महिला हिंसाका घटनाले सभ्य समाजलाई गिज्याइरह्यो: उपराष्ट्रपति (भिडियो) – Nepal Press

महिला हिंसाका घटनाले सभ्य समाजलाई गिज्याइरह्यो: उपराष्ट्रपति (भिडियो)

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले महिला हिंसाको अन्त्य नभएसम्म नेपाली समाज सभ्य र सुरक्षित बन्न नसक्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल चेम्बर अफ कमर्शको महिला चेम्बरद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले महिला हिंसाका घटनाहरु न्युनीकरण हुन नसकेको र अपराधीहरु कानूनी दायरामा आउन नसकेकाले सबैले गम्भीरतापूर्वक सोच्ने बेला आएको बताए ।

उनले महिला हिंसाका घटनाले दिदीबहिनीहरुले असुरक्षित महसूस गरिरहेको उल्लेख गर्दै महिला हिंसाको अन्त्य विना समाज सभ्य र सुरक्षित बन्न नसक्ने बताएका हुन् ।महिला हिंसाका घटना न्यूनीकरण हुन नसकिरहेको भन्दै उपराष्ट्रपति पुनले ज्यादै दुःखको कुरा भएको बताए ।

उपराष्ट्रपति पुनले भने, ‘स–साना बालबालिकाहरुको बलात्कारपछि हत्याका घटनामा अपेक्षाकृत न्यूनीकरण हुन सकिरहेको छैन । कतिपय घटनाका अपराधीहरु कानूनको दायरामा आउन सकिरहेका छैनन् । महिला हिंसाका अन्य घटनाहरु पनि थुप्रै घटिरहेका छन् । र मानिसमा चेतनाको कमीका कारण हो या अपराधीको पहिचान र उचित कानूनी कारबाही हुन नसक्दा यस्ता घटना घटिरहेका छन् । यसमा हामी सबैले गम्भीर भएर सोच्नुपर्ने अवस्था आएको छ ।’

उनले महिला हिंसाका घटनाले महिला असुरक्षित रहेको भन्दै उनले हिंसात्मक घटनाले समाजलाई गिज्याइरहेको समेत बताए ।

उनले भने, ‘एक्काइसौं शताब्दीको यो सभ्य समाजलाई गिज्याइरहेका महिला हिंसाका घटनाहरुले हाम्रो दिदीबहिनीहरुले असुरक्षित महसूस गरिरहनुभएको छ । अर्कोतर्फ यस्ता घटनाहरुले विश्व जगतमा देशको छवि समेत धुमिल बनिरहेको छ । हामीले जबसम्म स्कूल गएका छोरीहरु घर फर्कन सक्दैनन् कि, मध्यरातमा कार्यस्थलबाट फर्किरहेका दिदीबहिनीहरु हिंसामा पर्छन् कि, घर भित्र रहेका दिदीबहिनीहरु कुटपिट तथा हिंसामा पर्छन् कि भन्ने आशंका गरिरहनुपर्ने अवस्थाको जबसम्म अन्त्य गर्दैनौं तबसम्म हाम्रो समाज सभ्य र सुरक्षित बन्न सक्दैन ।’

उपराष्ट्रपति पुनले राज्यको हरेक निकायमा महिला सहभागिता बढिरहेको उल्लेख गर्दै यस उपलब्धिप्रति गर्व गर्दै बाँकी उपलब्धिहरुका लागि सचेत रहन आग्रह समेत गरे ।

महिला सशक्तीकरणका लागि शिक्षा र आर्थिक आत्मनिर्भरता पहिलो पाटो रहेको भन्दै उनले देशको समृद्धिको लागि उद्यम क्षेत्रमा महिलाहरुको सहभागिता आवश्यक रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *