मेयर कप: पुलिससँग वाग्मति २ रनले पराजित – Nepal Press

मेयर कप: पुलिससँग वाग्मति २ रनले पराजित

काठमाडौं । आजदेखि सुरु भएको काठमाडौं मेयर कपमा नेपाल पुलिस क्लबले वाग्मति प्रदेशविरुद्ध २ रनको रोमाञ्चक जित हासिल गरेको छ ।

मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पुलिसले २५.२ ओभरमा सबै विकेट गुमाएर ७२ रन मात्रै बनाएको थियो ।

७३ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको वाग्मतिले २७.२ ओभरमा सबै विकेट गुमाएर ७० रन मात्रै बनाउन सक्यो । वाग्मतिका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक २२ रन बनाए । अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न नसक्दा झिनो लक्ष्यमा पनि पराजित हुनुपर्‍यो ।

पुलिसका लागि दिपेन्द्रसिंह ऐरीले ४ विकेट, ललित नारायण राजवंशीले ३, सागर ढकालले २ तथा रासिद खानले १ विकेट लिए ।

यसअघि पहिलो इनिङमा पुलिसका लागि कप्तान मन्जित श्रेष्ठले सर्वाधिक १५ तथा अनिल साह, दिलिप नाथ र सुनिल धमलाले १०/१० रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् ।

वाग्मतिका लागि आरियो पौडेलले ४ ओभरमा १ मेडनसहित ७ रन खर्चेर सर्वाधिक चार विकेट लिए । त्यस्तै नन्दनले ३ तथा सोनु देवकोटाले १ विकेट लिए ।

बिहान आउट फिल्ड चिसो भएकाले ढिलो सुरु भएको खेल ३८ ओभरमा छोट्याइएको थियो ।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा सुरु भएको प्रतियोगितामा पाँच टोली सहभागी छन् । राउन्ड रोबिन पद्धतिमा जारी प्रतियोगिताको पहिलो चरणबाट शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *