गण्डकीको रिक्त प्रमुख सचिवमा ३ जनाको नाम सिफारिस हुँदै – Nepal Press

गण्डकीको रिक्त प्रमुख सचिवमा ३ जनाको नाम सिफारिस हुँदै

काठमाडौ । गण्डकी प्रदेश प्रमुख सचिवको पद रिक्त भएको छ । प्रमुख सचिवको जिम्मेवारीमा रहेका विष्णुप्रसाद नेपालले सोमबारदेखि अनिवार्य अवकाश पाएपछि पद रिक्त भएको हो । उमेर हदका कारण नेपालले अवकाश पाएसँगै प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालका सचिव रामचन्द्र ढकालले निमित्त प्रमुख सचिवको जिम्मेवारी सम्हालेका छन् ।

ढकालले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक तथा प्रशासन महाशाखाको जिम्मेवारी सम्हालिरहेका छन् । मन्त्रालयमा प्रशासकीय सुधार तथा समन्वय महाशाखाको जिम्मेवारी सम्हालेका अर्का सचिव इन्दु घिमिरे भए पनि वरिष्ठताका आधारमा ढकालले निमित्त प्रमुख सचिवको जिम्मेवारी पाएका हुन् । प्रमुख सचिव नेपालले अनिवार्य अवकाश पाएको ३ दिन बित्न लागे पनि गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेभ साइटमा प्रमुख सचिव नेपालकै नाम छ ।

नेपाललाई ९ महिनाअघि मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवा गरेको थियो । तत्कालीन शिक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले अनिवार्य अवकाश लिएसँगै रिक्त रहेको सचिव पदमा उनको बढुवा भएको थियो । बढुवा गर्दा लोक सेवा आयोगका अध्यक्ष नेतृत्वमा रहेको बढुवा समितिले सहसचिव गोकर्णमणि दुवाडी, डा. मान बहादुर विके र विष्णु नेपालको नाम सिफारिस गरेको थियो । नेपालपछि विके र दुवाडी पनि सचिवमा बढुवा भइसकेका छन् ।

सचिवको पद रिक्त भएको चौथो दिन लोक सेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको अध्यक्षतामा रहेको बढुवा समितिको बैठक बस्न लागेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालय स्रोतका अनुसार कार्य क्षमताका आधारमा रिक्त रहेको सचिवमा बढुवाका लागि सह–सचिव दामोदर रेग्मी, डा.मुकुन्द प्रसाद पौडेल र गणेश प्रसाद पाण्डेको नाम सिफारिस हुने जनाइएको छ ।

रेग्मी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा, पौडेल राष्ट्रिय सूचना आयोगमा र पाण्डे उद्योग, बाणिज्य तथा आपूर्ती मन्त्रालयमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *