माओवादी केन्द्रीय समिति बैठक शुरू, अदालतको फैसला अकल्पनीय – Nepal Press

माओवादी केन्द्रीय समिति बैठक शुरू, अदालतको फैसला अकल्पनीय

काठमाडौं । पुनःस्थापित नेकपा (माओवादी केन्द्र) को पहिलो केन्द्रीय कमिटी बैठक आजदेखि काठमाडौंमा शुरू भएको छ ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा शुरू भएको बैठकमा अध्यक्ष प्रचण्डले पछिल्लो अवस्था र पार्टीको अबको रणनीतिबारे जानकारी गराएका छन् ।

माओवादी केन्द्रको बैठकमा एमालेसँग एकता हुँदा माओवादीतर्फबाट बनेका केन्द्रीय सदस्यहरू सहभागी छन् । त्यसअघिको संरचना भद्रगोल रहेकाले साबिक नेकपाकै केन्द्रीय सदस्यहरूलाई केन्द्रीय कमिटी बैठकमा सहभागी गराइएको माओवादी स्रोतले जनाएको छ ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतको फैसला अकल्पनीय ढंगले आएकाले आफूहरुलाई ‘सेटब्याक’ भएपनि धुलो टक्टक्याएर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । अदालतको फैसलाले गम्भिर प्रश्न खडा गरेको प्रचण्डको भनाइ छ ।

एक केन्द्रीय सदस्यका अनुसार एमालेमा माधव नेपाल पक्षलाई केपी ओलीले प्रवेश नै नदिएको भन्दै ढिलो-चाँडो आफूहरू पुनः एक ठाउँमा आउनैपर्ने भएकाले माधव नेपाल पक्षलाई चिढ्याउने खालका अभिव्यक्ति र क्रियाकलाप नगर्नसमेत निर्देशन दिएका छन् ।

बैठकमा राजनीतिक अवस्थाबारे केन्द्र र प्रदेशको रिपोर्ट पेश, त्यसमाथि छलफल र सुझाव लिने, राष्ट्रिय कार्यकर्ता भेला र विविध गरी चार एजेण्डा छन् । पार्टीको नाम परिवर्तन र कम्युनिष्ट पार्टीबीच एकीकरणबारे पनि छलफल हुने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर