मेयर्स कप क्रिकेट आजदेखि: कीर्तिपुरमा विभागीय डर्बी – Nepal Press

मेयर्स कप क्रिकेट आजदेखि: कीर्तिपुरमा विभागीय डर्बी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुन लागेको काठमाडौं मयर्स कप २०७७ आजदेखि सुरु हुँदैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुर र मूलपानी क्रिकेट मैदानमा २९ गतेसम्म चल्ने प्रतियोगितामा तीन विभागीय, एक प्रादेशिक र एक महानगरपालिका गरी पाँच टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

गत महिना सम्पन्न प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनलसम्म पुगेका चार टोलीहरू- त्रिभुवन आर्मी, नेपाल एपीएफ, वाग्मति प्रदेश र नेपाल पुलिस क्लबसँगै अन्य प्रादेशिक टोलीमा बाँकी रहेका खेलाडीबाट छनोट गरेर महानगरपालिकाले पाँचौं टोली- काठमाडौं मेयर ११ निर्माण गरेको छ ।

आज त्रिवि क्रिकेट मैदानमा हुने खेलमा प्रधानमन्त्री कपको फाइनलमा भिडेका दुई टोली– नेपाल आर्मी क्लब (विजेता) र नेपाल एपीएफ क्लब (उपविजेता) आमनेसामने हुँदैछन् । त्यस्तै मूलपानीमा हुने खेलमा नेपाल पुलिस क्लब र वाग्मति भिड्दै छन् ।

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रूपैयाँ नगद पुरस्कार प्राप्त गर्ने क्यानले जानकारी दिएको छ । त्यस्तै, म्यान अफ दी सिरिजलाई ५० हजार, वेष्ट बलर र ब्याट्सम्यानलाई २५/२५ हजार र म्यान अफ दि म्याचलाई ५ हजार रूपैयाँ दिने आयोजकको तयारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *