नारी दिवस: प्रदेश २ सरकारले दियो १५ सय छात्रालाई साइकल उपहार – Nepal Press

नारी दिवस: प्रदेश २ सरकारले दियो १५ सय छात्रालाई साइकल उपहार

जनकपुरधाम । प्रदेश २ सरकारले बेटी पढाउ बेटी बचाउ कार्यक्रम अन्तर्गत कक्षा ८ का १५ सय बढी छात्रालाई साइकल वितरण गरेको छ ।

१११औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा जनकपुरस्थित मधेस भवनमा प्रदेश सरकारद्वारा आयोजित समोरोहमा छात्रालाई साइकल वितरण गरिएको हो । धनुषाका २७ सामुदायिक विद्यालयका १ हजार ५२० छात्राहरुलाई साइकल वितरण गरिएको छ ।

साइकल वितरण गर्दै मुख्यमन्त्री लालबाबु राउतले महिला सशक्त भए मात्र प्रदेशको विकास सम्भव रहेको बताए । यसको लागि प्रदेशभरका सामुदायिक विद्यालयको कक्षा ८ मा अध्ययनरत्त छात्राहरुलाई साइकल वितरण गर्ने तयारी गरेको उनले बताए ।

साइकलले समाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको जिकिर गर्दै मुख्यमन्त्री राउतले यसलाई रुपान्तरणको पहिलो खुड्किलाको रुपमा लिनुपर्ने बताए । शिक्षा, स्वास्थ्यसहित प्रत्येक निकायमा पछि रहेको महिलालाई अगाडी बढाउन प्रदेश सरकार प्रतिबद्ध रहेको उनले दोहोर्याए ।

प्रदेशका छोरीहरुलाई शिक्षित सब्बल बनाउन बेटी पढाउ, बेटी बचाउ अभियानलाई अगाडी बढाएको मुख्यमन्त्री राउतले जानकारी दिए । महिला हिंसा, दाइजो प्रथा, वालविवाह जस्ता कुरीति विरुद्धको कानूनलाई सशक्त रुपमा पालना गरेर अघि बढनुपर्ने धारणा उनको थियो ।

एसिड आक्रमण गर्ने, बलात्कारको घटनाका दोषी विरुद्ध कठोर कानूनको खाँचो मुख्यमन्त्री राउतले औंल्याए। कानुन संशोधन गरेर भएपनि यस्ता जघन्य अपराधलाई सार्वजनिक स्थलमा झुण्डयाउने कानूनको व्यवस्था हुनुपर्नेमा जोड दिए ।

उक्त कार्यक्रममा एसिड पीडित जनकपुरकी आरती साहलाई मुख्यमन्त्री राउतले दोसल्ला ओढाएर सम्मान समेत गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *