बुहारीको सनसनी बयानले बेलायतको राजसंस्था ‘उदांगो’ – Nepal Press

बुहारीको सनसनी बयानले बेलायतको राजसंस्था ‘उदांगो’

काठमाडौं- पब्लिक फिगरको व्यक्तिगत जीवन हुन्छ या हुँदैन ? ‘सेलेव्रिटी लाइफ’ श्यामश्वेत हुन्छ या रंगीन ? सार्वजनिक संस्था वा व्यक्तिको गोपनीयताको लक्ष्मणरेखा कहाँनेर कोरिएको हुन्छ ?

यी बारम्बार बहसमा आइरहने प्रश्नहरु हुन् । बेलायती राजपरिवारकी बुहारी मेगन मर्केलको एउटा ताजा अन्तर्वार्ताले फेरि यी प्रश्नहरुलाई सतहमा ल्याइदिएको छ । अमेरिकी टेलिभिजनकर्मी ओफ्रा विन्फ्रेसँगको उक्त ‘विस्फोटक’ अन्तर्वार्ताको चर्चा बेलायतमा मात्रै सीमित नरहेर विश्वव्यापी नै बनिरहेको छ । मर्केलले दिएका अभिव्यक्तिले बेलायती राजपरिवारभित्रका धेरै रहस्य एकसाथ उद्घाटित गरेको छ ।

अमेरिकाको सीभीएस टीभीमा प्रसारित दुई घन्टा लामो अन्तर्वार्तामा मेगन र उनका पति ह्यारीले जातिवाद, मानसिक स्वास्थ्य, सञ्चारमाध्यमसँगको सम्बन्ध र राजपरिवारसँग सम्बन्धित विषयमा बोलेका थिए । बकिङ्घम प्यालेसले हिजो राति एक विज्ञप्ति जारी गर्दै ह्यारी र मर्केलले उठाएका जातीय प्रश्नहरु गम्भीर रहेको र त्यसलाई पारिवारिकरुपमै समाधान गरिने जनाएको छ । रानीका तर्फबाट जारी वक्तव्यमा ह्यारी, मेगन र उनीहरुको छोराप्रति सधैं माया रहने उल्लेख छ ।

अन्तर्वार्तामा मर्केलले बोलेको कुरालाई प्रशंसा गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले साहसीपूर्ण र महत्वपूर्ण बताएका छन् । ह्वाइट हाउसका प्रवक्तामार्फत उनले मानसिक स्वास्थ्यका विषयमा मर्केलले बोलेका कुरा साहसीपूर्ण भएको भन्दै यसको छानबिन गर्नुपर्नेसमेत माग गरेका छन् । अमेरिकी राष्ट्रपतिले ह्वाइट हाउसबाट बेलायती दरबारमाथि यसरी पहिलोपटक टिप्पणी भएको र त्यसले बेलायती दरबारको मर्यादामाथि दबाब परेको विश्लेषण अन्तर्राष्ट्रिय संचारमाध्यमको छ ।

टेनिस खेलाडी सेरेना विलियम्स, टेलिभिजनकर्मी पायर्स मोर्गन लगायतका ठूला सेलेव्रिटीले समेत मेगनको पक्षमा बोल्दै आरोपको छानबिन गर्न माग गरेका छन् । बेलायती अखबार भने मर्केलको अभिव्यक्तिलाई लिएर विभाजित छन् ।

ह्यारी र मर्केलले के बोले ?
प्रिन्स ह्यारी र उनकी पत्नी मर्केलले खासमा ११ वटा महत्वपूर्ण कुरा रहस्योद्घाटन गरेका थिए । उनीहरुका अभिव्यक्तिले बेलायती राजसंस्थामाथि अनेक प्रश्न उब्जेका छन् ।

सबैभन्दा विवादास्पद भनेको विषय चाहिं ‘वर्णविभेद’ सम्बन्धी हो । आफू गर्भवती हुँदा गर्भमा भएको बच्चा कति अश्वेत हुन्छ ? भन्ने चिन्ता र कुराकानी दरबारभित्र हुने गरेको उनले बताएकी छन् । उक्त कुरा आफ्ना पति ह्यारीसँग भएको र ह्यारीले आफूलाई बताएको मर्केलले सुनाइन् । तर, त्यो कुरा कसले गर्‍यो भन्ने बताउन उनीहरु मानिरहेका छैनन् ।

‘त्यो बेला यो अप्ठेरो कुरा थियो, म आफैं छक्क परें’ अन्तर्वार्तामा ह्यारीले भनेका छन् ।

राजपरिवारभित्र छिरेपछि आफूलाई एक्लो महसूस भएको र स्वतन्त्रता गुमाएको मेगनको भनाइ छ । उनले मानसिक स्वास्थ्य बिग्रिएर आत्महत्याको सोच समेत आएको बताइन् । राष्ट्रपति बाइडेनको टिप्पणी यसैमा हो ।

अर्को टिप्पणी राजकुमारी केट विन्सलेटसँग मेगनको सम्बन्धलाई लिएर भएको छ । केही वर्षअघिको समाचारमा केटलाई मेगनले बिहेको तयारीको विषयलाई लिएर रुवाएको उल्लेख थियो । मेगनले यसलाई गलत भनेकी छिन् । बिहेमा फूल बोक्ने बालिकाहरुको पोशाकलाई लिएर केट खुशी नभएको र यसले आफूलाई रुवाएको उनको भनाइ थियो । यो समयमा केट र मेगनबीचको सम्बन्ध ब्रिगिएको कुरा बेलायती मिडियाले लेखेका थिए ।

अर्को मुख्य कुरा मानसिक स्वास्थ्य र आत्महत्याको सोच सम्बन्धी हो । राजपरिवारभित्र छिरेपछि आफूलाई एक्लो महसूस भएको र स्वतन्त्रता गुमाएको मेगनको भनाइ छ । उनले मानसिक स्वास्थ्य बिग्रिएर आत्महत्याको सोच समेत आएको बताइन् । राष्ट्रपति बाइडेनको टिप्पणी यसैमा हो ।

‘मैले परिवारमा आफूलाई सहयोग चाहिएको कुरा बताएँ । यसअघि यस्तो कहिल्यै भएको थिएन । कतै जानुपर्ने बताएँ तर जान दिन नसकिने जवाफ पाएँ । यो कुराले परिवारलाई राम्रो नहुने बताइयो’ मेगनले दरबारभित्र स्वतन्त्रता कुण्ठित भएको बारे बताइन् ।

मेगनले आफ्नो पीडा बताउने कोही साथी नमिलेको समेत उल्लेख गरिन् । पीडा बताउनका लागि आफ्नी दिवंगत सासू राजकुमारी डायनाकी साथी भेटेको र उनलाई यसबारे बताएको जानकारी उनले दिएकी छिन् ।

‘मैले यी कुरा भनेको व्यक्तिसँग अहिले पनि म साथी छु, उनी मेरा श्रीमान्को आमाकी मिल्ने साथीमध्ये एक हुन्’ मेगनले भनेकी छिन् ।

अन्तर्वार्ताकार ओफ्रा विन्फ्रेले ह्यारीलाई परिवारका अन्य सदस्यहरु विशेषगरी बुवा प्रिन्स अफ वेल्स र दाजु ड्युक अफ केम्ब्रिजसँगको सम्बन्धबारे सोधेकी थिइन् । राजकीय भूमिकाबाट आफू अलग भएपछि एक समय बुवा चार्ल्सले आफ्नो फोन पनि उठाउन छाडेको ह्यारीले बताएका थिए ।

‘मलाई निकै दुःख लाग्यो किनभने उनी यस्तै समयबाट गुज्रिएका थिए र यसको पीडा उनलाई थाहा छ’ ह्यारीले भनेका थिए, ‘तर, म उनलाई सधैं माया गर्नेछु । हामीबीच निकै पीडा बाँडिए र मेरो प्राथमिकता भनेको सम्बन्ध सुधार्नु नै छ ।’

ह्यारीले आफ्नी हजुरआमा अर्थात् महारानीसँग राम्रो सम्बन्ध रहेको बताए । गत वर्ष र त्यसअघि भन्दा धेरैपटक नियमित कुराकानी हुने गरेको उनले जानकारी दिए ।

‘उहाँ मेरी प्रमुख संरक्षक हुनुहुन्छ, होइन र ? सधैं त्यसैगरी रहिरहनुहुनेछ’ ह्यारीले भने । मेगनले पनि महारानीको प्रशंसा गर्दै पहिलो कार्यक्रममा राम्रो गरगहना दिएको उल्लेख गरिन् ।

ह्यारीले आफ्नो आर्थिक सहयोग काटिएको खुलासासमेत गरेका छन् । सन् २०२० को पहिलो त्रैमासिकमा परिवारले आफूलाई आर्थिक सहयोग दिन रोकेको उनले सुनाए । नेटफिल्क्स र स्पटीफाइसँग एउटा कार्यक्रम बनाउन सहयोग माग्दा नपाएको उनको भनाइ छ ।

‘तर, मैले आमाले मलाई छाडेको सम्पत्ति पाएँ, त्यो नभएको भए हामीले यो सबै गर्न सक्ने थिएनौं’ ह्यारीले अन्तर्वार्तामा भनेका छन् । अमेरिकी अर्बपति टेलर पेरीले क्यानडाबाट क्यालिफोर्निया सर्दा घर र सुरक्षा खर्च समेत दिएको उनले बताए ।

मेगनका अनुसार उनले ह्यारीलाई आफूमा आत्महत्याको सोच आउन थालेको बताएको साँझ उनीहरुले रोयल अल्बर्ट हलमा आयोजित एक कार्यक्रममा भाग लिनुपर्ने थियो । उक्त दिनको तस्विरले आफूलाई सोही सोचको याद दिलाउने उनले बताइन् ।

आफ्ना एक साथीले गर्दा त्यो तस्विर राम्रो भएको बताउँदै मेगनले सम्झिइन्, ‘त्यो तस्विरमा राम्रोसँग हेर्नुभयो भने उनले कति कडासँग मुठ्ठी समातेका थिए भन्ने देखिन्छ ।’ आत्महत्याको सोचलाई यो दृष्टिकोणले सघाएको मर्गेलको भनाइ छ ।

राजपरिवारबारे मेगनको अनभिज्ञता पनि देखिन्छ । अन्तर्वार्तामा मेगनले पहिलोपटक महारानी भेटेको स्मरण गर्दै राजपरिवारभित्र घुँडा खुम्चाएर अभिवादन गर्नु सामान्य चलन रहेको थाहै नभएको बताइन् । राजपरिवारमा जानुअघि कहिल्यै अध्ययन नगरेको र आफ्ना पति ह्यारीका बारे अनलाइनमा कहिल्यै नहेरेको उनको भनाइ छ ।

छोरा आर्चीको स्वभावबारे पनि मेगन र ह्यारीले खुलासा गरेका छन् । आउँदो ग्रीष्म ऋतु (असार र साउन) मा छोरी जन्माउने उनीहरुले जानकारी दिए । छोरी जन्मेपछि अरु सन्तान नजन्माउने बताउँदै ह्यारीले अरु कुरा आफूलाई नचाहिने अन्तर्वार्तामा बताए । अन्तर्वार्ताको अन्त्यतिर ओफ्राले मेगनलाई ह्यारीसँग खुशी रहेको बारेमा सोधेकी थिइन् । मेगनको जवाफ थियो -अहिलेसम्म पढिएको सबैभन्दा सुखान्त कथाभन्दा पनि खुशी ।’

मेगन र डायनको तुलना
मेगनले अन्तर्वार्ताको दौरान पटक-पटक आफ्नी सासू एवं राजकुमार ह्यारीकी आमा डायनाको प्रसंग निकालेकी थिइन् । राजकुमार ह्यारीले पनि आफूहरु राजकीय जीवनबाट पन्छिनुअघि आफ्नी आमा र पत्नीलाई तुलना गर्दै ‘इतिहासको पुनरावृत्ति हुने डर’ आफूलाई लागेको बताए ।

राजकुमारी डायनालाई प्रख्यात महिला मानिन्थ्यो र उनको वरपर बेलायती मिडियाका पापाराजी घुमिरहन्थे । उनको परोपकारी कार्य र व्यक्तिगत जीवनबारे अखबारमा व्यापकताका साथ खबर छापिन्थ्यो । कतिपय प्रेसले डायनाको आलोचना गर्थे र राजकुमार विलियम र ह्यारीको वरपर उनीहरु स्कुप मार्न घुमिरहन्थे । मिडियाको यो प्रवृत्तिदेखि डायना रुष्ट भएको बताइन्छ ।

पछिल्लो वर्षमा डायनाले आफ्नो व्यक्तिगत जीवनबारे अन्तर्वार्ता दिइन् र समाचारमा छाउन खोजेको आरोप उनीमाथि लाग्यो । मेगन पनि डायनाकै बाटोमा अघि बढ्न खोजेको भनेर कतिपय बेलायती मिडियाले टिप्पणी गरिरहेका छन् ।

दरबारसँग सम्बन्ध विच्छेद गरेर क्यानडा जानुअघि मेगन र ह्यारीले खुलेरै बेलायती मिडियासँगको असन्तोष जाहेर गरेका थिए । अब राजपरिवारको सक्रिय सदस्यको रुपमा आफूहरु कहिल्यै बेलायत नफर्कने पनि उनीहरुले जनाएका छन् ।

डायनाको निधनले पनि ह्यारीलाई संचारमाध्यमप्रतिको आफ्नो दृष्टिकोण राख्न बल मिलेको बताइन्छ । किनभने, आफ्नी आमा डायनालाई पापाराजीले सधैं लखेटिरहेको कुरा उनीहरुलाई थाहा छ । सन् १९९७ को अगस्ट ३१ मा फ्रान्सको राजधानी पेरिसस्थित सडकको सुरुङमार्गमा भएको कार दुर्घटनामा राजकुमारी डायनाको निधन भएको थियो । त्यसबेला ह्यारीको उमेर १२ वर्ष थियो । डायना चढेको कारलाई पापाराजीले पछ्याएको र चालकले मदिरा पिएको बताइन्छ ।

राजदरबारभित्रका बन्देज
परम्परागतरुपमै बेलायती राजपरिवारले आफ्ना सदस्यहरुलाई सार्वजनिक हुनबाट रोक्न पर्दा खिच्ने काम गरिरहेको छ । हजारौं सर्वसाधारण सामुन्ने बिहे तथा दाहसंस्कार आयोजना, जन्मदिन र एनिभर्सरीका तस्विर एवं भिडियो सार्वजनिक गर्ने गरेपनि विवाद आउँदा चाहिं दरबारले जहिल्यै तथ्यहरुलाई छोप्ने काम गरिरहेको छ । हुनसक्छ यही कारण, कतिपय बेलायती मिडियाले दरबारले ‘ढोंगीपन’को अन्त्य गर्नुपर्ने मत व्यक्त गरिरहेका छन् । दरबारको पछिल्लो विवाद चाहिं सार्वजनिक र निजी जीवन स्पष्ट नहुँदाको नतिजा भने अवश्य हो ।

बीबीसीमा जोनी डेमन्ड लेख्छन्, ‘कम्तीमा राजकुमारी डायनाको निधनबाट दरबारले एउटा पाठ सिक्नुपर्थ्याे । दरबारको निजी र सार्वजनिक अन्तरविरोधबाट सिर्जित समस्याकै कारण ह्यारी र मेगनले दरबार छाडेका हुन् । खासगरी, वर्णविभेद र मानसिक स्वास्थ्य बारेका आरोप निकै संवेदनशील छन् र यसको जवाफ दरबारले दिनुपर्छ ।’

बेलायती मिडियाका अनुसार किङ्स्टन प्यालेस तत्काल यी आरोपहरुको खण्डन गर्ने पक्षमा छैन । अमेरिकी पूर्वविदेश मन्त्री हिलारी क्लिन्टन खुलेरै मेगन र ह्यारीको पक्षमा उभिएकी छिन् ।

उनी भन्छिन्, ‘यी आधुनिक युवती आफ्नो शिर निहुर्‍याउने पक्षमा थिइनन्, किनभने, यो सन् २०२१ हो ।’

बेलायती लेबर दलका नेता केइर स्टारमर मानसिक स्वास्थ्य र वर्णविभेदको मुद्दालाई गम्भीरताका साथ लिनुपर्ने बताउँछन् । प्रधानमन्त्री बोरिस जोन्सनले खुलेर टिप्पणी गरेका त छैनन् तर, राष्ट्रिय एकताका लागि रानीले दिएको योगदानको उच्च मूल्यांकन गरिएको बताएका छन् ।

बेलायतको निकै पुरानो राजसंस्था आउने शताब्दीहरुमा ‘सर्भाइभ गर्न सक्छ ? यसमाथि विदेशी संचारमाध्यमले बहस छेडिसकेका छन् र यो नयाँपुस्ताका लागि पनि सान्दर्भिक हुनसक्छ ।

अन्तर्वार्ताका दौरान अन्य केही खुलासा गरिएका छन् । औपचारिक बिहेको तीनदिन अघि नै आफूहरुले बिहे गरेको ह्यारी र मेगनको भनाइ छ । आफ्ना दाजु प्रिन्स र बुवा बेलायती दरबारको प्रणालीभित्र बन्धक भएको आरोप पनि उनको छ । आफूलाई आर्थिक सहयोग कटौती गरेको र दाजुले फोन पनि उठाउन छाडेको ह्यारी बताउँछन् ।

सीएनएनसहित केही अमेरिकी संचारमाध्यमले २१ औं शताब्दीसँग बेलायती राजसंस्थाको भूमिकामाथि प्रश्न उठाएका छन् । सीएनएनका ल्युक म्यागगीले ह्यारी दम्पती र बेलायती दरबारबीचको सम्बन्धविच्छेदलाई २१ औं शताब्दीको एउटा लोकप्रिय परिवारको ‘ट्रयाजेडी’को रुपमा व्याख्या गरेका छन् । अहिले पनि केही कमनवेल्थ मुलुकको राष्ट्र प्रमुखको रुपमा बेलायती राजसंस्था छ र यो उनीहरुको लागि बेलायतको कूटनीतिक ‘कु’ भएको म्यागगीले उल्लेख गरेका छन् ।

बेलायतको निकै पुरानो राजसंस्था आउने शताब्दीहरुमा ‘सर्भाइभ गर्न सक्छ ? यसमाथि विदेशी संचारमाध्यमले बहस छेडिसकेका छन् र यो नयाँपुस्ताका लागि पनि सान्दर्भिक हुनसक्छ ।

(स्रोत : अन्तर्राष्ट्रिय सञ्चारमाध्यम)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर