सल्यानमा चिन्ताजनक घटना : १६ वर्षीया किशोरीको पेटमा भाइको गर्भ – Nepal Press

सल्यानमा चिन्ताजनक घटना : १६ वर्षीया किशोरीको पेटमा भाइको गर्भ

सुर्खेत । सल्यानको बनगाड नगरपालिकाको एक गाउँ । श्रीमान खाडी मुलुकमा काम गर्न जाने र श्रीमती घरमा बसेर छोराछोरी स्याहार्ने गरी घर चलेका धेरै परिवार छन् यहाँ । यस्तै एउटा परिवारभित्र हालै भएको घटनाले सिंगै जिल्लावासीलाई स्तब्ध बनाएको छ ।

खाडी मुलुकमा पसिना बगाएर बुवाले पठाइदिएको पैसाले आमालाई छोराछोरी पाल्न ठिक्क हुन्थ्यो । विदेश जानुभन्दा पहिले बुवा भारतका विभिन्न शहरमा जाने गर्थे । भारतमा ज्याला मजदुरी गर्दा चार सन्तान र श्रीमतीको भरणपोषण राम्ररी गर्न नसकेपछि नसकिने ठानेर बुवा खाडीतिर हानिएका थिए ।

खाडी देशको रोजगारीले परिवारको धेरथोर आर्थिक उन्नति भयो । घरको छानो फेरियो । एक भान्छा कोठा, एक पाहुना कोठा, एक श्रीमान र श्रीमती सुत्ने र अर्को छोराछोरी सुत्ने कोठासहितको नयाँ घर बन्यो ।

चार छोराछोरीमध्ये जेठी छोरी १६ वर्षकी छिन् । उनीभन्दा पछि अर्की छोरी र त्यसपछि दुई छोरा । बढ्दो उमेरका उनीहरुको कोठा एउटै, विस्तारा एउटै । यो पक्षमा अभिभावकको ध्यान पुगेन । र, अकल्पनीय घटना भयो ।

केहि दिनअघि मात्रै सार्वजनिक भएको घटनाले परिवारलाई स्तब्ध तुल्याएको छ । १६ वर्षकी किशोरीले गर्भ बोकेकी छन् । र, उनले आफ्नो पेटमा रहेको गर्भ सहोदर भाइको भएको स्वीकारेकी छन् ।

बन्गाड कुभिण्डे नगरपालिकामा भएको घटना हो यो । किशोरीको गर्भ ८ महिनाको भइसकेपछि मात्रै यसको खुलासा भएको थियो ।

प्रदेश प्रहरी कार्यालय स्रोतका अनुसार हुर्केका दुई दिदी र दुई भाईहरु एकै कोठामा दुई ओछ्यानमा सुत्ने गरेका थिए । जेठी छोरीको पेट बढेपछि आमा झस्किइन् । सोधखोज गर्दा छोरीले जे भनिन्, त्यसले झन् उनको होशहवास उड्यो । उनले गत साउनमा एउटै कोठामा सुतेको बेला भाईले आफूसँग जबरजस्ति यौनसम्वन्ध राखेको दाबी गरेकी छन् ।

यो घटना प्रहरीमा पनि पुगिसकेको छ । प्रहरीले बलात्कार आरोपि किशोरलाई २६ फागुनमा नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । प्रहरी निरीक्षक वलीका अनुसार आरोपित किशोरले आफुले बलात्कार गरेको स्वीकार गरेका छन् । किशोर/किशोरीमा चेतनास्तर नै कम भएकाले यस्तो हुन पुगेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरी बताउँछ ।

‘कम्तीमा छोरा र छोरीको बढ्दो उमेरको ख्याल गर्नुपर्ने थियो । त्यसमा बाबुआमा चुक्दा यस्तो भएको मैले बुझेको छु । हुर्केका दिदीभाइलाई एउटै ओछ्यानमा सुत्न दिनु हँुदैनथ्यो ।’

बाब्आमाले छोरीको महिनावारी रोकिए र पेट बढेको पनि समयमै थाहा नपाउनु आश्चर्यजनक भएको उनी बताउँछन् ।

‘आठ महिनासम्मको पेटमा गर्भ रहेको कुरा आमाले किन थाहा पाईनन् ? बलत्कार नै भएको हो भने छोरीले पनि आमालाई समयमै किन भनिनन् ?’ उनले प्रश्न गरे । चार छोराछोरी सुतेको कोठामा बलत्कार हुन सम्भव नरहेको पनि उनको बुझाइ छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त प्रमुख एवम् प्रहरी निरीक्षक लक्ष्मण वली छोराछोरीको सानो–सानो कुरामा आमावुवा चनाखो हुनुपर्ने बताउँछन् ।

‘महिनावारी रोकिएको, पेट बढेको, खाना खान मन नलागेको वा अन्य कुनै लक्षण आमालाई थाहा हुनुपर्ने हो,’ उनी भन्छन्, ‘गाउँमा कोही महिलाहरु चार/पाँच महिनासम्म पनि मिन्स नहुने भएकाले पनि आमाको त्यतातिर ध्यान नपुगेको हुन सक्छ ।’

अभिभावकलाई पाठ

दिदी र भाइको नाता यति पवित्र मानिन्छ, जहाँ यस्तो खालको घटना कल्पना पनि गरिएको हुँदैन । तर, हुर्केका छोराछोरीका गतिविधिहरुमाथि अभिभावकले यथेष्ट ध्यान दिनुपर्ने यो घटनाल पाठ सिकाएको छ । साथै, किशोरावस्थाका केटाकेटीहरुमा यौनशिक्षाको जागरण पनि उत्तिकै महत्वपूर्ण हुने देखिएको छ ।

‘समाजमा अहिले पनि सेक्स सम्वन्धी कुरा आयो कि लुक्ने चलन छ । रेडियोमा यौनबारेमा कार्यक्रम आए रेडियो बन्द गरिदिन्छन्,’ प्रहरी निरिक्षक वली भन्छन् ।

यौनका बारेमा खुलेर कुरा गर्ने, बुआमाले छोराछोरीलाई उमेर अनुसार यस्तो विषयमा जानकारी दिने र गलत कामबाट जोगिन सल्लाह दिनुपर्ने उनको सुझाव छ ।

उनी भन्छन्, ‘यस्ता घटनाबाट हामी सबैले पाठ सिक्नुपर्ने अवस्था आएको छ । उमेर बढेका छोराछोरीलाई अलग राख्नुपर्छ भन्ने कुरा पनि सिकाउनुपर्ने अवस्था मैले महसुस गरें ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *