‘फौज र जनप्रतिनिधि भएर गाउँपालिकाको नेतृत्व गर्नुमा धेरै फरक महसुस गरेँ’

म्याग्दी । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन भारतीय गोरखा सैनिकबाट सेवानिवृत्त क्याप्टेनसमेत हुन् । पर्यटकीयस्थल घोडेपानीमा लामो समय होटल र पर्यटन व्यवसायको अनुभव सँगालेका पुनले आफूले जनप्रतिनिधिको हैसियतमा पाएको सुविधालाई विपन्नको शिक्षा, स्वास्थ्यलगायत सामाजिक काममा परिचालन गरेका छन् ।

सेनामा रहँदा पौडीमा अन्तरराष्ट्रिय पदकसमेत जित्नेका पुनसँग गाउँपालिकाका गतिविधि, समस्या, सम्भावना र चुनौतीका विषयमा केन्द्रित रहेर सन्तोष गौतमले गरेको कुराकानीको सम्पादित अंश :

स्थानीय तहको करीब चार वर्ष नेतृत्व गर्दाको अनुभव कस्तो रह्यो ?

भारतीय सैनिकको २१ वर्ष नौ महिनाको जागीर छाडेर नेपाल आउँदा स्विमिङ र डाइभिङको प्रशिक्षक बन्ने सपना थियो । भारतको राष्ट्रिय र अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागी भएर थुप्रै पदक दिलाएको अनुभवका आधारमा नेपालमा आफूले सिकेको सीप सिकाउने रहर थियो तर अवसर पाइन । परिस्थितिले राजनीतिमा ल्यायो । जनताको सेवा र विकास कसरी गर्न सकिन्छ भनेर लागिरहेको छु । क्याप्टेन भएर फौजको र जनप्रतिनिधि भएर पालिकाको नेतृत्व गर्नुमा धेरै फरक महसुस गरेँ । फौजको कमाण्ड गर्दा तत्कालै रिजल्ट आउने काम हुन्थ्यो भने पालिकामा सबैको विचार सुनेर, भावना बुझेर काम गर्नुपर्छ । शुरुआतमा कर्मचारी, अनुभव, कानून, ऐनका अभाव देखिए पनि अहिले सबै अभाव हटेर पालिकाले लय समातेको छ । गाउँपालिका संस्थागत हुँदैछ । जनताको आशा र विश्वास बढेको छ । जनताका बीचमा रहेर काम गर्दा करीब चार वर्ष बितेको पत्तै भएन ।

अन्नपूर्ण गाउँपालिकाले अहिलेसम्म हासिल गरेका मुख्य उपलब्धि के के हुन् ?

जनताको आवश्यकता र हामीले चुनावमा गरेका प्रतिबद्धताअनुसार पूर्वाधार, सामाजिक र आर्थिक विकासका योजना तथा कार्यक्रम सञ्चालन गरेका छौँ । पूर्वाधारतर्फ गाउँपालिकाको केन्द्र पोखरेबगरबाट सबै वडा र बस्ती सडक सञ्जालमा जोडिएको छ । त्यहाँ बाह्रै महिना सवारी साधन चलाएर यातायात सुविधा दिन प्रदेश र सङ्घीय सरकारसँग सहकार्य गरेर स्तरोन्नति, मोटर पुल बनाउने काम भइरहेको छ । अधुरो रहेका ५ र ६ नं वडाको भवनलाई पूर्णता दिनाका साथै सामुदायिक भवन, खेलमैदान र पैदलमार्ग निर्माण भएको छ । गाडपार, लेकगाउँ, सुवा, औला, पाउद्वार, किन्दु र घोडेपानीमा सडक पु¥याएका छौँ । घार, दोवा र घराम्दीमा एक घर एक धारासहितको खानेपानी आयोजना निर्माण हुँदैछ । पोखरेबगरबाट घार, खिवाङ, शिख हुँदै चित्रे जोड्ने सडक राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत कालोपत्र हुँदैछ । बेनी–जोमसोम–कोरला सडक आयोजनाले हाम्रो भूगोलमा पर्ने महभीरबाट मुस्ताङको सिमाना काभ्रेभिरसम्म सडक कालोपत्र गर्दैछ ।

सामुदायिक विद्यालयमा इन्टरनेटको प्रयोगबाट टेलिटिचिङ शुरु भएको छ । प्रदेश सरकारसँगको साझेदारीमा शिखमा नमूना आवासीय मावि सञ्चालन गरेका छौँ । दोवामा पालिकास्तरीय अस्पताल बनाउन जग्गा प्राप्ति गरेर ठेक्का प्रक्रियामा लगेका छौँ । दलित, महिला, जनजाति, अपाङ्गता भएकाहरुको क्षमता विकास, कला र संस्कृतिको संरक्षण, पर्यटकीयस्थलमा पूर्वाधार निर्माण, स्थानीय सरकार सञ्चालनसम्बन्धी ऐन, कानून निर्माण गरेर लागू गरेका छौँ । यहाँका तातोपानी कुण्ड, पर्यटकीयस्थललाई करको दायरामा ल्याएर भएको आम्दानी त्यहीँको विकासमा परिचालन गरेका छौँ । आलुको व्यावसायिक उत्पादन केन्द्र, सुन्तलाको पकेट क्षेत्र बनाएको छौँ । बेरोजगार र विपन्नलाई पशुपालन, जडीबुटी खेती र अन्य सीपमूलक काममा जोडेर आयआर्जन सुधारमा सघाएका छौँ ।

पर्यटन क्षेत्रको विकासमा केकस्ता काम भएका छन् ?

विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्ग र आठ हजार मिटरभन्दा अग्लो पहिलोपटक मानव पाइला परेको अन्नपूर्ण हिमाल हाम्रो भूगोलमा पर्छ । अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने ‘मौरिज हर्गोज’ पदमार्ग पहिचान गरेर पर्यटन विभागबाट पूर्वाधार निर्माण शुरु भएको छ । ओझेलमा परेका पर्यटकीयस्थलको प्रचारप्रसार गर्न गत वर्ष प्रथम अन्नपूर्ण पर्यटन महोत्सव र अध्यक्ष कप खेलकूद प्रतियोगिता सञ्चालन गरेका थियौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १०० पर्यटकीयस्थलमा सूचीकृत गरेको घोडेपानी, पुनहिल र मोहरेडाँडामा पूर्वाधार निर्माण भइरहेको छ । घोडेपानीबाट पुनहिल जोड्ने पदमार्गमा सोलार जोडिएको छ । पुनहिलमा दृश्यावलोकन केन्द्र बनाएका छाैँ ।

पुनहिलबाट मोहरेडाँडा जोड्ने पदमार्ग निर्माण भएको छ । मोहरेडाँडाको सामुदायिक लजको क्षमता बढाएका छौँ । घोडेपानीबाट प्यारीबाराही ताल जोड्ने घोडा र साइकलबाट यात्रा गर्न सकिने पदमार्ग बनाउन लागेका छौँ । गण्डकी प्रदेशकै ठूलो घोडेपानी क्षेत्रमा पर्ने फूलबारीमा गुराँस उद्यान बनाउने तयारी भएको छ । खोपारा लेक जोड्ने पदमार्ग निर्माण, सामुदायिक लजको क्षमता विस्तार शुरु भएको छ । जलथले–फगाम र भुरुङबाट मुन्द्रा चडाउने डाँडा हुँदै धवलागिरि आइसफलसम्म जोड्ने पदमार्ग निर्माण भइरहेको छ । केही समय अगाडि मेरै नेतृत्वमा ट्रेकिङ एशोसिएशन (टान)को टोली अन्नपूर्ण नर्थ बेसक्याम्प पुगेर आएका थियौँ । अत्यन्तै सुन्दर त्यस स्थानसम्म आन्तरिक तथा बाह्य पर्यटकलाई पु¥याउनका लागि हामीले पहल गरिरहेका छौँ । त्यो सफल हुनु गाउँपालिकाका लागि निकै ठूलो उपलब्धि हो ।

हाम्रो गाउँपालिकामा रहेका चार वटा तातोपानी कुण्डलाई व्यवस्थित बनाउन पूर्वाधार निर्माण भइरहेको छ । स्थानीयवासीको रोजीरोटी बढ्ने र आन्तरिक तथा बाह्य पर्यटकले पनि सुविधा पाउने हिसाबले काम गरिरहेका छौँ । स्थानीयवासीलाई नै अग्रसर गराएर धेरैभन्दा धेरै पर्यटकको सुविधा हुने गरी व्यवस्थित बासस्थानको प्रबन्ध गर्नेतर्फ लाग्नेछौँ ।

अन्नपूर्ण गाउँपालिकामा सञ्चालित जलविद्युत् आयोजनाको अवस्था कस्तो छ ?

अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने दानाबाट पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोट जोड्ने ३९ किलोमिटर प्रसारण लाइन हालै निर्माण सकिएको छ । दुवै ठाउँमा २२० केभी क्षमताको सबस्टेशन पनि निर्माण भएको छ । कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजनामार्फत निर्माण भएको यो सबस्टेशन र प्रसारण लाइनले अन्नपूर्ण गाउँपालिकामा जलविद्युत् विकासमा महत्वपूर्ण योगदान छ । अनुमति लिएर बसेका आयोजना निर्माणले गति लिन थालेका छन् । पाँच मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजनाले गत वर्षदेखि नै उत्पादन शुरु गरेको थियो ।

बयालीस मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत् आयोजनाले परीक्षण उत्पादन शुरु गर्ने तयारी गरेको छ । एक सय १० मेगावाट क्षमताको निलगिरि पहिलो र दोस्रोका साथै १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजना निर्माणाधीन छन् । छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाले पहुँचमार्ग खनेर सकेको छ । एक सय ६५ मेगावाट क्षमताको कालीगण्डकी गर्ज, ५३ मेगावाट क्षमताको अपर कालीगण्डकी जलविद्युत् आयोजना पनि निर्माणको प्रक्रियामा छन् । जलविद्युत् आयोजना निर्माणमा आउने सामाजिक समस्या समाधानका लागि सहजीकरण गरेका छौँ । यी आयोजना निर्माण भएर रोयल्टी आउन थाल्यो भने हाम्रो गाउँपालिकाको विकासमा धेरै ठूलो योगदान पुग्ने अपेक्षा गरेका छौँ ।

तपाईँले जनप्रतिनिधिको हैसियतमा पाएको सुविधालाई सामाजिक क्षेत्रमा परिचालन गर्नुभएको छ । कसरी र किन गर्नुभएको हो ?

क्याप्टेनको पेन्सनले मेरो व्यक्तिगत खर्च चल्छ । परिवारको आफ्नै व्यवसाय छ । जनप्रतिनिधि बनेपछि श्रीमती र छोरालाई होटलको जिम्मा लगाएको छु । जनतासँग गरिएको प्रतिबद्धताअनुसार सेवा सुविधालाई सामाजिक क्षेत्रमा लगाइएको हो । गण्डकी प्रदेश सरकारले गाउँपालिकाका अध्यक्षलाई विभिन्न शीर्षकमा मासिक रु ४८ हजार सुविधा तोकेको छ । अहिलेसम्म विपन्नको शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, खेलकूद, संस्कृति संरक्षण, धार्मिकस्थलको विकास र बजेट अभावले अधुरा बनेका विकास आयोजनालाई पूर्णता दिन सुविधावापत पाएको रु १८ लाखभन्दा बढी खर्च गरेको छु । खातामा रु तीन लाख बाँकी छ । गाउँपालिकाबाट सम्बोधन गर्न नसकिने जनताका ससाना समस्यालाई मैले पाएको सुविधाबाट व्यक्तिगत हिसाबले सहयोग गरेको हो । यसमा मेरो कुनै राजनीतिक स्वार्थ छैन । जनप्रतिनिधि नहुँदाका अवस्थामा पनि मैले क्षमताअनुसार सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको थिएँ ।

तपाईँ भारतीय सेनामा रहँदा विभिन्न अन्तरराष्ट्रिय पदक पनि जित्नुभएको रहेछ ? पालिकाले खेल क्षेत्रको विकासका लागि के गरेको छ ?

गोरखा सैनिकमा रहँदा स्विमिङ र डाइभिङमा सन् १९७८ मा क्यानडामा भएको एघारौँ कमनवेल्थ, १९८२ को दिल्लीको नवौँ र १९८६ मा दक्षिण कोरियामा भएको एघारौँ एशियाली खेलमा पदक दिलाएको थिएँ । भारतको सन् १९७५ देखि ७९, ८१, ८२ र ८६ को राष्ट्रिय खेलकूद प्रतियोगिताको स्वर्ण पदक जितेको थिएँ । दश वर्षसम्म भारतको राष्ट्रिय पौडी प्रशिक्षकको भूमिका निर्वाह गरेको थिएँ तर मेरा मेडल र पदक कुना परेका छन् । विगत सम्झिँदा र कला सिकाउन नपाउँदा मन खिन्न हुन्छ । पौडी र गोटाखोरको प्रशिक्षक बनेर सीप सिकाउने सपना अझै जीवित छ । खेलकूदको विकासमार्फत देशलाई चिनाउन पालिकाबाट खेल प्रशिक्षण र पूर्वाधार निर्माणमा जोड दिएका छौँ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *