मेयर ११ विरुद्ध त्रिभुवन आर्मी ५ विकेटले विजयी – Nepal Press

मेयर ११ विरुद्ध त्रिभुवन आर्मी ५ विकेटले विजयी

काठमाडौं । सोमपाल कामीको अर्धशतकप्रेरित त्रिभुवन आर्मी क्लबले काठमाडौं मेयर कप २०७७ मा सोमबार मेयर-११ लाई ५ विकेटले पराजित गरेको छ  ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौं मेयर ११ ले ४२.२ ओभरमा सबै विकेट गुमाएर १ सय ५५ रनको योगफल तयार गरेको थियो । १५६ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको आर्मीले २३.५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

आर्मीका लागि सोमपालले ५१ बलमा ९ चौका र ६ छक्कासहित ८० रनको योगदान गरे । त्यस्तै, कुशल मल्लले २३ रन जोड्दा कप्तान विनोद भण्डारी २० रनमा अविजित रहे ।

मेयर ११ का लागि बिपिन कार्की र कप्तान सन्दीप लामिछानेले २/२ तथा अनिल खरेलले १ विकेट लिए ।

पहिलो इनिङमा मेयर ११ का लागि सौरभ खनालले ७४ बलमा सर्वाधिक ४२ तथा सन्दीप रजालीले ६३ बलमा ३७ रनको योगदान गरेका थिए । त्यस्तै, खडक बोहराले १९, हरिशंकर साहले १८ तथा कप्तान सन्दीपले १३ बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

आर्मीका लागि किफायती बलिङ गरेका साहब आलमा १० ओभरमा ३९ रन खर्चिएर १ मेडनसहित ४ विकेट लिए । जितेन्द्र मुखियाले १० ओभरमा ३८ रन खर्चेर ३ मेडनसहित ३ विकेट लिए ।

पहिलो खेलमा नेपाल एपीएफ क्लबसँग १ विकेटले पराजित भएको आर्मीको जारी प्रतियोगितामा पहिलो जित हो । आइतबार वाग्मती प्रदेशलाई ९४ रनले पराजित गरेको मेयर ११ को भने पहिलो हार हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *