्याय त जस्तो उनीहरूले बुझ्छन् त्यस्तै दिन्छन् । न्यायाधीशले त न्याय दिने हो नि राजनीति गर्ने होइन ।

अब त्यो दिँदा राजनीतिक रूपमा कति ठिक हुन्छ, कति ठिक हुँदैन । त्यसमा हौसिने अथवा दुःखित हुने, लड्डु खाने, अविरजात्रा गर्ने यस्ता कुराहरू अथवा बसेर धुरुधुरु रुने यो काम छैन । अदालतका मुद्दाका हिसाब गरेर कुद्नु हुँदैन । त्यसकारण म अदालतका मुद्दासँग कहिल्यै उत्साहित पनि भइनँ । कहिल्यै दुःखी पनि भइनँ ।

प्रचण्ड भन्नुहुन्छ- प्रतिनिधिसभा पुनःस्थापना गरेर त्यत्रो मुद्दा हराउँदा पनि मै जितेजस्तो व्यवहार गरेको छ । यता ऋषि कट्टेलले जित्दा पनि आफैंले जितेजस्तो गरेको छ । तपाईंप्रति उहाँहरू बडा आश्चर्यचकित भइरहनुभएको छ । हारेपछि पनि जितकै दम्भ ?

मुद्दा हारिन्छ । राजनीतिमा मुद्दा भनेको बेग्लै कुरा हो । मुद्दाले राजनीति तय गर्दैन । राजनीति राजनीतिले तय गर्छ । उहाँहरूले पार्टी तोड्नुभयो । निकाल्नुपर्नेलाई निकाल्नुभयो । यस्ता कृत्रिम दम्भी क्रियाकलापहरू टिक्दा रहेनछन् । के उहाँहरूको ‘पोलाइट’ क्रियाकलाप हो त्यो ? के फेरि पार्टीमा फर्किने, पार्टी एकता खोजेको क्रियाकलाप हो ? धनियाको अचार पिसे झैं पिसेको होइन ?

तपाईंले माधवकुमार नेपालको भाषण सुन्नु पनि भयो होला । फेरि पनि दम्भ देखाएर हिजो बहुमतमा नहुदाँको प्रतिशोध लिनेगरी तपाईं अघि बढ्नुभयो भन्ने गुनासोको सम्बोधन कसरी गर्नुहुन्छ ?

एउटा कुरा, कामको हिसावले मसँग बहुमत छ । एकताका नाममा मैले माधव नेपाललाई अलिकति, झलनाथको मान्छे भनेर, प्रचण्डको मान्छे भनेर दिदाँ-दिँदा आफूलाई नै अल्पमतमा पारेँ एकताको भावनाले ।

सिंह भइसकेपछि त झ्वाम्मै अब तँलाई नै खान्छु भन्ने भए । भष्मासुरलाई बर के दिएको थिएँ, अब तेरो टाउकोमा हात राख्छु भन्ने हुँदो रहेछ नि त । शिवजी भाग्नु परेन ? भष्मासुरलाई बर दिइहाल्यो । बर पाइसक्दाखेरी भष्मासुरले हो कि होइन खै तेरो टाउकोमा हात राखौं भनेर आफैंलाई आएपछि त शिवजी त त्रिशुल समातेर टाप ।

भनेपछि तपाईं अब जसरी पनि बहुमत नछोड्ने लाइनमा हो ?

होइन, होइन, जसरी पनि भन्ने कुरै छैन ।

२८ गतेसम्म उहाँहरूको भनाइअनुसार बराबर संख्या हाम्रो भन्ने छ नि त ?

कहाँ थियो बराबर संख्या ?

साविक एमालेको स्थायी कमिटी, पदाधिकारी र पोलिटब्यूरोमा हामी बहुमत थियौ । केन्द्रीय कमिटिमा ४-५ जना तलमाथि हुन्थ्यौं भन्नुभएको छ ।

हा हा.. । यो ४-५ जना तलमाथि हुन्थ्यो कि के हुन्थ्यो भन्ने गुटका कुरा गरेको होला उहाँहरूले । गुटलाई मान्यता दिइदैन । कतिजना थिए भन्ने कुरा अब हेर्दै जानुपर्छ । पार्टीको विधान बनाएको नाक कानमा झुण्ड्याउन होइन ।

फागुन २३ गतेको फैसलाको सन्दर्भमा प्रचण्ड पुनरावलोकनमा जाने भन्दै हुनुहुन्छ । तीनवटा विपक्षी हो तपाईं, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र निर्वाचन आयोग । तपाईं त दुईजना बराबर एक अध्यक्ष होला सायद । तपाईं पुनरावलोकनमा जाने त्यस्तो कुनै सोचमा हुनुहुन्छ ?

म कहिले मुद्दामा गएको छु र ? म त कहिले पनि मुद्दा मामिलामा गएको छैन नि । म त प्रतिवादी कसैले बनायो भने जवाफ दिने मात्रै हो । फेरि पनि कसैले प्रतिवादी बनायो भने जवाफ दिउलाँ । म मुद्दा गर्न जान्न, राजनीति गर्छु ।

तपाईंको पछिल्ला भाषण सुन्दा भोलि के हुँदैछ भन्ने आफैंले संकेत गर्नुभएको पाइन्छ । अस्ति भृकुटीमण्डपबाट तपाईंले प्रतिपक्षमा बस्न तयार छौं र २० महिनापछि फेरि दुई तिहाई बहुमतसहित फर्किन्छौं भन्नुभयो । के अब सरकार ढल्दैछ भनेर मानसिक रूपमा तयार हुनुभएको हो ?

एउटा कुरा के हो भने, अब नेपालमा बहुमतधारी सरकार रहेन । संविधानको धारा ७६ को उपधारा १ बमोजिमको बहुमतको सरकार अर्थात एकल बहुमत भएको पार्टीको सरकार रहेन, किनभने एकल बहुमतवाला पार्टी छैन ।

एकल बहुमतवाला पार्टी नभएपछि दुई वर्षलाई अविश्वास प्रस्ताव राख्न नपाइने भन्ने प्रावधान पनि हो, तर संविधानमा अन्योल छ । के अन्योल छ भने, अविश्वासको प्रस्ताव त दुई वर्ष राख्न पाइदैन, तर सहभागी दलले अर्थात सत्ता साझेदारले समर्थन फिर्ता लिएमा वा सरकार छोडेमा के हुन्छ भन्दा एक महिनाभित्र विश्वासको मत लिनुपर्छ । भनेपछि जुन स्थायित्वको लागि संविधान बनाएको, पाँच वर्षको सरकार बनाएको भन्नेहरू छन्, संविधान नपढेरै गफ गर्ने मान्छे छन् यहाँ ।

माओवादी केन्द्रले समर्थन फिर्ता लियो भने अविश्वासको प्रस्ताव नआए पनि तपाईंले एक महिनाभित्र विश्वासको मत फिर्ता लिनुपर्छ होइन र ?

अँ पर्छ । त्यो त पहिले पनि पर्थ्यो नि । जेठ ३ गतेभन्दा अगाडि पनि सरकार नबन्न सक्थ्यो नि । दुई दलको बन्यो । २०७४ साल फागुन २७ गते मैले विश्वासको मत लिएँ । ७८ प्रतिशतको विश्वासको मत आयो ।

पार्टी एकिकरण भएपछि यो सरकार संविधानको धारा ७६ को उपधारा १ बमोजिमको सरकारमा परिणत भयो । अस्ति फागुन २३ गते जुन फैसलाले पार्टी पुरानै ठाउँमा बिभाजनमा गएपछि जेठ ३ गते अगाडिकै स्थितिमा त्यो सरकार फेरि फर्कियो । यसर्थ बहुमतधारी पार्टी नै छैन । कुनै पार्टीसँग पनि बहुमत छैन । अब दुई वा दुईभन्दा बढी दलहरू मिलेर बनेको सरकार छ ।

मैले नेकपा माओवादी केन्द्रको समर्थन प्राप्त गरेको थिएँ । उहाँहरूले फिर्ता लिनुभएको छैन । किन उहाँहरूसँग फिर्ता लेऊ भनेर माग गरिरहने र ? मैले किन माग गर्ने फिर्ता लेऊ, फिर्ता लैजाउ भनेर ? उहाँहरूले समर्थन कायम गरे हुन्छ किनभने मैले राम्रो काम गरेको छु । ठिक काम गरेको छु । किन समर्थन फिर्ता लिने ?

तपाईंलाई हटाउन यत्रो प्रयास गर्नुभयो । फेरि तपाईंलाई नै किन कायम राख्नुहोला र ?

एक महिना त हुन लाग्यो नि । आजै अविश्वास, भोलि नै अविश्वास भनेका थिए त । अविश्वासको प्रस्ताव त आएकै छैन । संसद नहुँदा अविश्वासको प्रस्ताव राख्न पाइएन भन्ने तर संसद ब्युँतिएपछि किन अविश्वासको प्रस्ताव नराखेको होला ? राखेकै छैन । यसको मतलव अविश्वासको प्रस्ताव राख्नुपर्ने नै स्थिति होइन नि । सरकारले राम्रो काम गरिरहेको छ, केको अविश्वासको प्रस्ताव चाहियो र ? राख्नुपर्ने अवस्था नै होइन भन्ने कुरा त नराखेकैले पनि थाहा भइसक्यो नि ।

अविश्वासको प्रस्ताव राखेमा कि राजीनामा गर्नुपर्छ कि सामना गर्नुपर्छ । विश्वासको मत माग्दा होस् अथवा अविश्वासको प्रस्तावको सामना गर्दा होस्, बहुमत आएन भने राजीनामा दिनुपर्छ । अर्को सरकार बन्यो भने त्यसलाई सरकार सुम्पिनुपर्छ । बनेन भने फेरि अर्को विकल्पमा जानुपर्छ । सबै विकल्प सकिए भने चुनावमा जानुपर्छ । यही होइन र बाटो ? त्यसकारण संविधानका यी सबै प्राबधान देखेपछि म सरकारमा बसिरहन्छु भन्ने मात्र कहाँ हुन्छ र ? हट्न परे पनि ठिक छ ।

तपाईंको राजीनामा मागिएको थियो नि ?

होइन, कसले खोइ राजीनामा मागेको छ र ?

सर्वोच्चको फैसलापछि प्रचण्ड-नेपाल पक्षले राजीनामा दिनुपर्छ भनेको होइन र ?

हा.. हा… । अब उहाँहरूले त्यतिबेला झोक चलेर भन्नुभयो होला । त्यतिबेलाको कुरा नगुर्न न । झोक चलेको बेला जसले पनि भन्छन् । उनीहरूले पनि भने होलान् । अहिले त भनेका छैनन् नि ।

अब तपाईंले के गर्ने तयारी गर्नुभएको छ ? अविश्वासको प्रस्ताव आयो भने सामना गर्नुहुन्छ कि सहजै राजीनामा दिनुहुन्छ ?

त्यो राजनीतिक परिस्थितिको कुरा हो । राजनीतिले निर्धारण गर्छ । राजनीति यस्तो चिज हो नि । अविश्वासको प्रस्ताव… अविश्वासको प्रस्ताव… भन्दै साथीहरूले गीत गाउँथे । अहिले त अविश्वासको प्रस्ताव आएको देख्दिन । त्यसैले भनेजस्तो कहाँ सजिलो छ र ? त्यसकारण परिकल्पना र यथार्थ फरक हुन्छ ।

कांग्रेस नेता रामचन्द्र पौडेले हिजो मात्रै भन्नुभएको छ कि, कतै हाम्रो सभापतिको मौनता प्रधानमन्त्रीसँग मिलेर फेरि प्रतिनिधिसभा विघटन गरी चुनावमै जाने त होइन भनेर । हिजो राष्ट्रपतिकोमा पनि त्यही विषयमा बहस भयो । यसको मतलव तपाईं फेरि पनि कहीँ न कहीँ देशलाई चुनावमै धकेल्ने दिशातिर हो ?

होइन, मैले चुप्प लागेर सरकार चलाइरहन्छु नि । किन चुनावतिर धकेल्नु ? चुनाव किन गराइरहनु पर्‍यो ? सरकार खुरुखुरु चलाउनुपर्‍यो नि । अब दुई वर्ष पनि बाँकी छैन खुरुखुरु सरकार चलाइन्छ नि । २२-२३ महिना बाँकी रहँदा किन परिवर्तन गर्नु परेको छ र ? राम्रो काम गरेको छ सरकारले । अनि कहाँ चुनावमा जाने भनेको छु र मैले ?

राष्ट्रपति कार्यालयमा पनि तपाईंले चुनावको कुरा उठाउनुभयो भन्ने छ नि ?

अरुले भूमिका निर्वाह गरेर त्यहीँ लगेर हाल्दिए भने त चुनाव पनि हुन्छ । संविधानले पनि त्यही भनेकाले चुनाव त संविधानले गराइहाल्छ नि ।

एकातिर बामदेव गौतमले एकता अभियान चलाइरहनुभएको छ । उहाँले वामपन्थी गठबन्धनको सरकार भन्नुभएको छ र माधव नेपाल पक्षले पनि त्यही भन्नुभएको छ । तपाईंको प्राथमिकता फेरि पनि यही वामपन्थी गठवन्धनकै सरकारलाई निरन्तरता दिने हुन्छ कि अर्को कोहीसँग मिलेर आफ्नो सरकार टिकाउने हुन्छ ?

होइन, मलाई यो वामपन्थी-सामपन्थी भन्दा पनि… त्यो त उहाँहरूले तोडि पनि सक्नुभयो, भत्काइसक्नुभयो, किस्ती लिएर अन्त पुगिसक्नुभयो । अरुलाई प्रधानमन्त्री बन्नुहोस् भनेर उहाँहरूले निवेदन हालिसक्नुभयो । भनेपछि अब वामपन्थी सरकार भन्ने के पो रह्यो र । म त सबैको समर्थन चाहन्छु नि ।

मैले विकास-निर्माणका काम गरेको छु । जनताको सेवामा राम्रो काम गरेको छु । सामाजिक उत्थान र सुधारका लागि राम्रो काम गरेको छु । विकास निर्माणको यत्रो लहर आएको छ । यति कुराहरू भएका छन् । त्यसो भएर मेरो नेतृत्वको सरकारलाई सबैले समर्थन गरेर यो डेढ वर्षजति बाँकी छ… अब वस्तुत: भन्ने हो भने यो डेढ वर्ष जति चलाउँ, अनि चुनाव गराउँ । चुनाव गराउँदाखेरि लोकतन्त्र समाप्त हुदैन है । यो चुनाव गराउँदा लोकतन्त्र समाप्त हुन्छ भन्ने जुन भ्रम छ नि, त्यो कुनै पनि हालतमा होइन ।

आफ्नै पार्टीले प्रधानमन्त्रीबाट राजीनामा मागिरहेको छ । फेरि तपाईं अहिले यस्तो कुरा गर्दै हुनुहुन्छ ?

होइन, एक-दुई जनाको कुरा हो । बहुदलीय व्यवस्थामा आफ्ना पार्टी भित्रका मान्छेले के असन्तुष्टिले, के पाइनँ भनेर, मेरो तृप्ती भएन, माग पूरा भएन भनेर कसैले राजीनामा माग्यो भन्दैमा, कसैको अराजकता देखियो भन्दैमा, कसैले अनुशासनहीन काम गर्‍यो भन्दैमा राजीनामा दिनु पर्दैन ।

एमालेसँग १ सय २१ सांसद रहेकोमा तपाईंले जनता समाजवादी पार्टीलाई फुटाएर सरकारलाई निरन्तरता दिन खोज्दै हुनुहुन्छ भन्ने पनि आरोप छ नि ?

किन जनता समाजवादी पार्टी फुटाउनु पर्‍यो र मैले ?

डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले तपाईंलाई जसरी पनि बहिर्गमन गर्नुपर्‍यो भन्नुभएको छ । उहाँहरू बाहेकलाई लिएर सरकारलाई निरन्तरता दिन खोज्नुभएको छ कि ?

यो राजनीतिलाई तपाईंले स्थिररूपमा नबुझिदिनुस् न । यो त गतिशील चिज हो नि । त्यसकारण आफ्नै पार्टीको हालत यस्तो छ । भनेपछि त्यस्तो हुँदोरहेछ नि । कांग्रेसभित्र पनि मतभेद छ, अन्य पार्टीभित्र पनि मतभेद छ । तपाईंले भन्नुभयो, जसपा फुटाएर ल्याउने । यसको मतलव अन्तरविरोध त्यहाँ पनि रहेछ भन्ने त देखियो । त्यस्ता अन्तरविरोध हुन्छन् । तर, हामी देश र जनताको हितमा केन्द्रित हुनुपर्छ । विकास निर्माणका काममा केन्द्रित हुनुपर्छ । आफ्ना स्वार्थ, अहंकार, जिद्धी, यस्ता कुरामा केन्द्रित हुने अनि, गुट गर्न पाउनुपर्छ पार्टीमा भनेर दम्भ देखाउन मिल्छ ? पार्टीमा गुट बनाउन पाइँदैन क्या । साथीहरू आउनुहोस्, मिलेर बसौ, मिलेर काम गरौ । हिजो जे भयो सबै बिर्सेर काम गरौ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि?