माओवादी केन्द्र खोसिएपछि गोपाल किराँती भन्छन्- अन्याय खप्ने कि नखप्ने पार्टीमा छलफल गर्दैछु – Nepal Press

माओवादी केन्द्र खोसिएपछि गोपाल किराँती भन्छन्- अन्याय खप्ने कि नखप्ने पार्टीमा छलफल गर्दैछु

‘विप्लवदेखि बादलसम्मलाई जोड्न प्रयासमा छु’

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीलाई छिन्नभिन्न पार्ने गरी सर्वोच्च अदालतले फैसला गरेपछि काठमाडौंका मिडियामा गोपाल किराँतीको निकै खोजी भयो । तर, उनी कसैको फोन सम्पर्कमा आएनन् ।

किराँतीलाई खोजिनुको कारण थियो, नेकपा माओवादी केन्द्र नामको पार्टी उनको नाममा निर्वाचन आयोगमा दर्ता रहनु । सर्वोच्चको फैसलालाले तत्कालीन नेकपा (एमाले) र नेकपा माओवादी केन्द्र ब्युँताइदिएको थियो । जबकि यो बीचमा यी दुवै नाममा अरुले नै पार्टी दर्ता गरिसकेका थिए । निर्वाचन आयोगमा नेकपा एमाले सन्ध्या तिवारीको नाममा थियो भने माओवादी केन्द्र किराँतीको नाममा ।

सन्ध्या तिवारीलाई धेरैले ‘केपी ओलीकै मान्छे’ठानेका थिए । तसर्थ उनले एमाले ब्यूँताउने कुरामा कुनै व्यवधान गर्ने अपेक्षा थिएन । गरिनन् पनि । उनले निर्वाचन आयोगको निर्देशनअनुसार आफ्नो पार्टीको नाम पनि फेरिसेकेकी छन् । तर, गोपाल किराँतीले चाहिँ के गर्छन् भन्ने कौतुहल धेरैलाई छ । आफूले वैधानिकरूपमा दर्ता भएको पार्टी अचानक खारेजीमा पर्दा उनलाई अन्याय त भएकै छ । र, उनी अन्याय सहेर बस्ने सोझा नेता पनि होइनन् ।

लामो प्रयासपछि नेपाल प्रेसको सम्पर्कमा आएका किराँतीले सर्वोच्चको फैसला आउँदा आफू पारिवारिक कामले काठमाडौंबाहिर भएकाले कसैको फोन सम्पर्कमा नरहेको बताए ।

उनले सुनाए, ‘मेरो बडाबाउ जेलमा हुनुहुन्छ, जनयुद्धकै मुद्दामा । उहाँको २२-२३ वर्षको तरुनी छोरी ५८ वर्षको बुढासँग भागिछन् । मुस्ताङमा लुकेर बसेका रहेछन् । उनीहरूलाई खोज्न मुस्ताङ पुगेको थिएँ । फोन नलाग्ने ठाउँमा ८-१० दिन बिताउँदा यता यत्रो उथलपुथल भएछ ।’

फागुन २९ गते काठमाडौं फर्केपछि उनले पार्टीमा आन्तरिक छलफल गरिरहेको बताए । सर्वोच्चको फैसलालाई किराँतीले ‘राज्यको स्वैच्छाचारितापूर्ण अन्याय’ को संज्ञा दिए ।

‘मसँग निर्वाचन आयोग दिएको दल दर्ताको प्रमाणपत्र छ । दर्ता भएको दल यसरी खारेज हुनसक्ने कुनै प्रावधान संविधानमै छैन । त्यसैले यो असंवैधानिक र स्वैच्छाचारी फैसला हो । अब अन्याय खप्ने कि नखप्ने छलफल गर्दैछु,’ किराँतीले भने ।

निर्वाचन आयोगले लेखेको पत्रअनुसार पार्टीको नाम र चिन्ह परिवर्तन गर्ने एउटा विकल्प र फैसलाको पुनरावलोकनका लागि निवेदन दिने अर्को विकल्प आफूसँग रहेको उनले बताए । दुईमध्ये कुन प्रक्रियामा जाने भन्ने टुंगोमा पुगिनसकेको उनको भनाइ छ ।

‘अब त पार्टी पुरानै अवस्थामा फर्कियो । तपाईं पनि प्रचण्ड नेतृत्वकै माओवादी केन्द्रमा समाहित हुने सम्भावना कति छ ?’ भन्ने नेपाल प्रेसको प्रश्नमा किराँतीले त्यस्तो सम्भावनालाई नकारे । बरु आफूले माओवादीबाट छिन्नभिन्न भएका सबै नेताहरूलाई जोडेर पार्टीको पुनर्गठनका लागि प्रयास गर्ने उनले बताए ।

‘प्रचण्डसित मात्रै त हुँदैन । बरु वैद्य, विप्लव, बाबुरामदेखि बादलसम्मलाई मिलाउन हाम्रो नीतिगत आग्रह छ । अरु पनि सबै कम्युनिष्टबीचमा ध्रुवीकरण गरौं भन्ने हो । छलफलका क्रममा कोही नजिक कोही टाढा हुन सक्छन् । हामी अब त्यसमा लाग्छौं,’ किराँतीले भने ।

हाम्रो थप जिज्ञासा किराँतीले यसरी मेटाए

बादललगायतका नेताहरू केपी ओली नेतृत्वको एमालेमा समाहित हुनुभयो, यसमा तपाईंको प्रतिक्रिया के छ ?

यसमा हाम्रो टिप्पणी केही छैन । तर, पूर्वमाओवादी र कम्युनिष्टको ध्रवीकरणमा बादल पनि आउनुपर्छ र आउनुहुन्छ भन्ने हाम्रो आशा हो । हामी कुनै हतारमा छैनौं ।’

‘प्रचण्ड वा माओवादीका अरु नेताले तपाईंलाई सम्पर्क गरेर फर्किन आग्रह गर्नुभएको छ ?’

फोनबाट सामान्य कुराकानी भएको छ । तर गहन छलफल भएको छैन । निर्वाचन आयोगका अनुसार १० गतेसम्ममा गर्नुपर्छ अरे । म अहिले आफ्नो पार्टीभित्रै छलफल गर्दैछु ।’

योबीचमा तपाईंको पार्टीको चर्चा त कतै थिएन । नेकपा माओवादी केन्द्रलाई ब्यूँताएर आजका दिनसम्म कहाँ पुर्याउनुभयो ?

हाम्रो पार्टीको संगठन देशब्यापी छ । हामी राज्यलाई चुनौति दिने तहमा त पुगेका छैनौं । तर संगठन निर्माणमा धेरै काम गरेका छौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर