माओवादीले भन्यो- सर्वोच्चको फैसलामाथि छिट्टै पुनरावलोकनमा जान्छौं (भिडियो) – Nepal Press

माओवादीले भन्यो- सर्वोच्चको फैसलामाथि छिट्टै पुनरावलोकनमा जान्छौं (भिडियो)

काठमाडौं । नेकपा माओवादी केन्द्र सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीलाई विभाजित गर्ने गरी सर्वोच्च अदालतले गरेको फैसलामाथि छिट्टै पुनरावलोकनका लागि जाने भएको छ ।

आज बसेको केन्द्रीय समितिको बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले सो जानकारी गराएका हुन् ।
श्रेष्ठका अनुसार आजको बैठकमा पार्टीका २० जना नेताहरुले बोलेका थिए । उनीहरूले विशिष्ट राजनीतिक परिस्थिति र क्रान्तिकारी आन्दोलनको एकीकरणजस्ता विषयमा आ-आफ्नो कोणबाट विचार राखेको श्रेष्ठले जानकारी दिए ।

‘हामीले यसअघि नै निर्णय गरेअनुसार सर्वोच्चको फैसलामाथि छिट्टै पुनरावलोकनमा जाने छौं । साथै, तत्कालीन परिदृष्यमा जोडिएका कार्यभारहरू पूरा गर्न देशका प्रमुख पार्टीहरुसँग संवाद तीब्र बनाउने निर्णय भएको छ,’ श्रेष्ठले भने ।

केन्द्रीय समिति बैठक हाललाई स्थगित गरिएको छ । अब पार्टीका नेताहरू जिल्ला र प्रदेशमा जाने श्रेष्ठले बताए ।

‘अहिले नै निर्धारित गरिएको जिम्मेवारी अनुसार तलसम्म संगठनात्मक काम सम्पन्न गर्नुपर्ने छ । त्यसपछि फेरि केन्द्रीय समिति बैठक शुरूआत गर्नेछौं,’ उनले भने, ‘त्यसपछि केही दिनमा राष्ट्रिय कार्यकर्ता भेला हुन्छ ।’

माओवादीबाट सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाइएका सम्बन्धमा भन पार्टीले थप निर्णय गरेन । अहिलेसम्म कुनै पनि मन्त्रीबाट पत्रको जवाफ नआएको श्रेष्ठले बताए ।

आजको बैठकमा जनार्दन शर्मा, शक्ति बस्नेत, पम्फा भुसाल, गणेशमान पुन, कृष्ण केसी, जयपुरी घर्ती, ओम शर्मालगायतले बोलेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर