विनोद भण्डारीको अवरोध पन्छाउँदै आर्मीमाथि वाग्मतीको रोमाञ्चक जित – Nepal Press

विनोद भण्डारीको अवरोध पन्छाउँदै आर्मीमाथि वाग्मतीको रोमाञ्चक जित

काठमाडौं । काठमाडौं मेयर कप-२०७७ मा बिहीबार आफ्नो अन्तिम खेल खेलिरहेको त्रिभुवन आर्मी क्लब जितको नजिक पुगेर पनि निराश बनेको छ ।

वाग्मती प्रदेशविरुद्धको रोमाञ्चक प्रतिस्पर्धामा कप्तान विनोदको शतकीय इनिङका बाबजुद पनि १० रन पराजित भयो । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले फिल्डिङ गरेको आर्मीले १६७ रनको लक्ष्य पाएको थियो ।

शीर्ष दुई टोली- नेपाल पुलिस र एपीएफ क्लब फाइनलमा पुगेसँगै प्रतियोगिताबाट बाहिरिएको आर्मीका लागि विनोद भण्डारीले शानदार शतक प्रहार गरेका थिए । आर्मीलाई जितका लागि २६ बलमा १३ रन चाहिएको अवस्थामा विनोद आउट भएपछि उनको टोली स्मरणीय जितबाट वञ्चित भएको थियो ।

विनादले १ सय १४ बलमा ७ छक्का र ८ चौकाको मद्दतले एक सय १९ रन बनाए । यसअघि वाग्मतीका लागि पारस खड्काले शतक प्रहार गर्दै टिमलाई मजबुत स्थितिमा पुर्‍याएका थिए । पारसले संयमित ब्याटिङ गर्दै १३३ बलमा एक सय १९ रन जोडेका थिए ।

राउन्ड रोबिन पद्धतिको अन्तिम खेलमा जित हासिल गरे पनि यसअघिका दुई खेलमा पराजित वाग्मती फाइनल पुग्नबाट वञ्चित भएको छ ।

नेपाल पुलिस क्लब ४ खेलमा ३ जित र १ हारको नतिजासहित शीर्ष स्थानमा रहँदै र समान नतिजा निकालेको एपीएफ नेट रनरेटका आधारमा दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका छन् । एक-एक जित निकालेका आर्मी, वाग्मती र काठमाडौं मेयर-११ पहिलो चरणबाटै बाहिरिएका छन् ।

प्रतियोगिताको फाइनल शनिबार त्रिवि क्रिकेट मैदानमा हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर