विस्फोट अगाडी गोइतका विश्वासिला नेताले गरेका थिए आत्मसमर्पण – Nepal Press

विस्फोट अगाडी गोइतका विश्वासिला नेताले गरेका थिए आत्मसमर्पण

जनकपुरधाम । सिरहाको लहानस्थित मालपोत कार्यालयमा गराइएको बम विस्फोट अगाडी जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) का अध्यक्ष जयकृष्ण गोइतको विश्वासिलो नेताले आत्मसमर्पण गरेको खुलेको छ । सिरहा नगरपालिका १९ का अन्दाजी ६३ वर्षका रामविलाश यादवले आत्मसमर्पण गरेका खुलेको हो ।

उनी सिरहा क्याम्पसका पूर्व प्राध्यापक पनि छन् । माओवादी जनयुद्धमा लागेका उनले २०६१ सालमा गोइतको नेतृत्वमा अलग तराई राष्ट्रको माग गर्दै भूमिगत मोर्चा गठन गरेका थिए ।

सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले संघीय सरकारका कानून मन्त्री लीलानाथ श्रेष्ठको सहयोगमा यादव आत्मसमर्पण गरेको बताए । उनले यादव मोर्चाका अध्यक्ष गोइतका प्रमुख दोस्रो व्यक्ति रहेको पनि बताए ।

यादवमाथि बम विस्फोट सम्बन्धी दुई मुद्दा प्रहरीमा दर्ता रहेको छ । यद्दपी आत्मसमर्पण गरेलगत्तै यादवलाई छाडिएको खुलेको छ । ‘भन्नआत्मसमर्पण गरेका यादवलाई के गर्ने भन्ने विषयमा केन्द्रसँग सल्लाह गर्यौं । उताबाट आएको निर्देशन अनुसार निगरानीमा राखेर छाडेका छौं ।’ सहायक प्रजिअ निरौलाले भने ।

स्रोतका अनुसार मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँगै सल्लाह गरी यादवलाई आत्मसमर्पण गर्न लगाएका हुन् । सहायक प्रजिअ निरौलाले पछि यादवले सरकारसँग वार्ता गर्न सक्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *