बाइडेनले अस्ट्रेलिया, भारत र जापानका प्रधानमन्त्रीसँग शुक्रबार वार्ता गर्ने – Nepal Press

बाइडेनले अस्ट्रेलिया, भारत र जापानका प्रधानमन्त्रीसँग शुक्रबार वार्ता गर्ने

वासिङ्टन- अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार अस्ट्रेलिया, भारत र जापानका प्रधानमन्त्रीहरुसँग पहिलो पटक संयुक्त वार्ता गर्ने भएका छन् । यो गठबन्धनलाई सामरिक दृष्टिबाट चीन विरोधीका रुपमा लिने गरिन्छ ।

भर्चुअल विधिबाट हुन लागेको यो बैठकलाई राष्ट्रपति बाइडेनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले छिन्नभिन्न बनाउन खोजेको अमेरिकी गठबन्धनलाई पुनर्जीवित तुल्याउन खोजेको रुपमा लिइएको छ ।

ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीले मंगलबार पत्रकारहरुसँग कुरा गर्दै हिन्द–प्रशान्त (इन्डो-प्यासिफिक) क्षेत्रका गठबन्धन एवं साझेदार मुलुकसँगको निकट सहयोगलाई अमेरिकाले निकै महत्व दिएको सन्दर्भमा राष्ट्रपति बाइडेनले यो भर्चुअल बैठक गर्न लागेको बताइन् ।

चीनसँगको बढ्दो तनाबकै बीच “क्वीड” का नामले चिनिने इन्डो–प्यासिफिकका प्रमुख मुलुकहरुबीच व्यापार र सुरक्षालाई ध्यानमा राखेर छलफल हुनेछ ।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले बाइडेनले गठबन्धनको क्षमतालाई अर्को स्तरमा माथि लैजान खोजेको आफूलाई विश्वास लागेको बताए ।

“यो हाम्रो क्षेत्रका लागि ऐतिहासिक क्षण हो र यसले एउटा सार्वभौम, स्वतन्त्र इन्डो–प्यासिफिक क्षेत्रमा हाम्रो सहयोगको आवश्यकताका बारेमा बलियो सन्देश दिनेछ,” प्रधानमन्त्री मरिसनले संवाददातहरुसँग भने ।

प्रेस सचिव साकी र भारत दुबैले भर्चुअल बैठकका अवसरमा जलवायु परिवर्तन र कोभिड–१९ महामारीका विषयमा पनि छलफल हुने बताएका छन् । यी दुबै क्षेत्र बाइडेनका लागि प्रमुख प्राथमिकताका क्षेत्र हुन् । प्रेस सचिव साकीले यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बैठकमा भाग लिने घोषणा गरेकी थिइन् ।

भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेताहरुले क्षेत्रीय र विश्व मामिलाका केही प्रमुख विषयहरुमा छलफल गर्नु हुनेछ, र एउटा स्वतन्त्र, खुला र समावेशी इन्डो–प्यासिफिक क्षेत्र निर्माण गर्नेतर्फ सहयोगका व्यवहारिक क्षेत्रहरुका सम्बन्धमा विचार आदानप्रदान हुनेछ ।”

जापानी प्रधानमन्त्री योशिहिदे सुगा समेत सहभागी हुनुहुने यस बैठकमा सामुद्रिक सुरक्षा प्रबद्र्धनका विषयमा पनि कुराकानी हुनेछ । भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा एसियाली मुलुकमा कोभिड–१९ विरुद्ध लड्न सुरक्षित, समतामूलक र कम खर्चिलो खोपलाई सुनिश्चित गर्ने बारेमा पनि छलफल हुने उल्लेख गरिएको छ ।

जापानी प्रधानमन्त्री सुगाले बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग अलग्गै टेलिफोन सम्वाद गरेका थिए । उनीहरुबीच पूर्वी तथा दक्षिण चीन सागरका सम्बन्धमा यसअघिका समझदारीलाई चीनले उल्ट्याउन खोजेको विषयमा कुराकानी भएको थियो ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले संवाददाताहरुसँग कुरा गर्दै विश्वका जल्दाबल्दा समस्या सुल्झाउन क्वीड गठबन्धन सक्षम रहेको बताएका छन् । गत फेब्रुअरी १८ मा क्वीड गठबन्धन मुलुकका विदेश मन्त्रीहरुको बैठकले म्यान्मारमा सेनाले सत्ता लिएकामा आपत्ति जनाएको थियो ।

बैठकमा अमेरिकी अधिकारीहरुले म्यान्मार मामिलामा जापान र भारतले नरम नीति लिएको विषयमा चासो राखेका थिए । हाल जापान र भारतसँग म्यान्मारको मैत्रीपूर्ण सम्बन्ध रहेको छ । विगतमा चीनले म्यान्मारको सैनिक शासनलाई हरसम्भव सहायता गर्ने गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *