बुलबुले उद्यानमा दोस्रो कर्णाली उत्सव शुरु – Nepal Press

बुलबुले उद्यानमा दोस्रो कर्णाली उत्सव शुरु

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा बुलबुले उद्यानमा बुधबारबाट दोस्रो कर्णाली उत्सव सुरु भएको छ । कर्णाली प्रदेशकै मौलिक धुनबाट सुरु भएको ४ दिनसम्म चल्ने छ ।

ऋति फाउन्डेसनले गरेको महोत्सवको उद्घाटन सत्रमा आयोजक समिति सदस्य रेशमबहादुर विष्टले महोत्सवले कर्णाली प्रदेशलाई चिनाउने विश्वास व्यक्त गरे । उनले पहिलो संस्करण र दोस्रो संस्करणबारे जानकारी दिए ।

‘कर्णाली सबै कुरामा धनी छ । तर, यसलाई चिनाउन जरुरी छ । यही कर्णालीको कथालाई बाहिर ल्याउनुपर्छ भनेर चियागफबाट सुरु भएको हो यो योजना,’ विष्टले भने, ‘यसले कर्णालीको खास परिचयलाई आम जनमानससम्म पुर्‍याउन सहयोग गर्ने अपेक्षा लिएको छु ।’

बुधबार महोत्सवको उद्घाटन सत्रमात्रै हुनेछ । नेपाल प्रज्ञा प्रतिष्ठानमा सदस्य सचिव प्राडा जगतप्रसाद उपाध्यायले विद्वत प्रवचन दिएका छन् । उनले ‘कर्णाली चिनाउने योगी’ सेसनमा योगी नरहरिनाथबारे विद्वत प्रवचन दिएका थिए । योगी नरहरिनाथ कर्णालीमा जन्मिनु हाम्रोमात्रै होइन, देशकै गौरवकै कुरा हो,’ उनले भने ।

योगी नरहरिनाथले पृथ्वीनारायण शाहको दीव्योपदेशलाई लिपिबद्ध गरेका थिए । ‘योगी नरहरिनाथले पृथ्वीनाराण शाहको दीप्योपदेशलाई पुस्तकको रुपमा नल्याएको भए एउटा इतिहास हराउँथ्यो ।’ उनले योगीले कर्णालीबारे थुप्रै कृति प्रकाशन गरेर कर्णाली चिनाउन पनि ठूलो भूमिका खेलेको बताए ।

गोर्खालीको शैन्य इतिहास, गुरुङमगर इतिहास, दुल्लू क्षेत्रलाई पनि लिपिबद्ध गर्ने पहिलो व्यक्ति नै योगी नरहरिनाथ भएको उपाध्यायले बताए । ‘उहाँले कला, साहित्य, इतिहास सबैमा कलम चलाउनु भएको छ,’ उनले भने, ‘उहाँ नेपालीका लागि गौरवको व्यक्ति हो ।’

योगी नरहरिनाथ राजावादी भनेर आरोप लगाइए पनि आफूलाई त्यस्तो नलाग्ने प्राडा उपाध्यायले बताए । ‘उहाँ राजाको कहिलेकाहीं वकालत गर्नुहुन्थ्यो । लहडमा गर्नुभयो होला ! तर, सचेत पनि गराइराख्नुहुन्थ्यो,’ उनले भने, ‘म उहाँलाई राजावादी भन्दिन, उहाँ विशुद्ध सन्त हो । राजा वा रंक जो सुकै होस् गलत गरे विरोध गर्नुहुन्थ्यो ।’ योगी नरहरिनाथलाई राष्ट्रिय विभूति घोषणा गर्न प्रदेश सरकारले अगुवाइ गर्नुपर्ने उनको धारणा थियो ।

४ दिनसम्म चल्ने महोत्सव प्रत्येक दिन कर्णालीकै मौलिक भाषामा छुट्याइएको छ । १४ वटा सेसनमा कर्णाली प्रदेशसहित देशैभरिका करिब ६० वक्ताको प्रस्तुती रहने महोत्सव आयोजक समिति सदस्य विष्टले जानकारी दिए ।

‘उत्सवका प्रत्येक दिनलाई हामी छुट्टाछुट्टै नाम दिएका छौैं,’ विष्टले भने, ‘पहिलो दिनलाई मान्नवी सेसन, दोस्रो दिन सुर्के थैली र तेस्रो दिन कैथा नेता, कैथा नेतृत्व नाम दिएका छौं ।’ सेसनहरु बिहीबारबाटमात्रै सुरु हुनेछन् ।

महोत्सव उद्घाटन सत्रमा भेरीगंगा नगरपालिका उपप्रमुख रेणु आचार्य ढकालले उत्सवले कर्णालीलाई नजिकबाट चिनाउन सहयोग गर्ने बताइन् । आजबाट सुरु भएको कर्णाली उत्सवको सुरुवात कर्णालीकै मौलिक धुनबाट सुरु गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर