सुरक्षा पन्तको यौनजन्य हिंसा अनुभव : मलाई फोन गरेर एक रातको रेट सोध्थे – Nepal Press

सुरक्षा पन्तको यौनजन्य हिंसा अनुभव : मलाई फोन गरेर एक रातको रेट सोध्थे

काठमाडौं । नायिका सुरक्षा पन्तले आफूमाथि भएका यौनजन्य दुव्र्यवहारको विषयमा खुलेर बोलेकी छन् । एक टेलिभिजन कार्यक्रममा उनले सानैदेखि दुव्र्यवहारको शिकार बनेको र चलचित्र क्षेत्रमा आएपछि समेत त्यो जारी रहेको बताइन् ।

कांग्रेस नेता विश्वप्रकाश शर्माले सञ्चालन गर्ने टेलिभिजन कार्यक्रममा पूर्वमिस नेपाल श्रृंखला खतिवडासँगै उनी सहभागी भएकी थिइन् । प्रस्तोताको भूमिकामा रहेका शर्माले दुई सुन्दरीलाई उनीहरुले भोगेका यौनजन्य हिंसाको अनुभूतिहरु सेयर गर्न आग्रह गरेका थिए ।

सुरक्षाले भनिन्, ‘हामी पनि सानैदेखि ह्यारेसमेन्टको पार्ट भइरहेकै हो । सानोतिनो घटना भइरहेका हुन्छन् ।’ उनले एउटा घटना सुनाइन्, ‘अलि सानो छँदा बाटोमा हिँडिरहेको थिएँ । बाइकमा आएका दुईजना केटाले मेरो छातिमा हात राखेर स्वाट्ट भागे ।’

सुरक्षाले आफ्ना सिनियर दाइहरुले पाठ सिकाउने बहानामा नजिक हुन खोजेकोदेखि कक्षाकोठामा शिक्षकबाट ‘ब्याड टच’ को शिकार भएका अनुभवहरु सेयर गरिन् । सिनेमा क्षेत्रमा आउँदा पनि विभिन्न किसिमले दुव्र्यवहार भोग्नुपरेको उनको भनाइ छ ।

‘सुरु–सुरुमा मलाई अपरिचित नम्बरबाट धेरै फोन आउँथे । अनि डाइरेक्ट तिम्रो ‘रेट’ कति हो ? एक रातको कति लिन्छौ ? जस्ता कुराहरु सोध्थे । म झसंग बन्थेँ ।’ उनले भनिन्, ‘के कुरा गरेको तपाईंले यस्तो भन्दा यो त नर्मल हो जसले पनि गर्छन्, भन्थे । त्यस्तो सुन्दा त यो पेशालाई लिएर नै म झसंग हुन्थेँ ।’

अहिले पनि म्युजिक भिडियोमा अभिनय गर्ने क्रममा असहज परिस्थितिको सामना गर्नुपर्ने सुरक्षाले उल्लेख गरिन् । खासगरि, अभिनयभन्दा बाहिरको ब्याकग्राउन्डबाट आएकाहरुसँग अन्तरंग दृश्य सुटिङ गर्दा अनकम्फर्टेबल फिल हुने गरेको उनले बताइन् ।

‘विदेशमा बस्नुभएकाहरु नन एक्टर्सहरु धेरैले फिल्म वा म्युजिक भिडियो खेल्न प्रस्ताव गर्नुहुन्छ । तर उहाँहरुसँग अभिनय गर्दा धेरै असहजता महसुस गर्ने गरेकी छु । संवेदनशील दृष्यहरु, जस्तो बेड सिन, किस सिन, इन्टिमेट सिनहरु सुटिङ गर्दा उहाँहरुले नजानेर हो वा नियतवस हो गलत तरिकाले प्रिजेन्ट हुनुहुन्छ ।

उनीहरुलाई अभिनयको शिल्प थाहा नभएर पनि हुन सक्छ वा जानाजान पनि हुन सक्छ, आवश्यकताभन्दा बढी इन्टिमेट हुन खोज्नुहुन्छ । त्यो बेला अम्प्लिेक्स सिचुयसन आइदिन्छ,’ सुरक्षाले सुनाइन् ।

एकजनालाई प्रहरीमै पुर्‍याएँ : श्रृंखला

पूर्वमिस नेपाल श्रृंखला खतिवडाले पनि आफूले भोगेका दुव्र्यवहारहरुको अनुभव विश्वप्रकाशसँग सेयर गरिन् । बाल्यकालदेखि नै थरिथरिका ह्यारेसमेन्ट भोग्नुपरेको उनको भनाइ छ ।

‘सार्वजनिक यातायातदेखि मुभी थिएटरसम्म ब्याड टचको शिकार हुनुपरेको छ । कलेज पढ्दा एकजनालाई त प्रहरीमै पुर्‍याएकी छु,’ उनले भनिन् ।

श्रृंखलाका अनुसार कलेजमा उनलाई एक युवकले मन पराएका थिए । तर, आफूले इन्ट्रेस्ट नदिएपछि जबरजस्ती नजिकिन खोजेको उनले बताइन् ।

‘उनी फोर्सफुल्ली मसित बोल्न र नजिक हुन खोज्थे । यसले मलाई ह्यारेसमेन्ट फिल भयो र मैले यो कुरा प्रहरीमा पुर्‍याउनुपरेको थियो,’ श्रृंखलाले भनिन् ।

मिस नेपाल भएपछि चाहिँ दुव्र्यवहारको शिकार हुनु नपरेको उनले बताइन् । ग्ल्यामर क्षेत्र एकदमै आकर्षक भए पनि युवतीहरु धेरै किसिमका ह्यारेसमेन्टबाट जोगिनुपर्ने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर